मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको लागि रौतहट निर्वाचन क्षेत्र नम्बर १ प्रति सबैको ध्यान तानिएको छ । रौतहट निर्वाचन क्षेत्र १ प्रतिनिधिसभा सदस्यमा पूर्व प्रधानमन्त्री माधव नेपाल चुनावी प्रतिस्पर्धामा आएपछि सबैको ध्यान तानिएको हो । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय अध्यक्षसमेत रहेका नेपाल यसपाली रौतहट १ बाट चुनाव लड्दै छन । उनको प्रतिपक्षमा नेकपा एमालेबाट गौर नगरपालिकाका पूर्व नगर प्रमुख अजय कुमार गुप्ता चुनावमा होमिएका छन ।
२०७० सालमा तत्कालीन मधेशवादी दल फोरम लोकतान्त्रिकबाट अजय गुप्ता र नेकपा एमालेबाट माधव कुमार नेपाल चुनाव लड़ेका थिए । सो निर्वाचनमा नेता नेपाल ३३८ मतले निर्वाचित भएका थिए । २०७९ मा नेकपा एसबाट नेपाल र एमाले बाट गुप्ता चुनावी मैदानमा उत्रेपछि दुबै जनाबीच रोचक प्रतिस्पर्धा हुने स्थानीयहरुको भनाइ छ । सत्ता गठवन्धनको संयुक्त उम्मेदवार अध्यक्ष नेपाल रहेका छन भने एमाले र जनता समाजवादी पार्टीको गठवन्धनबाट गुप्ता उम्मेदवार भएर चुनावी दौड़मा आएकोले दुबै जनाबीच कडा प्रतिस्पर्धा हुनसक्ने अवस्था देखिएको छ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य रहेका रेवन्त झाले बागी उम्मेदवार भएर प्रतिनिधिसभामा चुनाव लड्दै छन । मधेश आन्दोलनदेखि अहिलेसम्म मधेशी जनताको पक्षमा वकालत गर्दै आएका झा स्वतन्त्र रुपमा प्रतिनिधिसभाको उम्मेदवार बनेका हुन । नागरिकता विधयेक र मधेशी जनताको हकÞ अधिकारबाट बञ्चित गर्ने पार्टीको उम्मेदवार नेता नेपाल भएकोले मधेशी जनताले आफूलाई पत्याउने दाबी झाको रहेको छ । नेपाली कांग्रेस , नेकपा माओवादी , नेकपा एस , राष्ट्रिय जनमोर्चा तथा लोकतान्त्रिक समाजवादी पार्टीको गठवन्धनको उम्मेदवार रहेका नेपाललाई निर्वाचित हुन सकस देखिएको छ । २०७४ मा काठमाण्डुबाट विजयी भएका नेपालले रौतहट क्षेत्र नम्बर १ को विकासमा खासै योगदान नदिएको , केही व्यक्तिलाई मात्र प्राथमिकता दिने गरेकोले मत स्थानीय उम्मेदवारलाई दिने पक्षमा मतदाताहरु देखिएका छन ।
क्षेत्र नम्बर १ मा सत्ता गठवन्धनको स्थानीय सरकार रहेकोले नेपाललाई बढ़ी मत आउन सक्ने अनुमान धेरै जनाको रहेको छ । गौर नगर पालिका र राजदेवी नगरपालिकामा नेकपा एसको निर्वाचित जनप्रतिनिधि रहेका छन् । यमुनामाई गाउँपालिकामा लोसपा , दुर्गा भगवती गाउपालिकामा नेकपा माओवादी केन्द्रको प्रतिनिधित्व रहेको छ । माधव नारायण नगरपालिकामा नेपाली कांग्रेस र गढ़ीमाई नगरपालिकामा नेपाली कांग्रेसका नेतृत्व रहेको छ । चुनावी प्रचार प्रसारमा उम्मेदवारहरु होमिएपछि स्थानीयहरु मौन रहेका छन ! अहिले चुनाव नेताहरुमा मात्रै लागेको देखिएको छ । दुई गठवन्धन भएकोले मतदाताहरु आफ्नो गठवन्धनमा नै रहेका छन् । नेताले गठवन्धन गरेको हो जनताले गरेको होइन स्थानीय मतदाताको कथन रहेको छ ! माधव नेपालको प्राथमिकतामा रहेका रामकुमार भटराई , कल्याणी खडका , डाक्टर वंशीधर मिश्रा प्रचार प्रसारमा नेता नेपालसंगै देखिएका छन । भटराईको कारण केही नकारात्मक असर पनि मतदाताहरुमा देखिएको छ । नेता नेपाल निर्वाचित भएपछि बढ़ी कुरो भटराईको सुनिने भएको कारण मतदाताहरु नेपालको पक्षमा मतदान गर्न सकिने अवस्थामा रहेको छैन । ब्राह्मण , राजपूत , भूमिहार , कायस्थ समुदायका व्यक्तिहरू माधव नेपालको समर्थनमा बढ़ी भए पनि अन्य समुदायका मतदाताहरु गुप्ताको पक्षमा बढ़ी झुकाव देखिएको छ ।
स्वतन्त्र उम्मेदवार रेवन्त झाको कारण केही असर नेपालप्रति हुन सकिने अवस्था रहेको छ । जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताको मत झाको पक्षमा केही मत जान सकिने अनुमान छ । बुद्धिजीवीहरुको मत पनि नेपाल तर्फमा जान सकिने अवस्था रहेको विश्लेषण गरिदै छ । मतदानको समय बढ़ी रहेकोले चुनावको समय नजिक आएपछि समीकरणमा उलटफेर पनि हुन सकिने आशंका रहेको छ । ग्रामीण स्तरमा अहिले चुनावको असर कम रहेकोले मतदाताहरु खुल्न सकेका छैन मौन बसेका छन । नेताहरुको गतिविधि नजिकबाट स्थानीयहरु हेरिरहेका छन ।


