पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयामा स्थानीयवासीले नाराजुलुससहित चक्काजाम गरेका छन् ।
मिर्चैया नगरपालिका-१ रामपुर बिर्ताकी ६२ वर्षीया गुबदीदेवी साह हलुवाईको हत्या अनुसन्धानका क्रममा उनकै बुहारी जिबछीदेवी साहलाई प्रहरीले नियन्त्रणमा लिई अमानवीय तरिकाले कुटपिट गरेको भन्दै विरोधस्वरूप स्थानीयले सोमबार मध्यान्हदेखि चक्काजाम गरेका हुन्को ।
आक्रोशित स्थानीयले दोषी प्रहरीलाई कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय घेराउ गरी नारा लगाएका थिए । प्रहरीले चक्काजाम खोलाउन दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेको छ। सो क्रममा करिब आधादर्जन प्रहरी पनि घाइते भएका छन् । एक जना प्रहरीको टाउको फुटेकाले उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरि ओलीले बताए ।
गुबदीदेवी साह हलुईको शव १५ असोजमा कर्जन्हा नगरपालिका-११ भलुखोला छेउको उखुघारीमा भेटिएको थियो। उनको अघिल्लै दिन हत्या गरी फालिएको हुन सक्ने अनुमान छ। अघिल्लै दिन खेत रुङ्न गएकी गुबदी नफर्केपछि भोलिपल्ट बुहारी जीबछी र गुबदीकी छोरी ललिता खोज्न जाँदा खेत नजिकै उखुबारीमा शब भेटिएको हो । ललिताको घर पनि प्रयागपुरमै भएकाले छोरी कै घरमा राति बस्यो होला भनेर भोलिपल्ट बिहान ललितालाई फोन गरी बुझ्दा नआएको भनेपछि खोज्न थालिएको परिवारको भनाइ छ ।
पोष्टमार्टमपछि उनको दहासंस्कार गरी १३ दिनको किरिया सकिएपछि सोही घटनाको अनुसन्धानको क्रममा मृतककी बुहारी जिबछी देवी साहलाई शुक्रबार इलाका प्रहरी कार्यालय मिर्चैया ल्याइएकको थियो । प्रहरी कार्यालयले अनुसन्धानको नाममा महिलामाथि अनैतिक तरिकाले कुटपीट गरेको आरोप छ।
जीबछीले लगेकै रातिदेखि पाइपले कुट्ने, कपाल झ्यालमा बाँधेर पैतालामा पाईले हानेको बताएकी छिन् ।
इलाका प्रहरी कार्यालय प्रमुख डीएसपी हरि ओलीले अनुसन्धानको क्रममा ल्याएको र सोधपुछपछि हिजै छोडे पनि आज बिहान हुलसहित प्रहरी कार्यालय घेरा हाल्न आएको बताए । उनले सो क्रममा भिड नियन्त्रण गर्न केही सेल अश्रुग्यास प्रहार भएको जनाए ।