जनकपुरधाममा युवा अभियन्तामाथि प्रहरीले ज्यादती गरेको छ ।
बुधबार जानकी मन्दिर अगाडि फोहर सफा नगरेको विषयमा विरोध प्रदर्शन गर्दा प्रहरीले ज्यादती गरेको हो । घटनास्थलमा धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीप बहादुर क्षेत्री स्वयम पुगेका थिए । उनले आक्रोशपूर्ण भाषामा युवा अभियन्ताहरुलाई थर्काएर अपशब्द गालीसमेत गरेको युवाहरुको आरोप छ । डिएसपी क्षेत्री सादा पोशाकमै त्यहाँ पुगेका थिए । उनीसमक्ष युवाहरुले स्थानीय जनप्रतिनिधि आएर कुन कारणले फोहर सफा नभएको विषयमा वार्ता गर्नुपर्ने माग राखेका थिए । तर डिएसपी क्षेत्रीले चर्को स्वरमा गाली गलौज गरी लाठी चार्जसमेत गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । ‘प्रहरी, डिएसपी भएको व्यक्तिले घृणायुक्त भाषाको प्रयोग गरेका थिए । उनको आक्रोशले सीमा नाघेको थियो, ’एक युवाले भने, ‘उच्चारण गर्न नसक्ने शब्दहरु प्रयोग गरेर उनले युवाहरुलाई थर्काएका थिए । कपडा तानेर युवाहरुलाई उनले पिटेका थिए ।’ युवाहरु आफ्नो बचाउ गरी नारा लगाउँदा डिएसपीकै निर्देशनमा लाठी चार्जसमेत गरिएको थियो । प्रहरीको लाठी चार्जबाट केही युवालाई चोट पटक पनि लागेको छ । प्रहरीको कुटाइबाट उनीहरुको शरीरमा निल डाम बसेको छ । घाइते आठै जना युवालाई प्रहरीले अस्पताल नपु¥याएर नियन्त्रणमा लिइ जिल्ला प्रहरी लगेका थिए । यद्यपि प्रहरीले साँझ नियन्त्रणमा लिएका युवाहरुलाई थुनामुक्त गरेका छन् ।
उनले पत्रकार धनश्याम मिश्रमाथि पनि दुव्र्यवहार गरेका थिए । उनको मोवाइल पनि खोसिएको छ । नेपाल पत्रकार महासंघ धनुषा शाखाले पनि विज्ञप्ति जारी गरेर डिएसपी क्षेत्रीलाई सचेत गराएको छ । डिएसपी क्षेत्रीले घटनास्थलमा अमर्यादित गतिविधि गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । डिएसपी क्षेत्रीमाथि स्थानीय निर्वाचनमा समिम मियाँ अन्सारीको गलत क्रियाकलापको पृष्ठपोषण गरेको आरोप छ । अन्सारी एक उम्मेदवारको पैसा बाँडन आउने बेला उनकै नेतृत्वमा संरक्षण दिइएको थियो । डिएसपी आर्थिक प्रलोभनमा परी अन्सारीको साथ दिएका थिए । युवाहरुको एक समूह बिहान जानकी मन्दिर अगाडिको तेलहा मरहा पोखरी सफा गर्न पुगेका थिए । स्थानीयको समर्थन अनुसार युवाहरुले फोहर राख्ने ठाउँ नदेखेपछि सडकमै थुपारेका थिए । पछि जनप्रतिनिधिसँग वार्ता गरेर फोहर हटाउने युवाहरुको माग थियो ।


