जनकपुरधाम । मधेशवादी ठूला चार दलका अध्यक्षहरुलाई मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा जित्न हम्मे– हम्मे परेको छ ।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टी (तमलोपा)का अध्यक्ष वृषेशचन्द्र लाललाई निर्वाचन जित्न कठिन हुने देखिन्छ । जसपाका अध्यक्ष यादव सप्तरी २, लोसपाका अध्यक्ष महोत्तरी ३, जनमतका अध्यक्ष राउत पनि सप्तरी २ र तमलोपाका अध्यक्ष लाल पनि महोत्तरी ३ बाट निर्वाचनमा मनोनयनपत्र दर्ता गराएका कारण चारै जनाको जित्ने सम्भावना कम देखिएको छ । तर, राजनीतिक विश्लेषकहरु जसपा अध्यक्ष यादव र लोसपा अध्यक्ष ठाकुरको मतदाताहरु उनीहरुको पक्षमा आउन सक्ने अनुमान गरेका छन् ।
जसपाका अध्यक्ष यादवले गत प्रतिनिधिसभाको निर्वाचनमा सप्तरी २ वाट तत्कालीन राजपा र फोरमको गठबन्धनवाट उम्मेदवार थिए र कांग्रेसले त्यहाँ आफ्ना उम्मेदवार फिर्ता लिएपछि २१ हजार ६ सय २० मत प्राप्त गरेका थिए । राजपा र फोरमबीच गठबन्धन हुँदा राजपाका जयप्रकाश ठाकुरले स्वतन्त्रवाट उम्मेदवारी दिएर ९ हजार ४ सय ५९ मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका उम्मेदवार उमेश यादवले ११ हजार ५ सय ८० मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरेका थिए । हुनत त्यो क्षेत्रवाट कांग्रेसले आफ् ना उम्मेदवार सकलदेव सुतिहारको उम्मेदवारी फिर्ता लिए पनि उनको नामले मात्रै १८ सय ४० मत प्राप्त गरेका थिए । त्यो क्षेत्रमा नेकपा एमालेका दुर्गानन्द मण्डलले १४ सय ६५ मत प्राप्त गरेका थिए । तर, मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा जसपा र नेकपा एमाले गठबन्धन तथा पाँच दलीय गठबन्धनबीच प्रतिस्पर्धा हुने भएका कारण जसपा अध्यक्ष यादवको अवस्था खराब देखिएको छ । हुनत गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा जसपा बलियो अवस्थामा देखिन्छ । तर, गत बर्षको प्रतिनिधिसभाको निर्वाचन अनुसार जसपा कमजोर छ किनभने त्यो क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष राउतले पनि उम्मेदवारी दिएका छन् ।
राउत पनि त्यो क्षेत्रमा लोकप्रिय नेताको रुपमा देखिएका कारण उनले पनि राम्रो मत ल्याउन सक्ने देखिन्छ । त्यो क्षेत्रमा जसपा र लोसपाका उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा हुनेदेखिए पनि जनमतले कति मत ल्याउन सक्छ त्यसमा निर्भर पर्ने विश्लेषकहरुको भनाइ छ । त्यो क्षेत्रमा पाँच दलीय गठबन्धनका उम्मेदवार ठाकुर र जसपाका अध्यक्ष यादवबीच कडा प्रतिस्पर्धा देखिएको छ । त्यस्तै, अवस्था महोत्तरी निर्वाचन क्षेत्र नम्वर ३ रहेको छ । महोत्तरीमा पाँच दलीय गठबन्धनबाट लोसपाका अध्यक्ष महन्थ ठाकुर र उनकै अर्का सहयात्री तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल उम्मेदवार छन् भने जसपा–एमाले गठबन्धनबाट जसपाका नेता हरिनारायण यादव प्रतिनिधिसभाका उम्मेदवार छन् । त्यो क्षेत्रबाट लोसपाका अध्यक्ष ठाकुर गत प्रतिनिधिसभाको निर्वाचनमा २६ हजार ८ सय ४५ मत प्राप्त गरी विजयी भएका थिए । त्यो क्षेत्रमा पनि नेपाली कांग्रेसले आफ् ना उम्मेदवार फिर्ता लिएर ठाकुरलाई समर्थन गरेका थिए । ठाकुरको मतमा कांग्रेसको भारी मत रहेको त्यतिबेला अनुमान गरिएको थियो । नेकपा एमालेका उम्मेदवार विजय चौधरीले ८ हजार ६ सय ४५ मत ल्याएर दोस्रो तथा स्वतन्त्र उम्मेदवार चन्देश्वर झाले ४ हजार २० मत ल्याएर तेस्रो स्थान हासिल गरेका थिए । तर, यस पटक लोसपा अध्यक्ष ठाकुरलाई जसपा–एमालेका उम्मेदवार यादवले तनाव दिएका छन् ।
साथै तमलोपाका अध्यक्ष लालले पनि राम्रो मत ल्याउन सक्ने अनुमान गरिएको छ । गत प्रतिनिधिसभाको निर्वाचनमा लोसपा अध्यक्ष ठाकुरको सारथि रहेका तमलोपा अध्यक्ष लाल यस पटक आफै उम्मेदवार बनेका छन् । उनले तमलोपा गठन गरेर ठाकुर विरुद्धनै निर्वाचनमा उठ्ने भन्दै आएका थिए । गत स्थानीय तहको निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र नम्वर ३ का मटिहानी नगरपालिका, पिपरा गाउँपालिका, जलेश्वर नगरपालिका, मनरा नगरपालिकाका ८,९ र १० तथा एकडारा गाउँपालिका लोसपाले नै जितेका थिए । यो सबै पालिकामा लोसपाका प्रमुख रहेका कारण ठाकुरको पक्षमा एक प्रकारको माहोल पनि थियो र ठाकुरलाई जिताइदिने जनतामा एउटा अपेक्षा पनि थियो । तर, यस पटक मटिहानी मात्रै लोसपाले जित्न सकेको छ । यस पटक पिपरा गाउँपालिका, जलेश्वर नगरपालिका, एकडारा गाउँपालिका जसपाले जितेको छ भने मनरासिसवा नगरपालिका नेपाली कांग्रेसले जितेको छ । यस अनुसार जसपा बलियो अवस्थामा देखिएको छ । तर त्यहाँ लोसपा अध्यक्ष ठाकुरका र जसपा नेता यादवका प्रदेशसभाका उम्मेदवारहरु रोचक फ्याक्टर बनेका छन् । लोसपा अध्यक्ष ठाकुरले निर्वाचन क्षेत्र नम्वर ३ को दुबै क्षेत्रबाट गत निर्वाचनमा जितेकै उम्मेदवार रानी शर्मा तिवारी र अभिराम शर्मालाई उम्मेदवार बनाएका छन् भने जसपा नेता यादवको एका तिर पूर्व महान्यायाधिवक्ता दीपेन्द्र झा र अर्का नेकपा एमालेका रामदयाल मण्डल प्रदेशसभाका उम्मेदवार छन् ।
पूर्व महान्यायाधिवक्ता झा र एमाले उम्मेदवार मण्डलको पनि क्षेत्रमा राम्रै पकड रहेकाले त्यो क्षेत्रमा जसपाका उम्मेदवार यादव पनि बलियो अवस्थामा देखिएका छन् । राजनीतिक विश्लेषकहरु भन्छन् लोसपा अध्यक्ष ठाकुरको हाइट अनुसारको हाइट जसपा नेता यादवको नरहेका कारण लोसपा अध्यक्ष ठाकुरलाई हराउने सम्भावना कमै रहेको र उनी बलियो अवस्थामा रहेको मान्न सकिने बताउँछन् ।
Please subscribe our official youtube channel Below and support us.
https://www.youtube.com/watch?v=R9LPU7poSSo


