अपडेट 
२०७९ आश्विन २९, शनिबार ०७:३७

राजविराज । सप्तरीको खडक नगरपालिका – ७ कल्याणपुरका मिटरब्याजी रामदेव साहलाई पक्राउ गर्न माग गर्दै शुक्रबार राजविराजमा पीडितहरुले प्रदर्शन गरेका छन् ।

स्थानीय शिवमन्दिर प्रांगणमा भेला भएका पीडितहरुले मिटरब्याजी साहलाई अविलम्ब पक्राउ गर, मिटरब्याज लिएर गरिब असहायलाई उठिवास गराउने साहुकार साह परिवारलाई कारवाही गर लगायतका नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए । बजार क्षेत्र परिक्रमा पश्चात् जिल्ला प्रहरी कार्यालय पुगेर पीडितहरुले करिब एक घण्टा नाराबाजी समेत गरेका थिए । मिटरब्याजी प्रकरण अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी रहेका साहलाई पक्राउ गर्न विगत तीन महिनाको अवधिमा पीडितहरुले शुक्रबार १३ औं पटक प्रदर्शन गरेका छन् । यस अघि मिटरब्याजी साहबाट पीडित भएकाहरुद्वारा गठित संर्घष समितिले १२ पटक उनको पक्राउको माग गर्दै राजविराजमा प्रदर्शन गरिसकेका छन् । यता साहका छोरा नन्दकिशोर र छोरी अनुराधा भने तीन महिना अघि नै पक्राउ परी ठगी तथा आपराधिक विश्वासघात मुद्दामा सप्तरी जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि राजविराज कारागारमा छन् । सो मुद्दामा फरार रहेका साहलाई खोजी गर्न प्रहरीले लागिपरे पनि हालसम्म फेला नपरेको र लुकेर वसेको हुन सक्ने सम्भावित स्थानहरुमा खोज तलास कार्य जारी राखेको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले बताएका छन् । साह परिवारमाथि जग्गा तथा सुनचाँदीको गरगहना बन्धकी राखेर चर्को मिटरब्याज असुली गर्ने र कतिपय व्यक्तिले लिएको ऋण र ब्याज चुक्ता गरिसके पनि धितो फिर्ता नगरेको आरोप छ ।

Comment


Related News

Latest News

Trending News