राजविराज । प्रतिनिधिसभा सदस्यका लागि सप्तरी–२ का लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जयप्रकाश ठाकुरले पार्टी भन्दा फरक ढंगले २६ बुँदे प्रतिबद्धता पत्र आइतवार सार्वजनिक गरेका छन् ।
ठाकुरले वैदेशिक रोजगारीलाई निरुत्साहित गर्ने र आफ्नै भूमिमा रोजगारी सिर्जना गर्न सीपमूलक तालिम र आयआर्जनका विभिन्न कार्यक्रम सञ्चालनमा ल्याउने प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् । उनले उद्योगविहीन रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा उद्योगहरु स्थापना गरिने वातावरण निर्माण गर्ने संकल्प गरेका छन् । प्रतिबद्धता पत्रमा रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार निर्माण कार्यलाई विशेष प्राथमिकताका साथ उल्लेख गरिएको छ । सीमावर्ती भारतको निर्मलीसम्म पुगेको रेल सेवालाई भारत सरकारसंग पहल गरी जिल्लासम्म बिस्तार गर्ने, गजेन्द्र नारायण सिंह अस्पताल र महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको स्तरोन्ति, राजविराजमा व्यवस्थित बस पार्कको संचालन, गजेन्द्र नारायण सिंह संग्राहालय र प्राविधिक शिक्षा तालिम केन्द्रको स्थापना उनको प्रतिबद्धतापत्रमा समेटिएको छ । राजरंगशालाको स्तरोन्ति, राजविराजमा अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानको निर्माण, पत्रकारिता क्षेत्रको विकासका लागि विशेष कार्यक्रम, सिंचाईको उचित प्रवन्ध, प्रत्येक वडामा स्टेट बोरिङ, समयमै मलखाद बीउबिजनको व्यवस्था, गाउँ तथा नगर ब्लकका जग्गाधनीलाई लाल पूर्जाको व्यवस्थापन, रोजगारी सृजनाका लागि कम्तीमा एक हजार बेरोजगार युवालाई रोजगारीका लागि विभिन्न योजनाको कार्यान्वयन लगायतका मुद्दालाई पनि उनले प्राथमिकतामा राखेका छन् ।
त्यस्तै, यस क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसितको प्रतिस्पर्धामा ठाकुर सर्वाधिक चर्चामा छन् । जसपाका अध्यक्ष यादवले राउतलाई भन्दा ठाकुरलाई प्रमुख प्रतिद्वन्दी मानेका छन् । सत्तारुढ गठबन्धनको इमान्दारीपूर्ण समर्थन पाएका ठाकुरले जित निकाल्न सक्ने विश्वास व्यक्त गरेका छन् ।


