संघीय सरकारमा रहेका जनता समाजवादी पार्टी(जसपा)का मन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्तगरे लगतै मधेश प्रदेशमा मन्त्री हटने हलचल भएको छ ।
जसपा नेतृत्वको मधेश प्रदेश सरकारमा नेपाली कांग्रेसका ३, नेकपा एसका १ राज्यमन्त्री सहित ३ र माओवादी केन्द्रका १ राज्यमन्त्री सहित २ जना मन्त्री छन् । मुख्यमन्त्री लालबाबु राउतले केन्द्रमा जसपाका मन्त्रीलाई बर्खास्त गरिएपछि प्रदेशमा पनि बर्खास्त गर्न सकिने बताएका छन् । ‘मन्त्रीहरुलाई हटाइने वा राखिरहने विषयमा अहिले निर्णय भइसकेको छैन्’ मुख्यमन्त्री राउतले भने, तर केन्द्रको असर प्रदेशमा पनि पर्न सक्छ । मधेश प्रदेश सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंह रहेका छन् । त्यसैगरी नेकपा एकीकृत समाजवादीबाट उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो, कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादव र उद्योग, पर्यटन तथा वन राज्यमन्त्री नागेन्द्र राय यादव छन् ।
माओवादीबाट आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साह र राज्यमन्त्री रुवि कर्ण छन् । जसपाबाट विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) तर्फ लागेका मन्त्रीहरुलाई गत मंसिरमा बर्खास्त गरी कांग्रेस, नेकपा एस र माओवादी केन्द्रलाई सरकारमा भित्र्याइएको थियो ।
Please subscribe our official youtube channel and support us.