अपडेट 
२०७९ आश्विन २४, सोमबार १७:४२

जिल्ला प्रहरीका कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको सिमावर्ती क्षेत्र सिम्रौनगढ नगरपालिका ५, कनकपुरमा ९ लाख नेपाली नक्कली नोटसहित ३ जनालाई पक्राउ गरेको छ ।

नेपाल–भारत सिमावर्ती क्षेत्रमा नक्कली नोटको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा चेकजाँच गर्दा मोतिहारी पूर्व चम्पारण ग्राम पोष्ट पिप्राकोठी बस्ने २५ वर्षिय रञ्जितकुमार मुखियाले कम्मरको पेटीमा १ लाख  र उनी चढेको भारतीय नम्बरको मोटरसाइकलमा ८ लाख रुपैयाँ लुकाई राखेको अवस्थामा प्रहरीले प्रकाउ गरेको हो ।

पक्राउ परेका रञ्जितकुमारसँगको बयानका आधारमा सिम्रौनगढ नगरपालिका २ बस्ने बिनाका मुखिया बिन र कलैया उपमहानगर १५ बस्ने सैनुल्लाह अन्सारीलाई पनि पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ । पक्राउ परेका बिनाका बिन मुखिया र अन्सारी भने १ वर्ष अघि नक्कली नोट कारोबारमा छुटेको बारा प्रहरीले जनाएको छ ।

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले चुनावको मौका छोपेर सक्कली र नक्कली नोट पत्ता लगाउन नसक्ने ग्रामिण समुदायमा प्रयोग गर्ने उद्देश्यले नक्कली नोट बजार ल्याइएको बताएका छन् । ‘यो नक्कली नोटहरु हाई क्वालिटीको पिन्टरबाट फोटोकपी गरेको  जस्तो देखिन्छ, यसको मुख्य उद्देश्य चुनावका बेला गाउँका सोझा जनतालाई झुक्याएर यसको प्रयोग ल्याउने मुख्य उद्देश्य हो’ प्रहरी उपरीक्षक बोगटीले भने । बारा प्रहरीले आज पत्रकार सम्मेलन गरेर नक्कली नोट सहित पक्राउ परेका ३ जनालाई सार्वजनिक गरेको हो ।

Comment


Related News

Latest News

Trending News