
महोत्तरी जिल्लाको भंगहा नगरपालिकाको वडा नम्बर ८ पररियामा बिहीबार दुई समुदायबीच भएको झडपमा गोली लागेर एकजनाको हात काटिएको छ ।
डीएसपी सहित झण्डै तीन दर्जन घाइते भएका छन् । स्थितिलाई नियन्त्रण गर्न भँगहा नगरपालिकामा कफ्र्यु आदेश जारी गरिएको छ । हिन्दू सम्राट सेनाले शोभायात्रा निकालेको बेला दुई समुदायबीच झडप भएको प्रहरीले जनाएको छ । महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद पंगेनीले जनाए अनुसार शोभा यात्रा पररियाको मुख्य चोकस्थित गोलम्बरमा पुगेपछि झडप भएको थियो । नजिकैको दुई तले घरको छतबाट महिलासमेतले ढुंगामुढा गर्न थालेपछि डीएसपी चन्देश्वर यादव सहित ९ जना सुरक्षाकर्मी र दुई दर्जन बढी सर्वसाधारण घाइते भएको उनले जनाए । स्थितिलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको, अश्रुग्यास र हवाईफायर गर्नु परेको घाइते डीएसपी यादवले बताए । प्रहरीले चलाएको गोली हातमा लागेर घाइते भएका मो. इम्तियाज राइनको उपचारको क्रममा हात काटिएको छ । ढुंगा लागेर टाउको फुटेको मो. मन्नु राइनको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) चन्देश्वर यादवका अनुसार हिन्दु सेना सम्राटका कार्यकर्ताहरुले पूर्व निर्धारित कार्यक्रम अनुसार शोभा यात्रा निकालेका थिए । ‘बिहान करिब १० बजेको समयमा हिन्दु सेना सम्राटले शोभा यात्रा निकालेकाले दुबै समूहबीच झडप भएको थियो’ उनले भने, दुबैतर्फबाट भएको ढुंगामुढाको क्रममा प्रहरीले ३१ राउण्ड हवाई फायर गरेका थिए । केही राउण्ड टियर ग्यास फायर गरिएको थियो । जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट पूर्व अनुमति लिएर हिन्दू सम्राटले शोभा यात्रा निकालेको बताइएको छ । शोभा यात्राको क्रममा झडप हुन नदिन डीएसपी यादवको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो । शोभा यात्रा गाउँको चोकमा रहेको गोलम्बरमा पुगेर झण्डा गाड्न खोज्दा छेउका घरहरुको छानाबाट अन्धाधुन्ध ढुंगामुढा गरिएको स्थानीय प्रत्यक्षदर्शीहरुले जनाए । छतमा पहिलेदेखि नै ढुंगा र इँटाका टुक्राहरु थुपारिएको उनीहरुको कथन छ । छतबाट प्रहार गरिएको ढुंगाले डीएसपीको हात र टाउकोमा चोट लागेको बताइएको छ । उनको हात सुनिएको छ । लामो समय दुईतर्फी नै ढुंगामुढा भएको थियो ।

पररियामा शान्तिसुरक्षाको स्थितिलाई नखल्बलाउन हिन्दू र मुस्लिम पक्षसित छुट्टाछुट्टै छलफल गरिएको बताउँदै एसपी पंगेनीले भने, दुबै पक्षले विवाद सृजना हुन नदिने प्रतिबद्धता जनाएका थिए । स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेकोछ । शान्ति सुरक्षा कायम गर्न दिउँसो ४ बजेदेखि अर्को आदेश नहुञ्जेल सम्मका लागि कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासनको सूचनामा उल्लेख छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले स्थितिलाई सामान्य बनाउन दुबै समुदायका अगुवा र स्थानीय जनप्रतिनिधिहरुसित संवाद भइरहेको बताए । प्रमुख जिल्ला अधिकार पहाडीद्वारा जारी कफ्र्यु आदेशमा सम्प्रदायिक सद् भावमा खलल पुग्ने गरी दुई पक्षबीच झडप भएको जनाइएको छ । कफ्र्यु जारी भएका स्थानमा भेला, जुलुस, प्रदर्शन, घेराउ, ¥याली र सभा नगर्न प्रशासनको आदेशमा भनिएको छ । कफ्र्यु उल्लंघन हुने कार्य गरेमा कडा कारबाही हुने प्रशासनले चेतावनी दिएको छ । हिन्दूहरुको छठ पर्व आएको र चुनावको प्रचारप्रसार तीव्र हुन थालेको बेला भएको दुई समुदायबीचको झडपले तनाव बढाएको छ । शुक्रबार हिन्दूहरुको छठ पर्वको पवित्र स्नान र चोखो खाने दिन हो । शनिबार खरना र आईतवार सन्ध्या अर्घ हुनेछ । प्रतिनिधि र प्रदेश सभा चुनावको प्रचारप्रसार पनि तीव्र बन्न थालेको छ । उम्मेदवारहरुले घरदैलो गरिरहेको अवस्थामा कफ्र्यु आदेश जारी भएको छ । पररिया महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । त्यहाँबाट सत्तारुढ गठबन्धनबाट लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारी, जसपा गठबन्धनबाट एमालेका डा. रामपरीक्षण यादव र गठबन्धन बाहिरबाट तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का वरिष्ठ नेता डा.विजय कुमार सिंह प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुन् । कतिपयले घटनालाई चुनावसित पनि जोडेर हेरिरहेका छन् ।
please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=CYDNeQF_pZo