२०७९ कार्तिक ६, आईतवार ०८:००

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले बागी उम्मेदवारलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

शनिबार जनकपुरधाममा आयोजित पाँच दलीय गठबन्धनको भेलालाई सम्बोधन गर्दै उनले आधिकारीक उम्मेदवार नभएका नेतालाई पुनः उम्मेदवारी फिर्ता लिन आग्रह गरे । ‘गठबन्धनका नेताहरुबाट पनि केही कमजोरी भएको छ । जसका कारण कतिपय ठाउँमा बागी उम्मेदवार देखिएको छ,’उनले भने,‘समस्यालाई सम्पूर्ण रूपमा हल गर्नै पर्छ । अन्तिम पटक सम्झाउँ छौं, नमाने कारवाही गर्ने छौं । यो परिस्थितिमा रहन दिनु हुदैँन ।’ गठबन्धन एक ढिक्का हो भनेर सन्देश दिन बागी उमेदवारलाई फिर्ता लिइ देशलाई जोगाउनु पर्ने उनले उल्लेख गरे । कुन पार्टीले कति सिट ल्यायो त्यो महत्वपूर्ण नभएको भन्दै पाँच दलीय गठबन्धन विजयी गराउने ठूलो दायित्व रहेको उनले बताए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अहंकारीको संज्ञा दिए । ‘संविधानमा हस्ताक्षर गरेपछि बदलिए होला भन् ठन्या थियौ तर छैन,’उनले भने,‘ जुन संविधानमा हस्ताक्षर गरेको छ त्यसकै उल्लंघन ग¥यो ।’ मधेशी जनताको विरोधमा उनीहरुले गठबन्धन गरेको प्रचण्डले दाबी गरे । राष्ट्रपति विद्या देवी भण्डारीले पनि नागरिकता समस्या संविधान गर्न खोज्दा संविधान नै मिचेको उनको बुझाइ छ । ‘संविधानलाई मजाक बनाउने तत्वविरुद्ध एक जुट हुनुपर्छ । मधेशका बुद्धिजीविहरु, नागरिक समाज यो कुरा गाउँ गाउँमा गएर बुझाउनु पर्छ,’उनले निर्देशन दिदै भने,‘कम्तीमा बुवा आमा नेपाली भएको सन्तानले नागरिकता दिनुपर्छ । हामीले त्यही भएर नागरिकता विधेयक संघीय सदन र राष्ट्रिय सभाबाट दुई÷दुई पटक पास गरेर पठायौं । तर एमाले पास हुन् दिएनन् ।’ विगतमा एमालेले अध्यादेश ल्याएर नाटक गर्न खोजेको उनले उल्लेख गरे । संविधान रक्षा गर्न पाँच दल एक ढिक्का भएको उनको दाबी छ । तर अन्तिम समयमा जसपाले दोहोरो चरित्र देखाएको उनले बताए । जसपाको दोहोरो चरित्रकै कारण गठबन्धनमा नल्याइएको उनले बताए ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच अपवित्र गठबन्धन भएको टिप्पणी गरे । आसन्न निर्वाचनको लागि एमालेले गरेको गठबन्धन अपवित्र रहेको भन्दै उनले एमालेलाई परास्त गर्नुपर्ने बताए । ‘पाँच दलीय गठबन्धन मुलुकलाई संकटबाट बचाउन गरिएको छ । संविधानलाई बचाँउनका लागि गरिएको छ,’ उनले भने,‘त्यसकारण पाँच दलीय गठबन्धनको उद्देश्य पवित्र छ । तर एमाले जसपाको गठबन्धन अपवित्र हो । त्यहाँ संघीयता विरोधी तत्वहरू छन् । उनीहरूलाई परास्त गर्नुपर्छ ।’ नेपाली कांग्रेसका मधेश प्रदेश समितिका सभापति कृष्णा यादवको अधयक्षतामा भएको कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, आनन्द ढुंगाना, माओवादी नेता गिरिराजमणी पोखरेल, गणेश साह, मातृकाप्रसाद यादव र लोसपा नेता शरत सिंह भण्डारी, जितेन्द्र सोनलसहितको उपस्थिति रहेको थियो ।

मञ्चमा गएनन् यादव
पाँच दलीय गठबन्धनले आयोजना गरेको मधेश प्रदेश स्त्तरीय भेलामा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवलाई आसन ग्रहण गराइएनन् ।

शनिबार जनकपुरधामस्थित कार्यक्रममा अध्यक्ष राय उपस्थित भए पनि उनलाई आसन ग्रहण गराइएनन् । दुई वक्ताले मन्तव्य दिइसकेपछि उद्घोषकले उनलाई आसन ग्रहण गर्न अनुरोध गरेका थिए । तर उद्घोषकले उनलाई नेपाल समाजवादीका सह–अध्यक्ष भनेर सम्बोधन गर्दा उनी मञ्चमा गएनन् । त्यस लगत्तै पुनः मन्तव्यका लागि उनलाई आग्रह गरिएको थियो । तर उनी पुगेनन् । आसन ग्रहण नगराए पनि अध्यक्ष राय कार्यक्रममा पूर्ण समय सहभागी थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले सम्बोधन गर्ने समयमा कार्यक्रममा त्रुटि भएको स्वीकार गर्दै अध्यक्ष रायलाई निरास नबन्न आग्रह गरे । लोसपा नेता राजेन्द्र महतो र अध्यक्ष रायबीच आधिकारीक उम्मेदवारको विवाद थियो । तर पछिल्लो समय पाँच दलीय गठबन्धनले आधिकारीक उम्मेदवार राय नै भएको जनाइसकेका छन् । सोही कारण गठबन्धनको संयुक्त भेलमा राजेन्द्र महतो र महन्थ ठाकुर अनुपस्थित थिए ।

Comment


Related News

Latest News

Trending News