अपडेट 
२०७९ आश्विन २७, बिहीबार ०८:२०

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ का सत्तागठबन्धका पाँच दलका नेता कार्यकर्ताले गठबन्धनका साझा उम्मेदवार हरुलाई जिताउन एकजुट भएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।

गठबन्धनबाट पर्सा क्षेत्र नम्बर २ मा प्रतिनिधीसभा उम्मेदवार कांग्रेसका अजय चौरसिया, प्रदेशसभा सदस्य उम्मेदवार २ को (क) मा कांग्रेसका श्याम पटेल र २ को (ख) मा लोसपाका रमेश पटेल चुनावी मैदानमा छन् । बुधबार वीरगञ्जको नगरसभागृहमा लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको भेलामा बोल्ने कांग्रेस , लोसपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका अगुवा नेताहरुले गठबन्धनका उम्मेदवारहरुलाइ जिताउन एकजुट भएर लाग्ने प्रतिवद्धता जनाएका हुन् । उनीहरुले गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार चौरसीया, विगत देखि नै विकास प्रेमी छवि भएको नेता रहेका कारणले चौरसीयाको उम्मेदवारीले क्षेत्रका मतदाताहरुमा झन उत्साह छाएको दाबी गरेका थिए । उनीहरुले पाँच दलीय गठबन्धन यसै पनि बलियो अवस्थामा भएको भन्दै जनताबाट समेत उत्साहजनक प्रतिक्रिया आइरहेकाले यसले जित्ने माहोल झन बलियो भएको जिकिर गरेका थिए । पाँच दलका अगुवा नेताहरुले प्रदेशसभा सदस्यका उम्मेदवारद्वय पटेल र कुर्मी पनि जनताको सेवामा सदैव लागि रहने नेता भएका कारण पर्सा २ मा प्रतिनिधिसभा र प्रदेशसभा गरी तीन वटै पदमा गठबन्धनको जित सुनिश्चित रहेको दाबी गरे । तर, चुनावमा दायाँवायाँ पनि हुन सक्ने भएकाले पाँच दलका सबै नेता कार्यकर्ताले इमान्दारीता भने देखाउने पर्नेमा उनीहरुले जोड दिएका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै गठबन्धनका कांग्रेसका उम्मेदवार चौरसीयाले आपूm पदमा रहे पनि नरहे पनि सदैव जनताको दुःख सुख र क्षेत्रको विकासमा सक्रिय रहँदै आएकाले यसपालि जनताले त्यसको अवश्य मूल्यांकन गर्ने विश्वास व्यक्त गरे । चौरसीयाले कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनकै कारण संविधान र लोकतन्त्र मासिनबाट जोगिएकाले जनताले यो कुरा पनि बुझिरहेको बताए । दुई तिहाईको सरकार समेत चलाउन नसक्ने, अनि मधेश र मधेशीलाई सधै हेप्दै आएको एमालेसंग मधेशको मसिहा भनाउदाहरुले चुनावी स्वार्थका लागि अपबित्र साँठगाँठ गरेकोले जनताले चुनावमा ती दुबै दलको पनि मूल्यांकन गर्ने उनले बताए । उनले जनचाहनाको सदैव सम्मान गर्न र गठबन्धनलाई विजयी बनाउने कार्यमा एकजुट भएर लाग्न नेता कार्यकर्तासंग आग्रह गरे । कांग्रेसका क्षेत्रीय सभापति शाहबुद्धिनको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एसका पोलिटब्यूरो सदस्य चिरञ्जीवि आचार्य, नेता मनोज चौधरी, कांग्रेस नेता श्याम पोखरेल, नेकपा माओवादी केन्द्रका नेता प्रभाकर गुप्ता र अमिताभ बच्चन दास, लोसपाका जिल्ला उपाध्यक्ष सन्तोष तिवारी, कांग्रेसका नेताहरु विजय सर्राफ लगायतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News