मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाल प्रहरीको गौरवशाली इतिहास रहेको छ बताएका छन् ।
६७ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले प्रहरी निर्वाचनमा कुनै पार्टी वा व्यक्ति विशेषको अधारमा काम गर्नु हुँदैन् बताए । उनले चाडपर्वमा सुरक्षा व्यवस्था चुस्त पार्न तथा निर्वाचनलाई भयरहित सम्पन्न हुने गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउनु पर्नेमा जोड दिए । निर्वाचन लोकतन्त्रको गहना भएको बताउदै मुख्यमन्त्री राउतले भने,‘ निर्वाचन भयरहित र शान्तिपूर्ण वातावरणमा हुनुपर्छ,आम जनताले बिनाकुनै दबाब, प्रभावमा आफूले मनपर्ने व्यक्ति, पार्टीलाई मतदान गर्न पाउनुपर्छ,यसका लागि आवश्यक वातावरण बनाउन प्रहरी प्रशासनको भूमिका महत्वपूर्ण हुनेछ ।’ मधेश प्रदेशका प्रहरी प्रमुख डिआइजी मसउद खाँन आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह, राज्यमन्त्री रुविकुमारी कर्ण, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहसहितको उपस्थिति रहेको थियो । त्यस्तै,रौतहटमा पनि प्रहरी दिवस मनाइएको छ । २०१२ सालमा स्थापना भएको प्रहरी संगठनको स्थापना दिवसको अवसर परेर विभिन्न कार्यक्रम आयोजना गरी जिल्ला प्रहरी कार्यालय रौतहट प्रहरी दिवस मनाएको हो । जिल्ला प्रहरी कार्यालय गौरमा आयोजना गरिएको कार्यक्रममा अमर प्रहरीका परिवारहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मान गरिएका अमर प्रहरी परिवार हरुमा सुनीता देवी , दुखिया देवी यादव , साहिना खातून , शेख इश्लाम , राकेश साह , रति देवी साह , निर्मला झा रहेकी छन ।
त्यस्तै, शान्ति सुरक्षामा भूमिका निर्वाह गरेका समाजसेवी बृज किशोर यादव , ग्रामीण विकास केन्द्र नेपालका अध्यक्ष पारस हुसैन , आधारभूत विद्यालय बाल मन्दिरका प्राध्यानध्यापक राम नरेश यादव , गढ़ीमाई नगर पालिका , बृंदाबन नगरपालिकाका शेख असलमलाई कदरपत्र बाट सम्मानित गरिएको छ । प्रहरी दिवसको अवसरमा आयोजना गरिएको बैडमिंटन प्रतियोगिता , ४०० मीटर र १०० मीटर दौड़ प्रतियोगिता , घईटो फुटाउने प्रतियोगिताका सफल प्रतियोगीहरुलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा प्रहरी उपरीक्षक वीर बहादुर बुढामगर र प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा सुरक्षा निकायका प्रमुख , संघ सस्थाका प्रतिनिधि , पूर्व प्रहरी कर्मचारी , संचारकर्मीहरुको सहभागिता रहेको थियो । त्यस्तै, जिल्ला प्रहरी कार्यालय सर्लाहीको मलंगवामा अपराध न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक विजय यादवले संगठन प्रमुख प्रहरी महानिरिक्षक धीरजप्रताप सिंहले पठाएका शुभकामना संदेश वाचन गरेका थिए भने सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले अपराध न्यूनीकरणका लागि प्रहरीले खेलेको भूमिकाको बारेमा जानकारी गराएका थिए ।
उनले अपराधको प्रवृत्ति परिवर्तन भइरहेको अवस्थामा अपराध न्यूनीकरण तथा दोषीलाई सजाय दिलाउनका लागि सामाजिक विकृत्ति र विसंगति लगायतका चुनौती आएको बारेमा अन्तरक्रिया गरेका थिए । सोही अवसरमा कार्यक्रममा प्रजिअ गौतमले प्रहरी कार्यालयको लागि निःशुल्क जग्गा उपलब्ध गराएका जग्गादाता इन्द्रमुनी मैनाली र मंचनिया देवीसहित अमर प्रहरी परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । यसैगरी, उनले उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पुरस्कार,प्रहरी कार्यमा सहयोग पुर्याउने व्यक्तिहरुलाई प्रशंसापत्र प्रदान प्रदान गर्नुका साथै पूर्व प्रहरीहरुलाई खाँदा ओढाएर सम्मान गरेका थिए ।


