पर्साको निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरु मतदातासंगको घरदैलोमा व्यस्त देखिएका छन् ।
दिनहु चुनावी घरदैलो गर्दै आएका कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्य उम्मेदवार श्याम पटेलले विहानैदेखि मतदाताको घरदैलोमा पुगेर आफनो पक्षमा मत माग्ने गरेका छन् । शुक्रबार बिहान पर्सागढी नगरपालिका वडा नम्बर ५ को बहुअर्वा , पचरुखी र हर्दिया गाँउमा पुगेका चौरसिया र पटेललाई स्थानीयले अबीरको टिका र माला लगाउदै जितको आशीर्वाद नै दिएका छन् । पर्सागढी ५ मा शुक्रबार चुनावी घरदैलोका क्रममा खासगरी गृहिणी महिलाहरुले स्वस्फूर्त रुपमा घरघरबाट निस्किएर दुबै उम्मेदवारलाई अबीरको टिका र फूलको माला लगाउदै जितको आशीर्वाद दिएको कांग्रेसका क्षेत्रीय सचिव रञ्जित पटेलले बताए । गृहिणी महिला , वृद्धवृद्धा र युवाहरुले दर्शाएको आत्मीयता र समर्थनले आफूहरु निकै उत्साहित बनेको प्रतिनिधीसभा सदस्य उम्मेदवार चौरसियाले सन्चारकर्मीलाई प्रतिक्रिया दिए ।
मतदाताको माझबाटै उनले भने ,‘ आज जनताले गरिरहेको यो समर्थन विगतमा मैले यस क्षेत्रमा कामको मूल्यांकन नै हो , अबका दिन अझ जनतामा समर्पित भएर काम गर्ने अठोट लिएको छु , जनताको भरोसा कदापि टुट्न दिन्न । यस्तै, प्रदेशसभा सदस्य उम्मेदवार पटेलले पनि जनताबाट पाइरहेको स्वागत र समर्थनले जिम्मेवारी झन बढेको महसुस गरिरहेको प्रतिक्रिया दिए । उनले भने ,‘ जनता अब धेरै सचेत भइसकेका छन् , जनताको अबको रोजाइ भाषण गर्ने होइन काम गर्ने नेता नै हुन्छन् ।


