सप्तरीको छिन्नमस्ता र अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा सोमबार विभिन्न पार्टी परित्याग गरी सयौं नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।
छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ का स्वतन्त्र उम्मेदवार प्रमोद कुमार यादवको नेतृत्वमा युवाहरु जसपा प्रवेश गरेका छन् । घरदैलो अभियानमा रहेका जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार उपेन्द्र यादवले नवप्रवेशीहरुलाई टिका लगाएर स्वागत गरेका छन् । पार्टीका केन्द्रीय सदस्यम एवम् मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य अशोक यादव, मधेश प्रदेशका मुख्यसचिव दिनेश कुमार यादव, जिल्ला अध्यक्ष केदार प्रसाद यादव लगायतले पूmल माला अबीर लगाएर पार्टी प्रवेश गराएको विद्यार्थी नेता श्यामकुमार यादवले जानकारी दिए । यसैगरी छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदको उम्मेदवार रामलखन यादवको नेतृत्वमा समेत दर्जनौं नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी अध्यक्ष यादवले टिका लगाएर स्वागत गरेका छन् ।
यसैगरी सप्तरी क्षेत्र नम्बर १ को अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नंम्बर ३ स्थित हरिहरपुरमा नेपाली, कांग्रेस, माओवादी परित्याग गरी सयौं नेता तथा कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका छन् । जसपा प्रवेश गर्नेहरूमा नेपाली कांग्रेसका भोगेन्द्र चौधरी, अन्जना कुमारी चौधरी लगायत छन् । नव प्रवेशीहरुलाई जसपाका केन्द्रीय कार्यकारिणी सदस्य एवम् सप्तरी क्षेत्र नम्ब १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले फूलमाला, अबीर तथा खादा ओढाएर स्वागत गरेका छन् ।


