जनकपुरधाम । मधेशवादी दलहरुलाई थ्रेस होल्डको चुनौतीले सताएको छ । जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र जनमत पार्टी मधेश केन्द्रित राजनीति गरिरहेका छन् । तर, यी दलहरु आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा थ्रेस होल्ड पार गर्न सक्छ भने आशंका व्यक्त गर्न थालिएको छ ।
राजनीतिक विश्लेषकहरुले मधेशवादी यी चार दल थ्रेस होल्ड पार गर्न सक्छ कि सक्दैन भने अन्योलता देखिएको छ । चारै दल एक ठाउँमा भएको भए थ्रेस होल्ड पार गर्न समस्या हुन सक्ने थिएन् तर, यिनीहरुलाई गठबन्धनले पनि समस्या हुन सक्ने देखिएको छ । कुल एक करोड ८० लाख मतदाता रहेकोमा एउटा पार्टीलाई तीन प्रतिशतको दरले कम्तीमा साढे पाँच लाख मत ल्याए थ्रेस होल्ड पार गर्न सकिने देखिन्छ । तर, वर्तमान अवस्थामा यी दलहरु यतिको मत ल्याउन सक्नेमा शंका व्यक्त गरिएको छ । राजनीतिक विश्लेषक रोशन जनकपुरी भन्छन्–‘जसपा र लोसपाले थ्रेस होल्ड पार गर्न सक्ने सम्भावना रहे पनि तमलोपा र जनमत पार गरे अनपेक्षित हुनेछ । जसपाले मुलुकभरका धेरै ठाउँमा उम्मेदवारी दिएका छन्, लोसपाको अवस्था पनि त्यस्तै छ तर, जनमत र तमलोपामाथि शंका छ ।’ यी चार दलहरुमध्ये जसपा र लोसपा विभिन्न गठबन्धनमा छन् ती दलहरुले यी दलहरुलाई सहयोग गरे थ्रेस होल्ड पार गर्न सहज हुने तर, यिनीहरुले भोट क्रस गर्यो भने दुबै दललाई पनि समस्या हुन सक्ने देखिन्छ ।
गत बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दल जसपालाई गठबन्धनकै नेता कार्यकर्ताहरुले मत क्रस गराएपछि विभिन्न ठाउँमा हार बेहोर्नु परेको थियो । गत स्थानीय तहको निर्वाचनले पनि यी दलहरुलाई मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा प्रभाव पार्न सक्ने देखिएको छ । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लोसपामाले मात्रै २.२ प्रतिशत मत ल्याउन सकेको थियो । तर, पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले थ्रेस होल्ड पार गर्न सक्ने दाबी गरेका छन् । उनले मधेश प्रदेशमा ७ र मुलुकभर ५२ स्थानमा उम्मेदवारी दिएका कारण थ्रेस होल्डको चिन्ता नरहेको दाबी गरे । स्थानीय तहको निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा धेरै फरक रहेको भन्दै थ्रेस होल्ड पार गर्ने दाबी गरे ।
त्यस्तै,जसपाका प्रवक्ता मनिष सुमनले पनि थ्रेस होल्ड पार गर्ने दाबी गरेका छन् । उनले मधेश प्रदेशमा १७ सहित मुलुकभर ८१ स्थानमा प्रतिनिधिसभामा उम्मेदवारी दिएको मध्ये १५ स्थानमा जित सुनिश्चित रहेका कारण थ्रेस होल्ड पार गर्नेमा कुनै शंका नरहेको दाबी गरे । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष वृषेशचन्द्र लालले पनि थ्रेस होल्ड पार गर्न सक्ने दाबी गरेका छन् । उनले तमलोपाले मधेश आन्दोलनको मुद्दालाई जीवन्त राख्नका लागि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिएको बताए । उनले भने– ‘जसपा र लोसपाले मधेश आन्दोलनको समयमा बोकेको मुद्दा विसर्जन गरी सकेका, मधेश आन्दोलनको क्रममा दमन गरेका दमनकारीको शरणमा पुगेका कारण मधेश आन्दोलनको मसाललाई प्रज्ज्वलित राख्न तमलोपाले उम्मेदवार उठाएको छ ।’ उनले मधेश आन्दोलनको समयमा आन्दोलनमा सक्रिय रहनेहरु विस्तारै विस्तारै आफ्नो पार्टीसंग जुडिरहेको दाबी गर्दै मधेशको मुद्दालाई सम्बोधन गराउने तमलोपा रहेको बताए ।
त्यस्तै,जनमत पार्टीले पनि थ्रेस होल्ड पार गर्ने दाबी गरेका छन् । जनमत पार्टीले उठाएको मुद्दाका साथमा जनता रहेको भन्दै साढे पाँच लाख मत ल्याउनु जनमतको लागि कुनै ठूलो कुरा नरहेको दाबी गरिएको छ । जनमत पार्टीका एक नेताले भने–‘जनमत पार्टीप्रति जनताको विश्वास छ । जनताले चाहे थ्रेस होल्ड मात्रै नभइ मधेशमा सरकार पनि जनमत पार्टीको हुनेछ ।’ दुई गठबन्धनका घटक दल जसपा र लोसपाले थ्रेस होल्ड पार गरे पनि जनमत र तमलोपाको अवस्था कमजोर हुने राजनीतिक विश्लेषक जनकपुरीको कथन छ । उनी जस्तै राजनीतिक विश्लेषकहरुले त जसपा र लोसपाको पनि अवस्था दयनीय हुन सक्ने चेताएका छन् । मधेशवादी यी चार दल बरु गठबन्धन गरेको भए मधेश प्रदेशमा सरकार बनाउनु र संघीय सांसदको संख्यामा पनि बढी भन्दा बढीको संख्यामा सहभागी हुन सक्ने थिए । मधेशवादी दलका नेताहरु नेपाली कांग्रेस, एमाले जस्ता पार्टीको षडयन्त्रमा फसेकोसमेत राजनीतिक विश्लेषकहरुको भनाइ छ ।


