
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि मधेश प्रदेशका क्षेत्रहरुमा विवाद कायमै देखिएको छ ।
निर्वाचन हुन २२ दिन बाँकी रहेको र उम्मेदवारहरुले आफ्नो प्रचार प्रसारलाई तीव्रता दिएको अवस्थामा गठबन्धनले निर्णय गर्न सकेको छैन् । मधेश प्रदेशमा ३२ प्रतिनिधिसभा तथा ६४ प्रदेश सभा रहेको मधेश प्रदेशको धनुषा २ र सर्लाही २ मा प्रतिनिधिसभातर्फ तथा सिरहा ३ को (ख), महोत्तरी २ को (क), सर्लाही १ को (क) र बारा १ को (ख)मा उम्मेदवार सम्वन्धी अन्तिम निर्णय हुन सकेको छैन् । कतै छलफल जारी छ भने कतै मित्रवत् प्रतिस्पर्धा गर्ने गठबन्धनले जनाएको छ । प्रतिनिधिसभातर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट रामकृष्ण यादव र नेकपा एकीकृत समाजवादी पार्टीका नेता रामचन्द्र झा बीच गठबन्धन भित्रै प्रतिस्पर्धा देखिएको छ । यस क्षेत्रमा माओवादी केन्द्र र लोसपा कुन उम्मेदवार तिर जान्छ त्यसको पक्ष बलियो हुने देखिन्छ । त्यस्तै सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ गठबन्धनकै दुई उम्मेदवार प्रतिस्पर्धामा छन् ।

माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचनमा आएका महिन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोबीच प्रतिस्पर्धा देखिएको छ । महिन्द्र त्यो क्षेत्रबाट गत निर्वाचनमा तत्कालीन राजपाबाट निर्वाचित भएका थिए भने महतो धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट गत निर्वाचनमा राजपाबाटै बिजयी भएका थिए । महतोले गत निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन उप–सभापति विमलेन्द्र निधिलाई पराजित गरेका थिए । यी दुबै क्षेत्रमा गठबन्धनले ठोस निर्णय गर्न सकेको छैन् । गठबन्धनले निर्णय गर्न नसक्दा धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा एमालेले बाजी मार्न सक्ने सम्भावना बढेको छ भने माओवादी केन्द्र र लोसपाका मतदाताहरुको झुकावले पनि उम्मेदवारको विजयी हुने सम्भावना बढाउने छ । तर गत निर्वाचनमा अरगरियाले यादव र झालाई पराजित गरेका थिए । प्रदेश सभा तर्फ सिरहा ३ (ख) मा विवाद देखिएको छ । ३ को (ख) मा नेपाली कांग्रेसका संजयप्रकाश यादव र नेकपा एकीकृत समाजवादीका प्रमोद यादवले उम्मेदवारी दर्ता गराएपछि गठबन्धनले एक जनालाई निष्कृय बनाउन छलफल जारी राखेको जनाएको छ । त्यस्तै महोत्तरी २ (क)मा नेकपा एसवाट मञ्जु यादव र लोसपाका जयलुन राइनले उम्मेदवारी दर्ता गराएको र गठबन्धनले यहाँ पनि उम्मेदवारी जारी राखेको जनाएको छ । जयलुन त्यो क्षेत्रबाट गत निर्वाचनमा विजयी भएका थिए भने मञ्जु नेकपा एमालेबाट समानुपातिक प्रदेश सांसद थिए । नेकपा एमाले विभाजन भएपछि उनी नेकपा एसमा आएकी छन् ।
गठबन्धन र लोसपा बीच भएको सहमति अनुसार महोत्तरीको २ नम्बर क्षेत्रको प्रतिनिधिसभा र प्रदेशतर्फ (क) लोसपालाई दिने सहमति भए पनि मञ्जुले नेकपा एसबाट उम्मेदवारी दर्ता गराएपछि उनको उम्मेदवारीमाथि छलफल जारी रहेको गठबन्धनले जनाएको छ । सर्लाही निर्वाचन क्षेत्र नम्बर १ (क) मा पनि गठबन्धन भित्र विवाद देखिएको छ । तर, गठबन्धनले त्यो क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएको छ । त्यो क्षेत्रमा माओवादी केन्द्रका रामचन्द्र सिंह कुशवाहा र लोसपाबाट उपेन्द्र महतो चुनावी प्रतिस्पर्धामा छन् । महतो गत निर्वाचनमा विजयी भएका थिए । लोसपा नेता महतो माओवादी नेता सिंह भन्दा बलियो देखिए पनि उनी सांसद हुँदा त्यो क्षेत्रमा जनताको इच्छा बमोजिम काम गर्न नसकेको गुनासो धेरै रहेका कारण उनी भन्दा सिंह बलियो स्थितिमा देखिएका छन् । त्यस्तै बारा १ (ख) मा पनि गठबन्धनले ठोस निर्णय गर्न सकेको छैन् । बारा १ बाट प्रतिनिधिसभाकालागि नेपाली कांग्रेसका उमाकान्त चौधरीलाई गठबन्धनले उम्मेदवार बनाएको छ भने प्रदेश सभातर्फ (ख)मा नेपाली कांग्रेसका नागेन्द्रप्रसाद कानु र नेकपा एसका बहुत यादव आ–आफ्नो अडान कायम राखेका छन् । गठबन्धनले यहाँ पनि मित्रवत् प्रतिस्पर्धा हुने जनाएको छ । गठबन्धनले ठोस निर्णय गर्न नसकेपछि त्यसको प्रभाव भने आगामी निर्वाचनमा पर्न सक्ने देखिन्छ । नेकपा एमाले–जसपा गठबन्धन यस क्षेत्रहरुमा पाँच दलीय गठबन्धनका उम्मेदवारहरुलाई उछिन्न सक्ने देखिएको छ ।