प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा तीन पूर्वमन्त्री उम्मेदवार रहेका छन् । यहाँ दुबै गठबन्धनले सहमति गर्न नसक्दा प्रमुख चार दलका उम्मेदवार प्रतिनिधिसभाको लागि प्रतिस्पर्धामा छन् । अन्तिम समयमा नेकपा एमाले– जनता समाजवादी पार्टी (जसपा)बीच पनि गठबन्धन हुने सकेनन् भने पाँच दलीय गठबन्धनमा पनि दुई दलको दाबीका कारण सहमति हुन सकेनन् । त्यसपछि कांग्रेसले तीन दलबीच तालमेल गरी गठबन्धनका एकीकृत समाजवादीसंग मित्रवत् प्रतिस्पर्धा गरिरहेका छन् ।
कांग्रेसले प्रदेशसभामा एक सीट लोसपा र एक सीट माओवादीलाई दिएर तालमेल गरेका छन् । कांग्रेस, लोसपा र नेकपा माओवादी केन्द्रको गठबन्धनले यहाँ प्रतिनिधिसभातर्फ कांग्रेसका पूर्वमन्त्री रामकृष्ण यादवलाई उम्मेदवार बनाएका छन् । प्रदेशसभातर्फ ‘क’मा लोसपाका सञ्जय साह र ‘ख’ मा नेकपा माओवादी केन्द्रका श्याम यादव उम्मेदवार छन् । प्रतिनिधिसभाका उम्मेदवार यादव ०६४ र ०७० मा संविधान सभाको चुनाव जितेका थिए । ०७४ मा उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा कृषि मन्त्री बनेका थिए । ०७४ को निर्वाचनमा उनलाई संघीय समाजवादी फोरमका उम्मेदवार उमाशंकर अरगरियाले पराजित गरेका थिए । अरगरिया अहिले नेकपा एमालेबाट उम्मेदवार छन् । अरगरिया तीन वटा निर्वाचनमा चार वटा पार्टी परिर्वतन गरिसकेका छन् । ०७० को निर्वाचनमा उनी तत्कालीन निर्वाचन क्षेत्र नम्बर १ मा विजय गच्छेदार नेतृत्वको मधेशी जन अधिकार फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका थिए । ०७४ को चुनाव हुनुभन्दा केही दिन पहिले मात्रै उनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम प्रवेश गरेका थिए । सो चुनावमा उनले ३२ हजार बढी मत ल्याएर नेकपा माओवादी केन्द्रका उम्मेदवार रामचन्द्र झालाई पराजित गरेका थिए । त्यसपछि उपेन्द्र नेतृत्वको पार्टी र महन्थ ठाकुर अध्यक्ष रहेको राजपाबीच एकीकरण भएको थियो । डेढ वर्षभित्रै यी पार्टी पुनः टुक्रिए । त्यसपछि अरगरियाले लोसपा रोजे । केही दिन अघि उनी लोसपा त्यागेर एमाले प्रवेश गरी अहिले एमालेबाट उम्मेदवार बनेका छन् । ०७४ मा उमाशंकरसंग पराजित भएका झा अहिले नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवार बनेका छन् । उनी त्यतिबेला बाम गठबन्धनका साझा उम्मेदवार थिए । झा हालसम्म पाँच पटक उम्मेदवार बनेका छन् । तीन पटक निर्वाचत भएका छन् भने दुई पटक पराजित भएका छन् । ०६४ मा उनी निर्वाचित हुँदा मन्त्रीसमेत बनेका थिए ।
अंक गणितमा को अब्बल ?
यस क्षेत्रमा उमाशंकर जित दोहो¥याउने रणनीतिमा छन् भने रामकृष्ण उमाशंकरलाई हराएर ०७४ को बदला लिने तयारीमा छन् । रामचन्द्र झा पनि जित हात पारेर आफूलाई पुनः स्थापित गर्न जोडबल गरिरहेका छन् । उनीहरू मत आफ्नो पक्षमा ल्याउन अहोरात्र मेहनत गरिरहेका छन् । अर्कोतर्फ एमालेले अरगरियालाई प्रवेश गराएपछि एमाले पुराना नेता कार्यकर्ता रुष्ट भएका छन् । एमालेकै प्रभावशाली नेता गंगाराम यादव अहिले जसपाबाट उम्मेदवार बनेका छन् । स्थानीय स्त्तरमा उनको पनि पकड राम्रो मानिन्छ । उनी एमालेका पुराना नेता थिए । उम्मेदवारको पार्टी फेरबदलले केही असर गर्ने अनुमान गरिएको छ । यस क्षेत्रमा ४४ वटा वडा छन् । यहाँ कांग्रेस १९, माओवादी सात, जसपा ६ एमाले ६ र नेकपा एस तीन वटा वडामा जितेको छ । एक वडामा लोसपा र बाकीमा स्वतन्त्र उम्मेदवार विजयी छन् । ६ पालिका रहेको यस क्षेत्रमा एमाले, जसपा र कांग्रेसले समान दुई/दुई वटा पालिका प्रमुख जितेका छन् । यद्यपि, कांग्रेसले जितेको पालिकाको केही वडा मात्रै यस निर्वाचन क्षेत्रमा छन् । स्थानीय चुनावमा कांग्रेसले यहाँ २१ हजार दुईसय ३२ मत ल्याएर ठूलो दल बनेको छ । जसपाले १३ हजार आठसय ८९, एमालेले ११ हजार पाँचसय ८३, माओवादी केन्द्रले १० हजार सातसय ९४, एकीकृत समाजवादीले आठ हजार नौसय ९७ र लोकतान्तिक समाजवादी पार्टीले छ हजार सातसय मत पाएको देखिन्छ ।
Please subscribe our official youtube channel below and support us.


