अपडेट 
२०७९ आश्विन २५, मंगलवार १८:१९

नेपालबाट भारतर्फको हुने विद्युत् निर्यात यसैवर्ष १ अर्ब युनिट नाघेको छ। नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।

त्यसपछि मंगलबारसम्म अर्थात् २५ असोजसम्ममा १ अर्ब ३० लाख युनिट विद्युत निर्यात भएको हो। देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी यस अवधिमा ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

‘विद्युत निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रो लागि अर्को कोशेढुंगा हो’, उनले भने। निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत मूल्य ७ रुपैयाँ ९१ पैसा रहेको छ।

सुरुमा २ वटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री गरिएको थियो। त्यसपछि २७ जेठबाट ६ वटा जलविद्युत गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ।

भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकोले यस अवधिमा विद्युत् बिक्रीबाट ४ अर्ब ९५ करोड ७६ लाख भारु अर्थात् ७ अर्ब ९३ करोड रुपैयाँ बराबरको भारतीय मुद्रा नेपाल भित्रिएको छ।

यसबाट नेपालको विदेशी मुद्रा सञ्चिती र २ मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ। प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ।

आईएक्समा २४ घण्टालाई १५–१५ मिनेटको ९६ वटा बल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक ब्ल्कको मूल्य फरक(फरक हुने गरेको छ। प्राधिकरणले अहिलेसम्म निर्यात् गरेको विद्युतको औसत दर प्रतियुनिट ७ रुपैयाँ ९१ पैसा रहेको छ।

Comment


Related News

Latest News

Trending News