२०७९ कार्तिक ५, शनिबार ०६:३५

चाडपर्वमा खर्च बढ्ने भए पनि मिथिलामा दीपावली र छठ गरिब र श्रमजीवीका लागि आर्जनको अवसर बन्ने गरेको छ ।

गरिब किसानका उत्पादनले महत्व पाउने र श्रमजीवीलाई पर्वविशेषसँग जोडिएका थप काम पाइने भएपछि यी पर्व आर्जनका खास अवसरसमेत बन्ने गरेका छन् । करेसाबारीमा लगाइएका फूल, अदुवा, ज्यामिर र केरालगायतका उत्पादनले यी चाडपर्वमा राम्रो मूल्य पाउँछन् । दीपावली पर्वमा व्यापारिक प्रतिष्ठानले लक्ष्मीपूजास्थल सजाउन केराका थामबाटद्वारा बनाउने चलन छ । यस प्रयोजनका लागि घर–करेसामा रहेका केराका थम बेचेर नै गरिब किसानले राम्रो आर्जन गर्ने अवसर पाउँछन् । “खासमा केराको झ्याङमा प्रतिझ्याङमा तीन वटाभन्दा बढी बोट राख्नु हुँदैन, बढी भएका थम उखालेर फ्याँक्नुपर्छ”, बर्दिबास नगरपालिका–९ पशुपतिनगरका किसान रामविनोद महतो भन्छन, “यो थम उखाल्ने काम हामी दीपावलीको मुखमा गर्छौँ, सबै फालिनुपर्ने थमको मूल्य पाइन्छ ।” केराका थमका लागि केही दिन पहिले नै लिनेदिनेले कुरा पक्कापक्की गर्ने यहाँको चलन छ । लक्ष्मीपूजाको एक दिन पहिले त चोकबजारमा केराका थमको बजार नै लाग्ने गरेको छ । केरा फल र थम दुबैको माग हुने दीपावली र केराका घरी नै छठपर्वमा कतिपयको भाकल हुने गर्छ । दीपावली र छठसँगसँगै जस्तो पर्नाले यी पर्वमा केराको खपत निकै बढ्ने गरेको छ । यसबाहेक ज्यामिर बोटसहित उखालिएको अदुवा, पातसहितको उखु पनि दुबै पर्वका पूजा सामग्री हुन् । थोरै जग्गा हुने गरिब किसानले आफ्नो घर–करेसामा लगाएका यी वनस्पतिबाट पर्वको अवसरमा राम्रो आर्जन गर्ने गरेका छन् ।

यस्तै अरु बेला दैनिक प्रयोजनमा प्रयोग गर्न छाडिएका बाँसका डाला, छिटी, नाङ्ला, चाल्नु र अन्य चोयाबाट बन्ने सामग्री र माटाका भाँडा कलश राख्ने गाग्रो, दही जमाउने छ् याँची, प्रसाद सामग्री राख्ने तौला र दियो बाल्ने दियौरी दीपावली र छठपर्वका खास सामग्री हुन् । अरुबेला यस्ता सामानको बिक्री हुन छाडे पनि यी पर्वमा बाँसको चोयाका सामग्री बुन्ने डोम र विन एवं माटाका भाँडा बनाउने कुम्हाल जाति समुदायको निकै व्यस्तता बढ्ने गरेको छ । दुबै पर्वको आर्जनले वर्षभरिको नगद जोहो गर्नुपर्ने हुँदा अहिले आफ्नो सीपको खास अवसर भएको यी जाति समुदायका गरिब बताउँछन् । पर्वमा घर रङरोगन गर्ने सीपका कामदारको पनि माग ह्वात्तै बढ्ने गरेको छ । दीपावलीको पक्ष सुरु भए पनि पर्व लाग्न अझै तीन–चार दिन बाँकी छ । यद्यपि पर्वमा माग हुने कृषि उपज र बनाइने अन्य सामग्रीबारे सोधखोज र चासो बढेको छ । पर्वका सामग्री किन्ने उपभोक्ताले यस्ता सामग्री खोज्ने, किन्ने र दामकाम पक्कापक्की गर्न थालेका देखिँदो छ । यसपालि अनुकूल वर्षा नहुँदा अपेक्षित धानबाली लगाउन नपाएर पिरोलिएका किसान अहिले पर्वविशेषमा महत्व पाउने आफ्ना कृषिउपज (अदुवा, उखु, ज्यामिर, केरा आदि) बेचेर पर्व टार्ने धुनमा देखिन्छन् । “आफ्नो त खासै जग्गा छैन हजुर, घर छेउको करेसाबारीमा थोरै अदुवा सपारेकी छु, एउटा बोट ज्यामिर लटरम्म फलेको छ”, भंगाहा नगरपालिका–४ रामनगरकी किसान मञ्जु कापर भन्छन, “दीपावलीमा यिनै उपज बेचेर आफ्नो पर्व खर्च जुट्ने विश्वासमा छु ।

” करेसाबारीको दुई–तीन धुर जग्गामा उखु पनि रहेको र पर्वमा उखुका लाँक्रा बिक्ने गरेको हुँदा दीपावली, छठ सहजै टार्ने मञ्जुको विश्वास छ । दीपावली र छठपर्व कृषिसँग अभिन्नरूपले जोडिएका यस भेगका पाका मैथिल बताउँछन् । मुख्य खेती लगाउने समय सकिएको र नयाँ बाली भित्र्याउने समयअघि पर्ने यी पर्व धनी– गरिब सबैका लागि खुसीको अवसर हुने गरेका पाका मैथिल बताउँछन् ।

Comment


Related News

Latest News

Trending News