बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा मंगलबार (आज)देखि थुनछेक बहस हुँदैछ ।
सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गरेका थिए । सोमबार हिजो अभियोगपत्र दायर गरिएपछि आजबाट थुनछेक बहस सुरु हुने भएको हो । प्रहरीले १ हप्ताअघि अनुसन्धान सकाएर अदालतलाई प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमा मुलुकी फौजदारी अपराधसंहितामा १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेअनुसार १२ वर्षसम्मको कैद सजाय मागदाबी हुनुपर्ने उल्लेख गरिएको थियो ।
सन्दीपलाई १७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो । उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो।


