२०७९ कार्तिक ४, शुक्रबार ०८:३८

सप्तरीको निर्वाचन क्षेत्र–२ को प्रदेशसभा ‘ख’ मा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ ।

४५ हजार ४ सय ७६ मतदाता रहेको यस क्षेत्रमा जनमत पार्टीबाट पूर्व माओवादी नेता महेश यादव, सत्तारुढ गठबन्धनबाट पूर्व मन्त्री एवं माओवादी नेता उमेश यादव, जसपाबाट लक्ष्मण यादव सहित १४ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । तर मुख्य प्रतिस्पर्धा उमेश,महेश र लक्ष्मणबीच नै हुने मतदाताको आकलन छ । यहाँबाट नेमकिपाका महिदेव चौधरी, राप्रपा नेपालका फुदन लाल खंग, राप्रपाका फुलेन्द मण्डल, नेपाल संघीय समाजवादी पार्टीका मो.परमुद, हाम्रो नेपाली पार्टीका खेलानन्द कुमार दास र स्वतन्त्रतर्फ शकुन्तला देवी यादव, रिंकु देवी यादव, गंगा राम यादव, निरज कुमार शाही र दुर्गानन्द यादव पनि च्ुनावी मैदानमा उत्रेका छन् । सबै उम्मेदवारले विकास निर्माण, सडक संजालको विस्तार, स्वास्थ्य, शिक्षा, कृषिको विकास र रोजगारीको विषयलाई आफ्नो प्रमुख चुनावी एजेण्डा बनाइ मतदातालाई आ–आफ्नो पक्षमा ल्याउन घरदैलो तथा कोठे बैठकमार्फत कसरत गरिरहेका छन् । यस क्षेत्रमा राजविराज नगरपालिकाको १६ वटा वडा तथा महदेवा गाउँपालिकाको २ वटा वडा पर्दछ । स्थानीयतहको निर्वाचनमा यस क्षेत्रमा जसपाले प्रमुख पदमा १० हजार ३ सय ४५ र एमालेले १ हजार ३ सय ८७ मत प्राप्त गरेको थियो ।

यस्तै, माअ‍ोवादीका प्रमुखका उम्मेदवारले ५ हजार ४ सय ४६, कांग्रेसका प्रमुखका उम्मेदवारले ४ हजार ७ सय ६७, लोसपाका प्रमुखका उम्मेदवारले ३ हजार ४ सय ८१, एकीकृत समाजवादीका प्रमुखका उम्मेदवारले २ हजार ८ सय ९० मत ल्याएका थिए । यस्तै, जनमत पार्टीका प्रमुख पदका उम्मेदवारले १ हजार १ सय ७ मत ल्याएको थिए । यस मतभारको आधारमा अहिले सत्ता गठबन्धनका उम्मेदवार बलियो देखिन्छ । अघिल्लो चुनावमा यस क्षेत्रबाट संघीय समाजवादी फोरम र राजपा गठबन्धनका साझा उम्मेदवार मनिष सुमन निर्वाचित भएका थिए । उनी यस पल्ट समानुपातिकतर्फका उम्मेदवार बनेका छन् । त्यतिबेला उनका निकटतम प्रतिद्वन्दी रहेका माओवादी केन्द्रका महेश यादव अहिले सो पार्टी त्यागेर जनमत पार्टीबाट उम्मेदवार बनी दोश्रो पल्ट चुनावी मैदानमा उत्रेका छन् । भारोत्तोलन संघ सप्तरीका अध्यक्षसमेत रहेका महेशको राजविराज नगरपालिका क्षेत्रमा राम्रै पकड भएको धेरैको आकलन छ । सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादीका उमेश यादव र जसपाका लक्ष्मण यादव पनि नगर क्षेत्रमा पकड बलियो बनाउन भरमग्दुर प्रयास गरिरहेका छन् । ग्रामीण क्षेत्रमा भने ३ वटै उम्मेदवारको मतभार उस्तै उस्तै रहेको प्रदेशसभा निर्वाचनलाई नजिकबाट नियालि रहेका राजनीतिक विशलेषकहरु बताउँछन् । एउटै पार्टीमा रहेका महेश र उमेश पछिल्लो केही वर्ष यता फरक गुटमा रहे पनि निर्वाचनमा पार्टी नै परिर्वतन गरी महेश सहयात्री उमेशको प्रतिस्पर्धी नै बनेर चुनावी प्रतिस्पर्धामा छन् । यसले उमेशलाई चुनौती थपिएको अनुमान गरिदै छ । यद्यपि सत्तारुढ गठबन्धनको साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा रहेका उमेश पनि उक्त चुनौतीको सामना गर्न आवश्यक रणनीतिका साथ घरदैलो र कोठे बैठकलाई घनीभूत बनाएका छन ।

यस क्षेत्रबाट जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार लक्ष्मण यादव पनि प्रतिस्पर्धामा छन् । पहिलो पल्ट प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनेका उनी मधेश आन्दोलनका क्रममा निकै चर्चामा रहे तर प्रमुख विपक्षी मानिएका एमालेसंग भएको गठबन्धन पार्टी भित्रकै केही नेता तथा तथा कार्यकर्तालाई मन परेको छैन । उनीहरुले एमालेसंग गरिएको गठबन्धनबाट पार्टीको सिद्धान्त, आदर्श, अठोट, संकल्प तथा मधेशी जनताको भावना विपरीत भएको भन्दै यसले पार्टीलाई क्षति पुग्ने बताइरहेका छन् । एमालेसंग गर्नु परेको गठबन्धनको कारणबारे कार्यकर्ता र मतदातालाई सम्झाउँदै लक्ष्मण पनि जित निकाल्ने दाउमा छन । उनको पनि मतभार राम्रै रहेकाले कमजोर मान्न नसकिने एकथरिको अनुमान छ । सबै उम्मेदवार र आवद्ध दलले वडा वडामा निर्वाचन परिचालन समितिको गठन र बैठक गरी देखिएको चुनौतीको सामना र मतदातालाई आ–आफनो पक्षमा कसरी तान्ने भन्ने विषयमा गम्भीर छलफल र निर्वाचन तयारीमा जुटेका छन् ।

Comment


Related News

Latest News

Trending News