दलीय आधारमा देशको शासनलाई बाँट्दा मूलतः दुई भागमा विभक्त भएका छन् । पहिलो निर्दलीय तथा अर्को दलीय रहेका छन् । दलीय शासन व्यवस्थालाई पनि एकदलीय, दुईदलीय तथा बहुदलीय प्रणाली अन्तर्गत राखेर हेर्न सकिन्छ । निर्दलीय प्रणालीको उदाहरणतिर जाँदा नेपालकै २०१७ सालदेखि २०४६ सालसम्मको प्रणालीलाई हेर्दा हुन्छ । यस्तो प्रणालीमा दलको प्रभुत्व हुँदैन । राजा वा राष्ट्रपति मूलरूपले देशको शासन गरेका हुन्छन् । यसमध्ये राजा वंशको आधारमा एक पछि अर्को आसीन हुँदै आउँछन् भने राष्ट्रपति जनताद्वारा चुनिएर आउँछन् । यसमा पार्टीको झंडा बिना व्यक्तिले निर्वाचन लडेर जान्छ । नेपालमा पञ्चायत शासन प्रणालीलाई निर्दलीय शासन व्यवस्थाको सबभन्दा ठूलो प्रमाणको रूपमा लिन सकिन्छ । दलीय शासन प्रणाली अन्तर्गत एकदलीय शासन प्रणालीको सबैभन्दा ठूलो उदाहरण वामपन्थी व्यवस्था लागू भएका देशहरूमा हेर्न सकिन्छ । चाइना, क्यूवा, उतरकोरिया आदि देशहरूलाई हेर्न सकिन्छ । यी देशहरूमा एउटै दलभित्र प्रतिस्पर्धा गरेर सक्षम व्यक्तिलाई छान्ने काम गर्छन् । यस व्यवस्थामा विचारधारात्मक विपक्षी हुँदैन । खासगरी साम्यवादी देशहरूले यस्ता प्रणालीलाई आत्मसात गरेका छन् । यसपछि कतिपय देशले दुईदलीय प्रणाली लागू गरेका छन् । यस्ता प्रणाली खासगरी यूरोपीय केही देशहरूले अपनाएका छन् । यस्ता प्रणालीमा एउटा पक्ष तथा अर्को विपक्षको भूमिकामा देखिन्छ । पक्षमाथि विपक्षको दबाब कायम रहन्छ जसले गर्दा सत्ताधारी दलले जथाभावी गर्ने आँट गर्दैन । यस्तो प्रणालीमा बहुमतले अल्पमतमाथि शासन गरेको देखिन्छ । बहुदल तेस्रो किसिमको प्रणाली हो जसमा धेरै पार्टीहरू हुन्छन् । यी पार्टीहरू मध्ये जसले ५१ प्रतिशत प्रतिनिधिसभा सदस्य जित्छन् सो दलले सत्तामा जान्छ र बाँकी विपक्षमा बस्ने गर्छन । यस्ता प्रणालीमा सामान्यतः अल्पमतले बहुमतमाथि शासन गरेका हुन्छन् । नेपालको संविधान २०७२ अनुसार नेपालमा बहुदलीय प्रणाली लागू भएको छ । यस प्रणाली अनुसार विभिन्न पार्टी तथा स्वतन्त्र रूपमा व्यक्तिहरू निर्वाचनमा भाग लिन पाउँछन् ।
पहिलो आम निर्वाचन २०७४ अनुसार पहिलो संसदको निर्वाचन सम्पन्न भएको थियो । पहिलो संसदको कार्यकाल ५ वर्ष सकिएर अहिले दोस्रो कार्यकालका लागि निर्वाचनको घोषणा भईसकेको छ । २०७९ साल मंसिर ४ गते निर्वाचन हुनेछ । निर्वाचनका लागि सारा व्यवस्थापन गरिसकेको छ । तर पहिलो संसदीय कालमा मूल वामपंथी पार्टीहरू एक ठाउँमा एकीकृत भएर निर्वाचन लड्दा लगभग दुईतिहाइको संख्यामा जितेर नेकपा (एमाले) का केपी ओली प्रधानमंत्री बनेका थिए । तर तीनवर्षसम्म जाँदैजाँदा केपी शर्मा ओलीको सरकार मात्रै गएन पार्टीहरू समेत अलग–अलग भए जसले गर्दा यिनीहरू कमजोर हुँदै आए । त्यति मात्र कहाँ हो र ? केपी ओलीको सन्की कामकार्वाहीले गर्दा आफ्नै पार्टीभित्र विग्रह गरेर माधव नेपालको एउटा समूह पार्टी छाडेर नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन् । यसरी नेकपा दिनप्रतिदिन कमजोर हुँदै आएको छ । अहिले नेकपा (एमाले) प्रजातान्त्रिक इतर पक्षसँग गठबन्धन गरेर निर्वाचनमा होमिएको छ । एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी, लिङदेन र थापासँग गठबन्धन गरेको छ । यता सिटको बाँटफाँटमा अलिकति घटबढ हुँदा राष्ट्रिय समाजवादी पार्टी, नेपालले समेत केपी ओलीसँग गठबन्धन गरेको छ । राष्ट्रिय समाजवादी पार्टी नेपालले ओली जस्तो नेतृत्व गर्ने पार्टी एमालेसँग गठबन्धन गरेर आत्मघाती काम गरेको छ । हिज्जोसम्म तराई मधेसको विरोधी मान्छे एकै रातमा कसरी चोखो भयो विचारणीय कुरो देखिन्छ । त्यसर्थ अवउप्रान्त राजपा नेपाल पनि प्रतिगमनको मतियारमा सामेल भएको देखिन्छ । भोली हुने निर्वाचनमा यस्ता मतियारहरूलाई आम जनता कुन किसिमले मूल्याङ्कन गर्छन हेर्न बाँकी छ । यता अघिदेखि गठबन्धनमा सामेल रहेका पार्टीहरू क्रमशः नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), संयुक्त जनमोर्चा नेपाल तथा हालै सामेल भएको लोकतान्त्रिक समाजवादी पार्टी गरी जम्मा पाँच पार्टीहरू गठबन्धन गरेर निर्वाचनमा होमिएका छन् । केपी ओलीलाई निर्वाचनमा परास्त गर्न यस्ता गठबन्धनको अति महत्व देखिन्छ । प्रतिगमनलाई रोक्न यस्ता गठबन्धन नगरेर हुँदैन । स्थानीय निर्वाचनले ल्याएका परिणामलाई हेर्दा पनि यस्ता गठबन्धनको अनिवार्यता अझै बढ्न जान्छ । तर गठबन्धन गरेर मात्र हुँदैन, यसलाई अक्षरसः पालन पनि हुनु पर्छ । छद्मवेशीहरू निर्वाचनमा विभिन्न किसिमका झूठमूठको प्रचार गरेर जनतालाई दिग्भ्रमित गर्न खोज्छ । त्यसबेला गठबन्धनमा सामेल पार्टीहरू एकजुट भएर सामना गर्नुपर्ने हुन्छ । विगतको स्थानीय निर्वाचनमा मात्र होइन यस संसदीय निर्वाचनमा समेत पार्टीहरूका बागीउम्मेदवारहरू मैदानमा कुदेका छन् ।
ती बागीहरूलाई पार्टीहरूले राम्रोसँग व्यवस्थापन गर्न सकेन् भने निर्वाचनमा आफू त हार्छ÷हार्छ गठबन्धनको उम्मेदवारलाई समेत लिएर डुब्छ । गठबनधनका लागि बागीउम्मेदवारहरूलाई व्यवस्थापन गर्न एउटा ठूलै चुनौती रहेको देखिन्छ । केपी ओली तराईमा प्रवेश गर्दा नागरिकताको कुरो उठाउँछन् र भन्छन हाम्रो पार्टी जितेमा तीन महिनाभित्र हामी नागरिकता समस्या समाधान गर्छौ । यस्ता कुरामा समेत जनताले जोड÷जोडले ताली गड्काएका थिए । जबकि नागरिकता समस्या गठबन्धनले समाधान गरिगरिसकेका छन् । त्यसमा राष्ट्रपतिलाई समेत मुछेर अडङ्गा लगाउने काम गरेका छन् । सो नागरिकता विधेयक अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । यस्ता समेदझूठ बोलेर जनतालाई दिग्भ्रमित गरेर भोट आफ्नो पक्षमा लिने कोसिस गरिरहेका छन् । त्यतिमात्र कहाँ हो र ! उनले भनि रहेका छन् कि म त विकासलाई गति दिन चाहन्थे तर यिनीहरू मलाई कामै गर्न दिएन । काम गर्न कहाँ रोकेका थिए ? उनीहरू केपी ओलीको छलछुद्रमबाट तंग भएर बाहिरिएका थिए । जहाँसम्म पार्टीहरूमा विचारधाराको कुरो छ यसमा सबै पार्टीहरूले विचारको बाटोबाट तेर्सिएका छन् । नेपाली काँग्रेसको मूल विचारधारा राष्ट्रियता, समाजवाद र प्रजातन्त्र, नेकपा (माओवादी केन्द्र) ले क्रान्तिकारी साम्यवादी विचारधारा, नेकपा (एकीकृत समाजवादी) ले समाजवादको बाटोबाट तेर्सिएकै हो । यसमा पार्टीहरू जे जस्तो भने पनि यो सत्य हो । तर यी पार्टीहरूका सामुन्ने समयानुसारको बाध्यता पनि थियो र छ । एक अर्कासँग गठबन्धन गर्दा केही लाभ हानीको कुरो आइहाल्छन् नै । प्रतिगमनलाई रोक्न हामीहरूलाई यस्ता लाभहानी छोडेर एक ठाउँमा आउने वाध्यता भयो । अर्कोतिर नेकपा (एमाले) को कुरै छोडौं । यसलाई जे गरेर पनि सत्ता चाहिन्छ । यस पार्टीको सिद्धान्त अहिले कहाँ छ ? यस पार्टीले अग्रगमनलाई छोडेर प्रतिगमनको बाटो समातेको छ । २०७२ मा निर्माण भएको नेपाली संविधानलाई समेत ध्वस्त गर्न चाहन्छ । यसका लागि अहिले निर्वाचनमा निर्दलीयत्ता बोकेका पार्टीहरूसँग गठबन्धन गर्न पुगेको छ । पहिलो निर्वाचनमा जनताको सामुन्ने प्रकट गरेका कुरालाई बिर्सेर तोडमटोर गरेर बोल्न थालेका छन् । एकचोटी जनतालाई दिग्भ्रमित गर्न सकिए तर अब जनता पनि यसको चालाबाला बुझिसकेका छन् । अब जे जस्तो धोकाधरी गर्न खोज्यो भने जनता नेकपा (एमाले) को कुरामा विश्वास गर्दैनन् । रह्यो कुरा जसपा नेपालको, यस पार्टीलाई यस पालिको निर्वाचनमा जनता निकै धेरै प्रश्नहरू सोध्न थालेका छन् । पाँच पार्टीका गठबन्धनमा राजपा बाहिरिए पनि उनीहरू पाँचको पाँच छँदै छन् । राजपा निस्किए पछि लोसपाले तुरून्तै प्रवेश पाइसकेका छन् ।
यसरी गठबन्धनबाट जनताले निकै धेरै आशा राखेका छन् । यी पार्टीहरू मात्रै यस प्रणालीलाई बचाउन सक्छन् । अन्यले होइन । पार्टीहरूका कुरालाई हेर्दा आ–आफ्ना विचारधारालाई छाडेर दुईदलीय पार्टी प्रणालीका प्रकृतिमा आइरहेका छन् । अहिलेको निर्वाचन काँग्रेस र बामपन्थीहरू बीचको लडाइ मात्रै होइन, कुन पार्टी कहाँ पुगे ठेगान छैन । दिनमा विचारधाराको कुरो उठाएपनि रात÷राति विपरीत सिद्धान्तका पार्टीहरूसँग एकता गर्न जान्छ । यसले के देखाउँछ भने जनताको बीचबाट जुन विचारधारा बोकेर संघर्षमा होमिएका थिए, ती सबैलाई तिजाञ्जली दिएर आ–आफ्ना स्वार्थका पछाडि भौतारिरहेका छन् । यसबाट जनता निकै ठूलो अलमलमा परेका छन् । अहिले एकातिर काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चा, लोसपा एकातिर छन् भने एमाले, राजपा, जसपाहरू अर्कोतिर । यसले के देखाउँछ भने भोली नेपालमा दुईदलीय प्रणाली हुने भयो भने कुनै आश्चर्यको कुरो छैन । धेरै देशमा दुईदलीय प्रणाली छ । एउटा पक्ष सरकारमा जान्छ भने अर्को विपक्षमा बस्छ । सरकार कामकाज गर्दा राष्ट्रहीत विपरीतका कुनै काम गर्दा रोक्ने काम विपक्षी पार्टीको हो । यसको जन्म फ्रेन्च संसदबाट भएको छ । १९ सौं शताब्दीतिर संसदको सभामुखका दाहिनेतिर बस्ने सांसदहरूलाई दक्षिपंथी तथा बाँयातिर बस्ने सांसदहरूलाई बामपंथी मान्न थालिए । त्यसै बेलादेखि दक्षिणपन्थी तथा बामपन्थीको अस्तित्व कायम भयो । पछि वायाँतिर बस्ने सांसदहरूलाई बामपन्थी अर्थात कम्युनिष्ट र दाँयातिर बस्ने सांसदहरू परम्परावादी अर्थात सनातनी विचारलाई मान्नेसँग नजिक देखिए । यसरी दुई दलीय पार्टीको जन्म भएको देखिन्छ । नेपालमा पनि यस्तै दुईदलीय पार्टीको जन्म हुने देखिन्छ । नेपालमा पनि यस्तै प्रणाली भोलि लागू भयो भने कुनै आश्चर्य छैन । व्यवहारमा आइसकेका छन् । यसलाई सैद्धान्तिक रूपमा व्यवस्थापन गर्ने काम मात्र बाँकी देखिन्छ । नेपाललाई बचाएर अगाडि बढाउने पार्टीहरूको मूल जिम्मेवारी हो । प्रणालीगत लडाइ सकिसकेका छन् । जनताद्वारा निर्भित संविधानभन्दा अन्य माध्यमबाट बनाउने संविधान पक्कै पनि यति पूर्णता पाउँदैन । अहिले कतिपय पार्टीहरू यस संविधानलाई असफल पारेर नयाँ संविधान ल्याउन चाहन्छन् । यसको अगुवाइमा राष्ट्रिय प्रजातन्त्र पार्टी आएको छ भने अदृश्य रूपमा नेकपा (एमाले) जस्ता पार्टीहरू लागेका छन् । यसै संविधानलाई संशोधन गर्दै सबै वर्ग र तप्काका मानिसहरूलाई समेटिँदै अगाडि बढेको संविधानलाई असफल बनाउनु कतिको देश र जनताको हीतमा छ बुझ्नु पर्ने कुरा रहेछ । सबै समूहलाई एकै चोटी खुश पार्न विश्वका कुनै पनि संविधान सक्दैन ।
हुनत यसका लागि जनताको चेतनामा बृद्धि हुनुपर्छ । ब्रिटेनमा लिखित संविधान नभए पनि राम्रोसँग देश चलेकै छ । यहाँ लिखित संविधान हुँदाहुँदै कसैकसैलाई असन्तुष्टि आउनु स्वभाविक कुरो हो, तर यसको समाधानको उपाय निकाल्नु सट्टा संविधानलाई नै असफल बनाउनु कतिको देश हीतमा छ विचारणीय कुरो रहेछ । निष्कर्षमा जाँदा आगामी ४ गते मङ्सिरमा हुने निर्वाचनमा दुई समूह बीच नै टक्कर देखिन्छ । पहिलो समूह ५ दलीय गठबन्धन र दोश्रो समूह तीन दलीय गठबन्धन रहेका छन् । फ्रेन्च संसद जस्तो भोलि हुने हो कि प्रबल सम्भावना रहेको देखिन्छ । यदि संविधान संशोधन गरेर त्यस्तो दुईदलीय प्रणालीमा आउँछ भने अति उत्तम । १०० भन्दा बढी पार्टीहरूको किचकिचबाट छुटकारा पाउन सकिन्छ । आशा राखौं भोलि देशमा दक्षिण पन्थी र वामपन्थीहरू देश चलाओस् । इतिश्री । लेखक त्रिविका अवकाश–प्राप्त सह–प्राध्यापक तथा अन्वेषक हुनुहुन्छ ।