२०७९ आश्विन ३१, सोमबार ०७:३४

पर्सा र बारामा गरी १६ दिन भित्रमा दुईटा पाटेबाघ मृत फेला परेका छन् । डिभिजन वन कार्यालय पर्साका प्रवक्ता फरमान मियाका अनुसार आइतबार पर्साको पटेर्वासुगौली गाउँपालिका–४, बगडाडोबमा एउटा पाटे बाघ मृत फेला परेको छ । करीब ३÷४ दिनअघि उक्त बाघ त्यहाँ मरेको अनुमान छ ।

‘कुहिएर गन्हाउन थालि सकेकाले ३÷४ दिनअघि उक्त भाले बाघ त्यहाँ मरेको हुनसक्छ,’ उनले भने, ‘९ फिट ४ इन्च लामो बाघको अगाडिको दुबै खुट्टा काटेर लगेको पाइएको छ ।’ हाल सब– डिभिजन कार्यालय वसन्तपुरमा राखिएको मृत बाघको परीक्षण गर्न चितवन राष्ट्रिय निकुन्जबाट विज्ञ चिकित्सकहरुको टोलीलाई बोलाइएको उनले जानकारी दिए । ‘टोली चितवनबाट हिँडिसकेको छ,’ उनले भने, ‘ त्यसपछि बाघको मृत्यु के कसरी भएको हो भनि कारण खुल्न सक्छ ।’ मृत बाघ फेलापरेको स्थान राष्ट्रिय वनबाट करीब ३ सय मिटर दक्षिण भलुवाही खोलामा पर्छ । राष्ट्रिय वन पर्सा राष्ट्रिय निकुन्जसँग जोडिएको छ । यसअघि असोज १५ गते बाराको निजगढनजिक पूर्व–पश्चिम राजमार्ग अन्तर्गत निजगढ–काठमाण्डु द्रुतमार्गको जिरो माइलमा एउटा पाटे बाघ मृत भेटिएको थियो । शव परीक्षणपछि १४ वर्षको उक्त बाघ भोक र प्यासले मरेको ठहर चिकित्सक टोलीले गरेको थियो । करीब १५÷२० दिन देखि उक्त बाघ भोको रहेको अनुमान गरिएको थियो । उक्त बाघको मुखमा माथि र तलको ४ वटा मुख्य दाँत खिईसकेको र मुखमा गम्भीर चोट लागेर घाउमा संक्रमणसमेत भएको पाइएको थियो । शरीरका अन्य भागमा पनि चोटपटक देखिएकाले उक्त बाघ अत्यन्त बुढो भएको र अन्य वयस्क बाघसंग जुधेर गम्भीर घाइते भएको हुनसक्ने अनुमान गरिएको थियो । मृत्यु हुनुअघि उक्त बाघले सोही स्थान नजिकै रहेको नेपाली सेनाको क्याम्पमा प्रवेश गरेर त्यहाँको पार्किङमा रहेका सवारी साधन तथा जेसीबीहरुको टायरसमेत टोक्ने र चिथोर्ने गरेर केही बेर आतंक मच्चाएको थियो । १६ दिनको अवधिमा यसरी २ वटा पाटे बाघ मृत फेला पर्नुले आफूहरुको चिन्ता बढेको पर्सा निकुन्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामले बताए । ‘विश्वमै लोपोन्मुख पाटे बाघ जोगाउन वर्षेनि ठूलो लगानी र मिहिनेत भइरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा बाघ मृत फेलापर्नुले हाम्रो चिन्ता बढ्नु स्वाभाविक नै हो ।’ आइतबार मृत फेला परेको बाघ पनि निकुन्जबाटै बाहिरिएको हुनसक्ने अनुमान गरिएको छ ।

घटनास्थल निकुन्जबाट करीब ७ किमी दक्षिणमा मात्र रहेकाले उक्त बाघ निकुन्जबाटै बाहिरिएर राष्ट्रिय वन हुँदै त्यहाँ पुगेको हुनसक्ने आशंका छ । द्रुत मार्गमा १६ दिन अघि मृत फेला परेको बाघ पनि निकुन्जबाट सामुदायिक वन क्षेत्र हुँदै त्यहाँ पुगेको अनुमान रहेको छ । यसै वर्ष सार्वजनिक बाघ गणनाको नतिजा अनुसार, पर्सा निकुन्जमा ४१ वयस्क बाघ रहेका छन् । ४ वर्षमै निकुन्जमा बाघको संख्या दोब्बरले बढेको छ । २०१८ को बाघ गणनामा पर्सा निकुन्जमा १८ बाघ फेला परेका थिए । ४ वर्षको अन्तरालमा हाल दोब्बरभन्दा बढी बाघ बढेका छन् । संरक्षण तथा वृद्धिका लागि गरिएको प्रयासका कारण पर्सा निकुन्जमा बाघको संख्या वर्षेनि बढ्दो क्रममा रहेको छ । ‘सन् २०० ९÷१० को गणनामा निकुन्जमा केवल ४ वयस्क पाइएका थिए, २०१३ मा ७ र २०१८ को गणनाले १८ बाघ देखिएका छन्,४ वर्ष नबित्दै बाघको संख्या दोब्बरभन्दा पनि बढी भएको छ । बाघको वासस्थानको व्यवस्थापन, पानीको व्यवस्थापन, नियमित अनुगमन र घाँसे मैदानहरुको विकास गरी यसका आहारा प्रजातिको संख्या वृद्धी गरिँदा पनि पर्सा निकुन्ज बाघ मैत्री बन्दै गएको बताइन्छ ।

Comment


Related News

Latest News

Trending News