तराई द्रतमार्ग निर्माणका लागि राखिएका फलामका सामग्री चोरी गरेको आरोपमा मकवानपुरबाट ४ जना पक्राउ परेका छन् । जिल्लाको बकैया गाउँपालिका-१२ जितपुरभञ्ज्याङमा फाष्ट ट्र्याक निर्माणका लागि राखिएको फलामको निर्माण सामग्री चोरी भएको हो ।
अस्थायी प्रहरी चौकी जितपुरबाट खटिएको टोलीले आरोपित चार जनासहित करिब १२-१३ क्वीन्टल फलामका सामग्रीहरू नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएका छन् ।
प्रहरीले बकैया गाउँपालिका-१२ कोलखोप घर भएका २२ वर्षीय अबिरल घलान, २४ वर्षीय दिनेश लामा बम्जन, ३२ वर्षीय नारायणबहादुर मोक्तान र मकवानपुरगढी गाउँपालिका-२ घर भएका ३३ वर्षीय इन्द्रबहादुर बिकलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार चोरी भएको उक्त फलामको सामग्रीहरू ना ५ ख १४४३ नम्बरको बोलेरो गाडिमा लैजाँदै गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको जनाइएको छ । चोरीको सामान बोकेर हिँडेको बोलेरो गाडिलाई गन्तव्यमा पुर्याउन अगाडि लागेको बा ५५ च ८५०२ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।


