चुनावी सरगर्मी बढिरहँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गर्ने क्रम बढेको छ ।
चुनावी गठबन्धनमा पार्टीले थोरै सीटमा तालमेल गरेका कारण असन्तुष्ट नेता तथा कार्यकर्ताहरु धमाधम पार्टी परित्याग गर्न थालेका छन् । यसअघि छिटफुट रुपमा पार्टी परित्याग गर्दै आए पनि सप्तरीको राजविराजमा आइतबार आयोजित एक कार्यक्रमकाबीच केन्द्र तथा जिल्ला नेताहरु परित्याग गर्दै जसपामा प्रवेश गरेका छन् । लोसपाका केन्द्रीय नेता शैलेश कुमार चौधरी, केन्द्रीय नेता एवम् मधेश बाहिनी रक्षा दलको पूर्व अध्यक्ष वीनोद कुमार यादव, केन्द्रीय सदस्य पुनम यादव लगायतका दर्जनौं नेता तथा कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छन् । यसैगरी सप्तरी उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष शंकर दास, नेकपा एसको प्रदेश सचिवालय सदस्य अरुण देव लगायतका नेताहरु जसपामा प्रवेश गरेको जिल्ला अध्यक्ष केदार यादवले जानकारी दिए । नव प्रवेशी पुनम यादवको नाम लोसपाले समानुपातिक सूचीमासमेत नाम १४औं नम्बरमा सिफारिस गरेको छ । नेता चौधरी, वीनोद र पुनम मधेश मुक्ति आन्दोलनका चर्चित अनुहार छन् ।
नव प्रवेशीहरुलाई अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय नेता एवम् राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, पार्टीका प्रवक्ता मनिष सुमन लगायतले स्वागत गरेका थिए । मधेश केन्द्रित शक्तिहरुसँग चुनावी तालमेल नगरी केही नेताहरुले व्यक्तिगत स्वार्थका कारण प्रलोभनमा परी थोरै सीटमा सम्झौता गरेर पार्टीलाई नै सिध्याउने काम गरेको नवप्रवेशीहरुको आरोप छ । अन्य पार्टीहरुबाट जसपा प्रवेश गर्ने लहरका कारण जसपा शक्तिशाली बन्दै गएको छ । सप्तरी २ बाट प्रतिनिधि सदस्यमा उम्मेदवारी दिएका अध्यक्ष यादवले सप्तरीमा कार्यकर्ता भेला, भेटघाट, छलफल तथा पार्टी प्रवेश कार्यक्रमलाई तीव्रता दिएका छन् । प्रतिनिधिसभा सदस्यमामा निर्वाचित भएपछि नर्सिङ्ग कलेज, इन्जिनियरिङ्ग कलेज, रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय सय शैय् याको अस्पताललाई ४ सय २० बेडको सुविधा सम्पन्न अस्पताल, सडक सञ्जाल विस्तार, विद्यालय भवन निर्माण लगायत विभिन्न ४२ ओटा कामहरु गरेका छन् । तीमध्ये केही काम पूरा पनि भइसकेको छ भने बाँकी निर्माणका क्रममा रहेका छन् । यस अघि लोसपाबाटै तिलाठी कोइलाडीका पूर्व मेयरसमेत रहेका युवा नेता सतीश कुमार सिंहको नेतृत्वमा केही नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरेका थिए । उनी जनमत पार्टीबाट प्रदेश सभा सदस्यमा सप्तरी २ क बाट उम्मेदवार बनेका छन् ।


