२०७९ कार्तिक ३, बिहीबार ०७:०१

विषादीको असुरक्षित कारोबारलाई सुरक्षित र भरपर्दो बनाउन कारोबारीलाई अनुमतिपत्र (लाइसेन्स) प्रदानका लागि आवश्यक तालिमसहित पूर्वपरीक्षाको आयोजना गरिएको छ ।

असुरक्षित तरिकाबाट विषादी कारोबार भइरहदा समाजमा विभिन्न खाले अपराधिक घटनासमेत हुन थालेपछि विषादीको कारोबारी र यस कारोबारमा आउन चाहने इच्छुक व्यक्तिलाई तालिममा सहभागी गराइ परीक्षा लिइएको हो । कृषि ज्ञान केन्द्र सप्तरीले राजविराजस्थित आफ्नै कार्यालय परिसरमा लिएको पूर्वपरीक्षामा २३ महिलासहित १ सय ६७ जना सहभागी थिए । असुरक्षित तरिकाबाट भइरहेको विषादीको कारोबारलाई लक्षित गरी आयोजना गरिएको पूर्वपरीक्षाको परिणाम दुई दिनभित्रै सार्वजनिक गरिने कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र प्रसाद यादवले जानकारी दिए । पहिलो चरणमा ३५ जनाको मात्र छनोट गर्नुपर्ने भए पनि आवेदकको संख्या चौब्बरभन्दा पनि बढी देखिएपछि परीक्षा प्रणाली अपनाइएको उनले बताए । विषादी कारोबारलाई व्यवस्थित बनाउन विक्रेता अनुमतिपत्रका लागि परीक्षा विधिको प्रयोग गरिएको थियो । जिल्ला भरबाट आएका विषादी विक्रेता तथा इच्छुक विक्रेताहरुलाई ५० मिनेटको समय दिइ कृषि विषादी सम्बन्धी ५८ वटा बस्तुगत प्रश्नहरु समावेश गरी परीक्षा लिइएको प्रमुख यादवले जानकारी दिए ।

विषादीको जथाभावी बेचबिखन र कारोबारले विभिन्न बेथितिहरु पनि देखिएको छ, उनले भने, विषादीको दुरुपयोग भइ आत्महत्याका लागि समेत प्रयोग हुन थालेको पाइएको छ । पूर्वपरीक्षामा उत्तीर्ण भएकाहरुलाई प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र हरिहर भवन ललितपुरबाट आउने कृषि विज्ञहरुको टोलीद्वारा तालिम र अन्तिम परीक्षा लिइने कार्यतालिका रहेको छ । सो परीक्षामा उत्तीर्ण हुनेहरुलाई विषादी विक्रि बितरणको अुनमतिपत्र प्रदान गरिने कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । कृषि ज्ञान केन्द्रले यसअघि बीऊ बिजन व्यवसायलाई सुरक्षित, भरपर्दो, व्यवस्थित र फलदायी बनाउन गत भदौं २९ गते विक्रेता अनुमतिपत्रका लागि पनि परीक्षा विधिकै प्रयोग गरेको थियो ।

Comment


Related News

Latest News

Trending News