२०७९ कार्तिक ५, शनिबार ०८:१८

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रचार– प्रसारमा उम्मेदवारहरु व्यस्त छन् । सभा गोष्ठी र औपचारिक कार्यक्रममा निर्वाचन आयोगले रोक लगाएपछि उम्मेदवारहरु अनौपचारिक रुपमै मतदाता भेटघाटलाई तीव्रता दिएका छन् । निकै चासोपूर्वक हेरिएको धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रमुख दलका उम्मेदवारहरु दुई गठबन्धन बनाएर प्रतिस्पर्धामा उत्रेका छन् ।

पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल झा उम्मेदवार छन् भने नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट जुली महतो उम्मेदवार छन् । दुबै नेता केन्द्रीय मन्त्री भइसकेका छन् । प्रमुख दलबाट यी दुई जना उम्मेदवार भए पनि यहाँ प्रतिनिधिसभाको लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये दश जना राजनीतिक दलबाट र २१ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस अघि यहाँ तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट राजेन्द्र महतो नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरी विजयी भएका थिए । तर, यस पटक नेता महतोले क्षेत्र परि र्वतन गरी आफ्नो ठाउँमा झालाई पठाएका छन् । त्यतिबेलाका निकटतम प्रतिद्धन्दी निधि पनि यस पटक प्रत्यक्ष निर्वाचनमा सहभागी छैनन्। ०७४ को निर्वाचनमा जुली पनि भाग लिइनन् । वाम गठबन्धनबाट उनले राम सिंहलाई उम्मेदवार बनाए पनि कांग्रेस नेता निधिलाई हराउन आन्तरिक रुपमा महतोलाई नै सहयोग गरेका सुनिएको थियो । निर्वाचित भएको ठाउँमा महतो स्वयम नआएर झालाई पठाउनु शंकाको विषय रहेको डा. सोहन साह बताउँछन् । साहको शंकालाई एमालेको नाराले पनि पुष्टि गर्दछ । एमाले समर्थकहरु यतिबेला पर्यटक उम्मेदवार हराउनु पर्ने नारा लगाइरहेका छन् । ‘उम्मेदवारी दर्ता हुनुभन्दा पहिले राजेन्द्र महतोले कर्जा उतार्न यस पटक यो क्षेत्रमा फिक्सिङ् गर्न सक्छन्, भनेर सुनिन्थ्यो,’उनले भने,‘महतोको उम्मेदवारी नपर्दा कता–कता जनतालाई त्यो कुरा सत्य लाग्न थालेको छ ।’ झालाई गठबन्धनकै भर झालाई जित निकाल्न गठबन्धनमै निर्भर हुनुपर्ने देखिन्छ । उनलाई गठबन्धनकै भर र गठन्धनकै डर छ ।

मुख्यत पाँच दलीय गठबन्धनको नेतृत्व गरिरहेका कांग्रेसको मत पाए लोसपा नेता झा र एमाले नेतृ महतोबीच कडा प्रतिस्पर्धा हुने सम्भावना देखिन्छ । तर यसअघि स्थानीय निर्वाचन अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसले गठबन्धनको उम्मेदवारसंग गरेको अन्तर्घातले लोसपा ‘डेन्जर जोन’मा रहेको डा. सोहनको विश्लेषण छ तर कांग्रेस नेता विमलेन्द्र निधि स्वयम् जनकपुरधाम आएर पाँच दलीय गठबन्धनको उम्मेदवारको लागि मत मागिरहेका छन् ।निधिले मागिरहेको मत सत्ता गठबन्धनका लागि अग्नि परीक्षा झै भएको छ । उपमहानगरपालिकाको कार्यपालिकाको चुनावमा निधिको भूमिका पार्टीको प्रतिकूल देखिएका कारण निधिको मत मगाइमा विश्वासको संकट देखापरेको छ । हुनत झाको जयपराजयसंग निधिको राजनीतिक भविष्य पनि गाँसिएकाले निधिका लागि पनि झालाई विजय गराउने गहन भूमिका निर्वाहको यथार्थालाई नकार्न सकिदैन अतः कांग्रेस र निधिका लागि झालाई विजयी गराउने दायित्व अग्नि परीक्षा सरह नै भएको छ । डा. साहका अनुसार मधेशवादी दलहरु जहिले पनि पहिचानको मुद्दासहित आन्दोलनको रापतापमा चुनावमा होमिदा राम्रो स्थान ल्याएका थिए । तर यस पटक त्यो अवस्था छैन् । ‘यस पटक मधेशको दुई तीन ठाउँबाट गलत सन्देश जान सक्छ । मधेश विरोधी भनेर प्रचार गरिएका दलसँग मधेशवादी दल चुनावी तालमेल गर्नु र मधेशको आधार स्तम्भ रहेको ठाउँमा एमालेलाई रातो कार्पेटमा स्वागत गर्नुले मधेशको बारेमा नराम्रो सन्देश जान सक्छन्,’उनले भने, ‘ कतिपय ठाउँमा मधेशवादी दलका नेताहरु व्यक्तिगत स्वार्थका कारण म्याच फिक्सिङ् गरेजस्तै गरेका छन् ।’ अनिल झाले गठबन्धनबाट ६० प्रतिशतभन्दा तल नै मत पाउने उनको अनुमान छ । ‘कांग्रेसले सधैं गठबन्धनसँग विश्वासघात गर्दै आएका छन् । त्यो नौलो कुरा होइन् । धनुषा ३ मा अनिल झाले पाँच दलीय गठबन्धनबाट ६० देखि ७० प्रतिशत सम्मको मत ल्याउन सक्छन्,’उनले भने, ‘बरु जातिगत मत बढी पाउन सक्छन् ।’ स्थानीय निर्वाचनमा दलहरुले पाएको मत केलाउँदा यस क्षेत्रमा कांग्रेस ठूलो दल छ । यहाँ ४१ वटा वडा छन् । १८ वटा वडामा कांग्रेसका उम्मेदवार विजयी छन् ।

एमाले दश र जसपा पाँच वडामा निर्वाचित छन् । स्थानीय तहमा कमजोर देखिएको लोसपालाई गठबन्धनभित्र कांग्रेसको मत नपाए प्रतिस्पर्धामा पनि नआउने बताइन्छ । स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको कुल मत हेर्दा कांग्रेस सबैभन्दा बढी शक्तिशाली देखिन्छ । कांग्रेसले स्थानीय निर्वाचनमा २३ हजार तीन सय ४९ मत ल्याएर पहिलो र १६ हजार एक सय ८९ मत ल्याएर एमाले पनि दोस्रो नम्बरमा छन् । तर पाँच दलिय गठबन्धनबाट उम्मेदवार उठाएका लोसपाले मात्र ८ हजार चार सय ९० मत पाएका छन् । यहाँ जसपाको ८ हजार दुई सय ४३ मत छ । त्यस क्षेत्रमा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारहरूले ३ हजार दुई सय ८३ मत पाउँदा माओवादी केन्द्रका वडाध्यक्षहरूले ६ सय ५६ मात्रै मत पाएका छन् ।

Comment


Related News

Latest News

Trending News