अपडेट 
२०७९ कार्तिक २, बुधबार ०८:०३

नेपाली साहित्य भन्ने बित्तिकै अहिलेको सन्दर्भमा सामान्यतया नेपाली भाषाको साहित्य भनेर बुझिन्छ । यदि यसैलाई आधार मान्ने हो भने मधेसी साहित्य भनेर केही पनि बुझिँदैन वर्तमानमा । वास्तवमा अबको दिनमा मधेसी साहित्य भनेर मधेसमा बोलिने भाषाभाषीको साहित्य भन्ने दिन आउनुपर्छ । मधेसमा बोलिने भाषाभाषीको लागि वर्तमान मधेस प्रदेशको सरकारले केही पनि गर्न सकेन । पाँच वर्षको अवधि बित्नै लागेको छ तर विगतमा केन्द्रप्रति भाषा र साहित्यको मामिलामा जुन असन्तुष्टि आउने गरेको थियो, त्यही असन्तुष्टिको अनुकरण भाषा र साहित्यको क्षेत्रमा गर्दै मधेस प्रदेश सरकारले मैथिली र भोजपुरी भाषा अर्थात् जसको साहित्य पहिलेदेखि नै समृद्ध थियो त्यसैलाई समृद्ध बनाउने दिशामा केही काम ग¥यो ।

भाषा र साहित्यको क्षेत्रमा एउटा नराम्रो इतिहासको सुरुआत मधेस प्रदेशमा पनि भएको छ । अब दीपावली हाम्रो घरदैलोमा आइपुग्न लागेको छ । दीपावलीको समयमा मधेसमा वास्तवमा झिलिमिली हुन्छ । हरेक व्यक्तिले सम्भव भएसम्म आफ्नो सम्पूर्ण परिवेशलाई सफा सुग्घर बनाउने प्रयास गर्दछन् । सम्पूर्ण रुपमा आफूलाई स्वच्छ बनाउने र पवित्र बनाउने प्रयास गर्दछ । घरभित्र र मनभित्रका मयललाई सफा बनाउने पर्वको रुपमा दीपावली छँदैछ । यसको धार्मिक मान्यता र आध्यात्मिक मान्यता पनि रहेको छ । आध्यात्मिक मान्यताले गर्दा यो पर्व धार्मिक पनि बन्न पुगेको यथार्थ छ भने सफाइको क्षेत्रमा यस पर्वको जुन महत्व रहेको छ, यसले युगौँयुगसम्म सफाइको चेतना र व्यवहार दिइरहने छ । सम्पूर्ण सफाइ र सम्पूर्ण उज्यालो यस पर्वको वर्तमान हो । जहाँ सम्पूर्ण सफाइ भएको हुन्छ त्यहाँ जसकसैलाई पनि बस्न मन लाग्छ । पवित्रताप्रति स्वाभाविक आकर्षण हुन्छ, श्रद्धा हुन्छ । सम्मान हुन्छ अन्तर्हृदयमा । यसै कारण सफाइको महापर्व दीपावलीको दिन नै राति सफाइ भएको हरेक घरमा दीप प्रज्ज्वलन हुन्छ । आफ्नो अन्तर्दिलमा पनि उज्यालो भरिन्छ यस अर्थमा कि खुसीले गद्गद हुन्छ हरेकको दिल । आखिर जीवनमा सुख र दुःख यही दिन र रात जस्तै घामछाया बनेर आइरहन्छ, गइरहन्छ तर दीपावली त जीवनको एउटा यस्तो पवित्र रेखा हो जहाँ सबैलाई प्रतीक्षा हुन्छ कि यो दिन विशेष सफाइ होओस् । घर, आँगन र घरभित्रका सम्पूर्ण सामान तथा सामग्री मात्र नभई आसपासको परिवेश पनि सम्भव भएजति पवित्र बन्न सकोस् ।

पवित्रताको यो महापर्वमा घरभित्र र घरबाहिर पनि किन झन् उज्यालो नबनाउने ? आफूलाई बाहिर प्रदर्शन पनि गर्ने र भित्र श्रद्धा र आस्थाको एक श्रेणी माथि उक्लेर पूजा गर्ने र रमाउने पनि । कस्तो विचित्रता, आधुनिकताको अत्यधिक उपयोग र आध्यात्मिकताको गहिराइ, दुवैमा उमंग र उत्साहले भरिएको यस दिनमा साहित्यकारहरुले नरमाउने कुरै हुँदैन । शुद्ध करुतेल र घिउमा बलेको दीपकको मनै हर्ने सुगन्ध र त्यसमाथि हरेक घरमा पाक्ने तरुवाको सुगन्धको कल्पनाले नै एकातिर मुखै रसाउँछ भने अर्कोतिर त्यस दिनको फरक आनन्दको अनुभूति हुन्छ । दीपावलीको अर्थ परिवेशमा सोझै दीप प्रज्ज्वलन त होइन नि । यो त विशाल परिभाषा बोकेको उज्यालो संसार हो । यस किसिमको विशेष परिवेश देखेर साधारण मानिसको मन द्रविभूत हुन्छ भने सर्जकको मन कसरी सम्हालिन्छ ? जतिसुकै व्यस्तताको बावजुद पनि सर्जकले यस दिन चाहन्छन् कि आफ्नो मनको भावनालाई मूर्त रुप दिन सकूँ । सम्भव भएसम्म साहित्यकारले यस दिन कुनै एक सिर्जना पनि गर्दछन् नभए यस दिनको आनन्द अरुले भन्दा पृथक किसिले लिने गर्दछन् । यसलाई साहित्य कला र सिर्जनाको दृष्टिले फरक रुपमा लिन सकिन्छ । यद्यपि दीपावलीको साहित्य जति प्रकाशित हुनुपर्ने हो, त्यत्ति हुन सकेको पाइँदैन । यसको मूल कारण मधेसको परिवेशमा साहित्यको महत्व बुझ्न नसक्नु हो ।

उदाहरणको लागि बागमती प्रदेशको मकवानपुर जिल्लामा करिब पाँच दर्जन पुरस्कारको स्थापना भइसकेको छ । पाँच दर्जन भन्दा बढी पुरस्कारको स्थापना साहित्यकार तथा साहित्यिक संस्थाका लागि भएका छन् । यसबाट यो अनुकरण सजिलो हुन जान्छ कि मानिसले आफूलाई पनि साहित्य सिर्जनातिर प्रभृत गराउन चाहन्छन् । र, यदि आफ्ना सन्तानले कतैबाट सिकेर वा स्वभाविक रुपमा पढेर साहित्यको सिर्जना गर्दछन् भने घरैमा पहिलो प्रोत्साहन पाइन्छ । घरैमा प्रोत्साहन पाउनुपर्ने कारण यो पनि हो कि मकवानपुरे समाजमा साहित्यको सम्मान वृद्धि भएको छ । साहित्यले सम्मान दिन्छ र सम्मानले पनि साहित्य दिन्छ भन्ने कुरालाई मकवानपुरले पुष्टि गरिरहेको छ । मकवानपुरलाई साहित्यको राजधानी यसै कारण भनिने गरिएको छ । एउटा मकवानपुरमा एक वर्षमा जति साहित्यिक कृति प्रकाशित हुन्छ, त्यत्ति मधेस प्रदेशमा नै सम्भवतः हुँदैन । मधेस प्रदेशको साहित्यको दुर्भाग्य यो पनि हो कि यस प्रदेशमा रहेर साहित्य सिर्जन गर्नेहरुभन्दा यस प्रदेशभन्दा बाहिर रहेर यस प्रदेशको नाममा साहित्य सिर्जन गर्नेको संख्या बढी छ । यसरी गर्दा त्यस्ता सर्जकलाई दोहोरो फाइदा रहेको छ । पहिलो किसिमको फाइदा त यो हो कि तिनी जुन ठाउँमा छन् त्यहाँको पनि स्थानीय कहलिन पाए, त्यहाँ पनि सम्मानित हुन पाउने भए र यस प्रदेशको पनि स्थानीयको हैसियतमा रहिरहन पाए । यस प्रदेशमा यस प्रदेशको भाषा र साहित्यका लागि निरन्तर मरिमेटेर काम गरिरहँदा तिनीभन्दा माथि आफू रहेको भनी देखाउन सजिलो हुने भयो । बाहिर बसेर साहित्य सिर्जन गर्नेहरुले यस प्रदेशको प्रतिभा प्रोत्साहन, संरक्षण तथा सम्बद्र्धनमा खासै योगदान दिन सकिने अवस्था नरहे पनि भाषा र साहित्य क्षेत्रका देशका ठूला र विशिष्ट सर्जकहरुसित भने सम्पर्क र समन्वयका कारण प्रदेशका प्रतिभालाई काम न काजको भनी बताउन सजिलो भएको छ ।

यस किसिमको थिचोमिचोका कारण यस प्रदेशका प्रतिभाहरु पनि के चाहन्छन् भने सम्भव भएसम्म त्यस्ता प्रतिभालाई नै बोलाएर कुनै कार्यक्रममा निरन्तर सम्मान गरिरहूँ । अनि यसको परिणति के हुन्छ भने स्थानीय प्रतिभाको उत्पादन तथा संरक्षण र प्रोत्साहनमा नकारात्मक प्रभाव पर्दछ । अझ मधेस प्रदेश सरकारको गठन भएको समयदेखि अहिलेसम्म भाषा र साहित्यको नाममा यस प्रदेशका वास्ताविक प्रतिभाहरुको प्रोत्साहनको लागि केही पनि गर्न नसकेको र यस प्रदेशका भाषा र साहित्यको नाममा मैथिली र भोजपुरीलाई मात्र प्रोत्साहन गर्दा अन्य भाषा र साहित्यका सेवकहरुमा भने निराशा आउनु स्वाभाविक भएको छ । र, मधेसको दीपावलीको वास्तविक रंग तथा स्वाद यहाँका विभिन्न भाषाका साहित्यमा अझै आउन सकेको छैन । यसको लागि अझै समय लाग्ने किन देखिन्छ भने स्थानीय चेतनामा क्रमिक वृद्धि भइरहेको छ । साहित्यको सिर्जन पीडा र दुवै दुवै विपर्यय अवस्थामा हुन्छ । हुन त हरेक मानवीय संवेदनामा साहित्यको सिर्जन भएको पाइन्छ । यसैले साहित्यमा नौ रस रहेको देखिन्छ । सबै परिवेशमा साहित्यको सिर्जन सम्भव छ र साहित्य सिर्जनको परिवेश आफ्नै हुन्छ पनि । तर मधेस प्रदेशको परिवेशमा दीपावली जुन रुपमा मनाइन्छ, त्यसको प्रभाव र वर्चस्व यहाँको साहित्यमा किन आउन सकेको छैन ? मधेस प्रदेशको साहित्यको सिर्जन किन यहाँका स्थानीय चाडपर्व र मौलिक संस्कृतिको अन्तर्य र अनुभूति तथा महिमा गान गरिएका साहित्यको सिर्जन हुनै सकेको छैन । यस क्षेत्रमा स्थानीय सरकारले त ध्यान दिनै सकेको छैन तर प्रदेश सरकारले पनि ध्यान दिन सकेको छैन । प्रदेश सरकारबाट त धेरै आशा थियो जुन आशा किन मुर्झायो, किन बिलायो र किन हरायो भने विकासको अर्थ केवल सडक ढलान र भवन निर्माणलाई लिने संस्कृति प्रदेश सरकारले पनि अवलम्बन ग¥यो ।

यस प्रदेशको मौलिक संस्कृति वा भाषा निकै सानो समुदायमा पनि रहेको छ भन्ने यथार्थभन्दा निकै टाढा रहेर ठूलो भाषिक समुदायलाई रिझाउनपट्टि लागेर एउटा विशाल अवसरको घाँटी निमोठ्ने काम भएको परिवेशमा स्थानीय संस्कृतिको स्वाद यहाँको साहित्यमा नआउनु कुनै नौलो कुरो नै भएन । अथवा भाषा र साहित्यको महत्व तथा यस प्रदेशको भाषा र साहित्यलाई चिन्ने अवसर आउने दिन अझै बाँकी छ भनेर साहित्यका पारखीहरु पर्खेर बसेका छन् । दीपावली देशभर मनाइन्छन् । अब विस्तारै हरेक समुदायले मनाउन थालेको छ । यद्यपि परम्परागत रुपमा यो हिन्दूको पर्व हो । तर के भनिन्छ भने उज्यालो हुने चाहना त सबैको हुन्छ । हरेक चाहिँ प्रकाशवान हुनुपर्छ । अप्पो दीपो भवः भनेर भगवान बुद्धले भनेका छन् । स्वयं नै प्रकाशवान बन्नुपर्छ । यसबाट प्रकाशमा सबैको हक छ भन्ने देखिन आउँछ । यसको महत्व यो पनि हुनुपर्छ कि यस बारेमा पर्यापत साहित्य सिर्जना हुनुपर्छ जुन अझै हुन सकेको छैन । वास्तवमा साहित्य किन र कसरी लेख्ने भन्ने विषय नै समाजको बहसमा आउन सकेको छैन । साहित्यको उपादेयता वा महत्वको विषयमा समाज निकै अनभिज्ञ रहेको छ । अबको समयमा साहित्यलाई सर्वसाधारणसित जोड्न एउटा अनवरत चलिरहने एउटा अभियानको आरम्भ गरिनुपछ जसबाट साहित्यको महत्ताबारे समाजले जागृत हुने मौका प्राप्त गरोस् । साहित्यको अर्थमा भन्ने हो भने धेरै महत्वपूर्ण ग्रन्थहरु भनी चर्चामा रहेकाहरु पनि साहित्य नै हुन् । र, हरेक मानिसमा साहित्य हुन्छ । भावनाको प्रकटीकरण गर्ने अवसर दिइनुपर्छ वा भावनाको प्रकटीकरण गर्ने वातावरण दिनुपर्दछ । सबैले बुझेका छन्, यही अवसर नहुँदा यस प्रदेशका लोकसाहित्य, लोककला तथा लोकसंस्कृतिहरु व्यावसायिक हुन सकेका छैनन् । जसको नकारात्मक प्रभाव यो देखिएको छ कि धेरै महत्वपूर्ण लोकसांस्कृतिक सम्पदाको संरक्षणमा बाधा पुगिरहेको छ । साथै दीपावलीको संस्कार तथा संस्कृति र यसको आधुनिक स्वरुपमा साहित्यको सिर्जन हुन सकेको छैन ।

हुँदै नभएको होइन तथा जति मात्रामा र जसरी हुनुपर्ने हो त्यत्ति मात्रामा र त्यत्तिको गुणवत्तायुक्त हुन सकेको छैन । यसको अर्थ यो होइन कि दीपावलीको विषयमा साहित्य सिर्जन भएकै छैन र भएका जति पनि गुणस्तरहीन रहेका छन् । भन्नुको तात्पर्य यो हो कि दीपावलीजस्तो गरी दीपावली साहित्य मधेसमा फस्टाउन सकेको छैन र दीपावलीको विभिन्न रुपलाई साहित्य र कलाको विभिन्न अन्दाजमा प्रस्तुत गर्न सकिएको छैन, प्रस्फुटन हुन बाँकी छ । दीपावली साहित्य पनि हरेक कोण र दृष्टिकोणबाट लेखिनुपर्छ र दीपावलीलाई साहित्यको हरेक विधासित जोडिनुपर्छ । यसको बाह्याकृतिका साथै अन्तर्यलाई पनि अंकरित हुने वातावरण दिनुपर्छ तथा साहित्य पनि जीवनको एक अंग हो भन्ने भावनालाई दीपावलीको अन्तर्यसित जोड्नुपर्छ ।

Comment


Related News

Latest News

Trending News