नेकपा एमालेको स्थायी समिति सदस्य प्रभु साहलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरिएको छ। शुक्रबार एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै साहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।
पोखरेलले साहलाई पार्टी विरोधी गतिविधि गरेको आरोपमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन जानकारी दिएको छ । साहसँगै उपेन्द्र साह र कुन्दनप्रसाद कुशवाहलाई पनि पार्टीबाट निकालिएको छ।
साहले रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिएसँगै उनी निकट केही एमाले नेताले समेत मधेसका केही क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
साथै, एमालेले मधेस प्रदेशको सहइन्चार्जको जिम्मेवारी उद्वव रेग्मीलाई दिएको छ । एमालेले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साहलगायत केही नेता पार्टी विरोधी गतिविधिमा लागेको भन्दै जिल्ला कमिटी पनि विघटन गरेको छ । प्रदेश कमिटी अध्यक्ष रामऔतार यादवले जिल्ला उपाध्यक्ष दीपक राय यादवलाई पत्र पठाउँदै त्रिभुवन साह अध्यक्ष रहेको जिल्ला कमिटी विघटन गरिएको जानकारी दिएका छन् ।
अध्यक्ष साहलगायतका जिल्ला कमिटीका सदस्यहरू पार्टीविरोधी गतिविधिमा लागेकोले जिल्ला कमिटी विघटन गरिएको प्रदेश कमिटीले जनाएको छ ।



