पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ चर्चामा छ । जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का लक्ष्मणलाल कर्ण र कांग्रेसका विद्रोही अजय द्विवेदीबीच त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको छ ।
एमालेसितको गठबन्धनबाट जसपाका उम्मेदवार यादव निवर्तमान सांसद हुन् ।उनी चुनावी अभियानलाई सर्वाधिक तीव्र बनाएका छन् । तर विश्लेषकहरुका अनुसार जित निकाल्न उनलाई सकस छ । सत्तारुढ गठबन्धनबाट लोसपाका उम्मेदवार लक्ष्मण लाल कर्ण प्रचारको क्रममा केही कमजोर देखिएका छन् । तर उनले उठाएको नागरिकता विधेयक सम्बन्धी मुद्दाले यादवलाई ठूलो धक्का दिने देखिएको छ । कर्णका लागि नेपाली कांग्रेसका युवा नेता अजय द्विवेदीको विद्रोह भारी भएकोछ । चुनावमा द्विवेदी निर्णायक हुन सक्ने अनुमान गर्न थालिएको छ । २०७४ सालको आमनिर्वाचनमा कर्णले निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनाव जितेका थिए । यस पटक उनी क्षेत्र फेरेर १ नम्बरमा आएका छन् । यादव र द्विवेदी सो क्षेत्रका राजनीतिकर्मी हुन् । कांग्रेसले द्विवेदीको पक्षमा लागे कर्णलाई कठिन हुनेछ । यादवलाई सहज हुन सक्छ । तर यादव हराउ अभियानमा सकृय रहेकाहरुले द्विवेदी र कर्ण मध्ये अग्रता लिएकालाई सघाउने सोचमा छन् । यादवका लागि मुख्यमन्त्री राउत पनि सहयोगी हुन सकेका छैनन् । राउतसित वीरगञ्जका बासिन्दाहरु सन्तुष्ट छैनन् । उनले वीरगञ्जलाई प्रदेशको राजधानीका लागि सकारात्मक पहल नगरेको आरोप खेप्नु परिरहेको छ । एमालेसितको गठबन्धन पनि यादवका लागि समस्या देखिएको छ । जन्मसिद्धका सन्तानलाई वंशज नागरिकता र वैवाहिक अंगीकृत नागरिकता तत्काल दिनुपर्ने मागका लागि सदनदेखि अदालत सम्म पुगेका निवर्तमान सांसद यादव एमालेसितको गठबन्धनबाट उम्मेदवार हुँदा त्यो मुद्दालाई बिर्सेका छन् । विपक्षी उम्मेदवारहरुले नागरिकता सम्बन्धी विधेयक पारित नहुनुको प्रमुख बाधक एमाले र त्यसका मतियार जसपा रहेको प्रचारलाई जोड दिएका छन् । उनीहरुले एमालेलाई जसपाले भित्रैबाट सहयोग गरेर नागरिकता सम्बन्धी विधेयकमा अवरोध गरेको आरोप लगाउने गरेका छन् ।
मधेश प्रदेशमा नागरिकता सम्बन्धी विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि आन्दोलन भएको थियो । जसपाले थालेको सो आन्दोलन एमालेसित सहकार्यका लागि छलफल सुरु भए लगतै सेलाएको थियो । वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्ष कुर्नुपर्ने र जन्मसिद्धका सन्तानलाई वंशज नागरिकता दिन नहुने पक्षमा एमाले रहेको छ । सत्तारुढ गठबन्धनबाट १ को ख मा नेपाली कांग्रेसका रामनारायण कुर्मी प्रदेशमा उम्मेदवार छन् । एमालेसितको गठबन्धनबाट जसपाका लालबाबु राउत प्रतिस्पर्धामा छन् । स्वतन्त्र उम्मेदवारी दिएका शशिकपुर मियाँले राउतलाई सर्वाधिक क्षति पु¥याउने संभावना रहेको स्थानीयहरुको कथन छ । कुर्मी र मियाँले राउत विरुद्ध भ्रष्टाचार लगायत अनेक आरोप लगाउने गरेका छन् । त्यसैगरी क बाट सत्तारुढ गठबन्धनबाट माओवादीका रहवर अन्सारीले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । जसपा गठबन्धनबाट एमालेका बिचारी यादव उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारी दिएका जन्नत अन्सारीपनि प्रतिस्पर्धामा रहेका छन् । प्रदेश सभाका उम्मेदवार र प्रतिनिधि सभाका उम्मेदवार गठबन्धनबाट रहे पनि व्यक्तिगत हितलाई प्राथमिकता दिएर प्रचार प्रसारमा उत्रेका छन् । प्रदेशका उम्मेदवारले गर्ने प्रचारमा प्रतिनिधि सभा सदस्यलाइ दिने महत्वजति प्रतिनिधि सभाका उम्मेदवारहरुले दिएको देखिदैन् । प्रतिनिधि सभा सदस्यमा यादवलाई सकस छ । द्विवेदीको उम्मेदवारीले कर्णलाई केही कमजोर बनाइएको अनुमान गरिएको छ । तर लोसपाले द्विवेदीको उम्मेदवारीबाट कुनै फरक नपर्ने दाबी गरिरहेको छ ।


