अपडेट 
२०७९ आश्विन २६, बुधबार ०७:००

गौ हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै राजविराजमा प्रदर्शन गरिएको छ ।

हनुमान आराधना मण्डल, विश्व हिन्दु परिषद् र सनातन संस्कृत नेपाल सप्तरीको संयुक्त अगुवाइमा गाउँ गाउँबाट पुगेका साधुसन्तहरुले प्रदर्शन गरेका छन् । गौ हत्यामा संलग्न भइ रंगेहात पक्राउ परेकामाथि कडा कारवाही गर्नुपर्ने र फरार रहेकाहरुलाई अविलम्ब पक्राउ गर्नुपर्नेको माग गर्दै प्रदर्शनमा सहभागीहरुले नाराबाजीसहित नगर परिक्रमा गरेका थिए । गत भदौं २४ गते सप्तरीको महादेवा गाउँपालिका–४ बलिया टोलमा सकुर मियाँको घरमा गाई काटिएको थियो । गौ हत्या गरेको आरोपमा सोही दिन घरधनी मियाँ पक्राउ परेका थिए । तर सो कार्यमा संलग्न ४÷५ जना अझै फरार रहेका छन् । फरार रहेकाहरुलाई अविलम्ब पक्राउ गर्न दबाबका लागि प्रदर्शनमा उत्रिएको सनातन संस्कृत नेपाल सप्तरीका महासचिव परमानन्द ठाकुरले बताए ।

उनीहरुले सप्तरी जिल्ला अदालत अगाडि पुगेरसमेत नाराबाजी गरेका थिए । गौ हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सकुर मियाँ उपर मंगलबार अदालतमा सुनुवाई चलिरहेकै बेला बाहिर उनीहरुले नाराबाजी र प्रदर्शन गरेका थिए । विश्व हिन्दु परिषद्का नगर प्रमुख प्रमोद चौधरीले घटनाको एक महिना वितिसक्दा पनि गौ हत्यामा संलग्न अन्य आरोपिहरु अझै पक्राउ नपरेको तथा पक्राउ परेका एक जना उपर पनि कारवाही हुने सम्भावना कमै देखिएकाले दबाब स्वरुप साधुसन्तसहित सडकमा उत्रेको बताए । उनले गौ हत्यामा संलग्नमाथि कारवाहीका लागि चरणवद्ध रुपमा आन्दोलन जारी रहने जनाए।

Comment


Related News

Latest News

Trending News