जनता समाजवादी पार्टी र नेकपा एमालेको बैठकले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन अनुरोध गरेको छ ।
पार्टीको निर्णय अनुसार साझा उम्मेदवार विरुद्ध वागी बनेका उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने निर्णय गरिएको जनाइएको छ । बागी कार्यकर्ताहरुले समयमै उम्मेदवारी फिर्ता नलिए कडा भन्दा कडा कारवाही गरिने बैठकबाट निर्णय गरिएको जसपाले जनाएको छ । सोमबार वीरगञ्जमा बसेको गठबन्धनको संयुक्त बैठकले पार्टीको निर्णय विपरीत बागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । पार्टीबाट बागी भइ स्वतन्त्र उम्मेदवारी दिनेहरुलाई आ–आफ्नो उम्मेदवारी फिर्ता लिन लगाउने र नलिएका खण्डमा पार्टीबाट कारवाही गर्ने निर्णय भएको जसपाका जिल्ल अध्यक्ष रामनरेश यादवले बताए । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता गराउने क्रममा टिकट नपाएपछि जसपाका अधिकांस स्थानीय नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पर्सामा जसपा एमाले गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध मनोनयन दर्ता गराएका पार्टीका सबैलाई असोज २५ गते मङ्गलबारसम्म आ–आफनो उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको जानकारी यादवले दिए ।
त्यस्तै सोमबारको बैठकले जसपा एमाले गठबन्धनका संयुक्त उम्मेदवारहरुलाई जिताउनका लागि संयुक्त निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । समितिमा जसपाको तर्फबाट रामनरेश यादव ,तबरेज अममद, बालकिशोर यादव, इश्वरचन्द्र यादव, अजय सर्राफ र नेक मोहम्मद मियाँ छन् र नेकपा एमालेको तर्फबाट प्रभु हजरा, निर्मला देवकोटा, मनोज गुता, प्रदुमन चौहान, राजेन्द्र यादव र जयप्रकाश थारु रहेका छन् । सोमबारको बैठकमा वन तथा वातावरण मन्त्री प्रदीप यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, जसपाका केन्द्रीय सदस्य बालकिशोर यादव, वीरगञ्जका मेयर राजेशमान सिंह, जसपा जिल्ला अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अहमद , वीरगञ्ज महानगर कमिटीका अध्यक्ष इश्वरचन्द्र यादव, नेकपा एमालेका केन्द्रीय सदस्यहरु प्रभु हजरा र निर्मला देवकोटा, जिल्ला अध्यक्ष जयप्रकाश थारु, सचिव मनोज गुप्ता, नेताहरु विचारी यादव, प्रधुमन चौहान र योगेन्द्र प्रसाद कुर्मीको उपस्थिति रहेको थियो ।


