जनता समाजवादी पार्टी (जसपा)ले नेपाली कांग्रेससंग आफ् नो प्रतिशोध पूरा गरेको छ । बिहीबार कांग्रेस नेतृत्वको सरकारले संघमा रहेका जसपाका चार मन्त्रीलाई वर्खास्त गरेको थियो भने शुक्रबार मधेश प्रदेशमा जसपाले कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गरेको छ । जसपाले भने मधेश प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीलाई हटाए पनि सत्ता गठबन्धनमा रहेका दुई दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुलाई छोएका छैनन् । जब कि गठबन्धनमा आवद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसंग सहमति गरेर नै प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारमा जसपाका चारजना मन्त्रीलाई बर्खास्त गरेका थिए । जसपाका मन्त्रीलाई हटाउन गठबन्धनमा रहेका दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एस) का अध्यक्ष माधव कुमार नेपालले पनि सहमति दिएका थिए । तर यी दुई दलका मन्त्रीलाई जसपाले हटाएन ।
जसपाका प्रवक्ता एवं कार्यकारिणी सदस्य मनिष सुमन भन्छन्–‘हामीले सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा (एस) संग मित्रवत् व्यवहार गरेका छौँ । कांग्रेसले हामीसँग जस्तो व्यवहार गरेको छ त्यस्तै व्यवहार हामीले पनि ग¥यौँ ।’ प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनको सहमतिमा भन्दा पनि एकल निर्णयबाट आफ्ना पार्टीका मन्त्रीहरूलाई हटाएको बताउँदै उनले आफूहरूले पनि कांग्रेसकै मन्त्रीलाई मात्र हटाएको जानकारी दिए । माओवादी केन्द्र र नेकपा (एस) का मन्त्रीलाई तत्कालै नहटाउने तर उनीहरू मन्त्रीबाट कहिले हट्ने भन्ने त्यो उनीहरूको दलको व्यवहारमा भर पर्ने सुमनले बताए । उनले भने, ‘हामीले जसरी माओवादी केन्द्र र नेकपा (एस) संग व्यवहार ग¥यौँ, त्यस्तै व्यवहारको अपेक्षा हामीले पनि गरेका छौँ ।’ जसपाका अध्यक्ष उपेन्द्र यादव र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको सम्बन्धबारे सबैलाई थाहा छ । उपेन्द्र यादव पनि पूर्व माओवादी नै हुन् । माओवादी छाडेर आफ्नो छुट्टै पार्टी बनाए पनि प्रचण्ड र उपेन्द्र यादवको राजनीतिक यात्रा संगसंगै रहेको छ । त्यसैले माओवादी केन्द्रको हकमा उपेन्द्र यादवले कुनै ‘हतार’मा निर्णय लिन नसक्ने राजनीतिक विश्लेषकहरूको बुझाइ छ । राजनीतिक विश्लेषक रोशन जनकपुरी भन्छन्–‘यत्रो उथल पुथल हुँदा पनि उपेन्द्र यादवले प्रचण्डसंग सम्बन्ध बिगार्न नचाहेको कुरा यो घटनाले पुष्टि हुन्छ ।’ जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो भोलिको सम्बन्धलाई सुरक्षित राख्न यो कदम चालेको हुनुपर्छ भन्दै उनले चुनावपछि एमाले–जसपा गठबन्धनको सरकार बन्ने सम्भावना नरहेको र चार दलीय गठबन्धनको सरकार नै बन्ने दाबी गरे । त्यो सरकारका लागि पनि आफ्नो स्थान बनाउन यादवले यो कदम चालेको हुनुपर्ने उनको बुझाइ छ ।
नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालसँग भने यादवको सम्बन्ध सामान्य छ । त्यही भएर अध्यक्ष यादवले नेकपा (एस) प्रति नरम व्यवहार देखाएको जसपाका एक नेताले बताए । यादव कम्युनिष्ट पृष्ठभूमिका भएका कारणले पनि हुनसक्छ माओवादी केन्द्र र नेकपा (एस) लाई छोएका छैनन् । जसपाका अध्यक्ष यादव उम्मेदवारी दिएको सप्तर ी–२ नम्बर क्षेत्रमा गठबन्धन दलका कसैले पनि उम्मेदवारी दिएका छैनन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले कांग्रेससँग सहमति गरेर सो क्षेत्रमा जेपी ठाकुरलाई उठाएको छ । जेपी ठाकुरलाई सत्ता गठबन्धनको समर्थन रहेको छ । सप्तरी २ (ख) मा जसपाले पनि माओवादी केन्द्रका उम्मेदवारको विरुद्धमा बलियो उम्मेदवार खडा गरेको छैन । जसपाले लक्ष्मण यादवलाई उम्मेदवार बनाएको छ । माधवकुमार नेपालको क्षेत्रमा पनि जसपाले उम्मदवारी दिएको छैन । एमाले–जसपा गठबन्धनबाट एमालेको तर्फबाट अजय गुप्ताले उम्मेदवारी दिएका छन् । प्रचण्ड उठेको गोरखा क्षेत्र नम्बर २ मा पनि जसपाले उम्मेदवारी दिएको छैन । त्यहाँ पनि एमालेका तर्फबाट अब्दुस सलाम मियाँले उम्मेदवारी दिएका छन् । माओवादी केन्द्र र नेकपा (एस) प्रति जसपा जति नरम छ, एमाले त्यति नै कडा छ ।


