अपडेट 
२०७९ कार्तिक १६, बुधबार ०७:५८

अहिले निर्वाचनको माहोल बनिरहेको छ । देश निर्वाचनमय भइरहेको छ । सबै क्षेत्रमा निर्वाचनको चर्चा चलिरहेको छ । मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुन भइरहेको छ । यो निर्वाचनले संघमा र प्रदेशमा नयाँ सरकारको गठन गर्नेछ । यसो हेर्दा यो सामान्य विषय पनि लाग्छ किनभने देशमा आवधिक निर्वाचन हुनु स्वाभाविक हो र नयाँ निर्वाचनले दिने जनादेशले नयाँ सरकार पाउनु स्वाभाविक हो । आखिरमा जहाँसुकैको निर्वाचनले त दिने भनेको परिवर्तन नै हो । लोकतान्त्रिक देशमा हुने यस्ता निर्वाचनले देशको सरकारमा परिवर्तन ल्याउनु स्वाभाविक हो । सत्तासीन दललाई पुनः सरकार बनाउने अवसर प्राप्त हुन सक्छ वा विकल्प आउन सक्छ तर सबैतिर हुने भनेको यही नै हो । लोकतन्त्रमा निर्वाचनलाई लोकतन्त्रको प्राण भनिन्छ । यसकारण लोकतान्त्रिक देशमा निर्वाचनलाई एउटा महापर्वको रुपमा लिइन्छ । अझ नेपालमा त प्रतिनिधि सभा र प्रदेश सभाको एकैपटक निर्वाचन भइरहेको छ । एकै समयमा देशभर दुई प्रकृतिको सरकार बनाउने निर्वाचन हुनु भनेको साँच्चिकै नेपाली लोकतन्त्रको महत्वपूण दिन हो । यसले धेरै दूरगामी प्रभाव पर्ने निश्चित छ । एकै दिन देशभर दुई किसिमको संसदको निर्वाचन हुँदा निर्वाचनमा हुने देशको खर्चको ठूलो हिस्सा जोगिन पुग्छ । किनभने एउटा निर्वाचन गराउँदा जति जनशक्ति र सम्पूर्ण संयन्त्र परिचालित हुन्छन्, अर्को निर्वाचन हुँदा झन् बढी गर्नुपर्ने हुन्छ । अहिलेको परिवेशमा निर्वाचन निकै महँगो हुँदै गइरहेको छ । यो महँगो उम्मेदवारको लागि पनि हो र निर्वाचन आयोग तथा सरकारको लागि पनि हो । यसरी एकैपटक निर्वाचन हुँदा धेरै किसिमले खर्च जोगिन सक्छ । साथै चुनाव भएपछि देश फेरि सामान्य अवस्थामा सजिलै जान्छ । निर्वाचन आयोगले निर्वाचन गराइरहेको छ । यस लोकतान्त्रिक महापर्वलाई हरेक वर्ग तथा समुदायले सहयोग गर्नुपरेको छ । मुख्य गरी बौद्धिक तथा नागरिक समाजले निर्वाचनलाई सफल बनाउन विभिन्न किसिमले भूमिका खेल्न सक्छन् । तर सबैभन्दा बढी महत्वपूर्ण भूमिका भनेको चुनावमा मतदाताले आफ्नो मताधिकारको सदुपयोग गर्नु हो । निर्वाचनमा निर्धक्क सहभागी हुन पाउनु र निर्वाचनमा मतदाताले आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न पाउनु सबैभन्दा ठूलो कुरो हो निर्वाचनको निम्ति । र, यस निम्ति हरेक सचेत नागरिकले महत्वपूर्ण भूमिका निर्वाह गर्नु जरुरी छ । निर्वाचन आयोगले यस निर्वाचनमा एक प्रतिशतभन्दा तल अर्थात कम बदर मत होओस् भन्ने चाहेको छ । वास्तवमा बदर मत हुनु भनेको कसैको लागि राम्रो होइन । यसकारण निर्वाचन आयोगको यो चाहना निकै पवित्र रहेको छ । सबैभन्दा जरुरी यही पनि हो कि मतदाताले आफूले चाहेको उम्मेदवारको चिन्हमा आफ्नो मत संकेत सजिलो गरी गर्न पाउनु पर्छ । मतदाताले दिएको मत पनि सदर हुनुपर्छ । मतदाताले दिएको मत सदर होओस् भनेर नागरिक समाज वा बौद्धिक वर्गले सचेतना पूर्ण भूमिका निर्वाह गर्न सक्छन् । यसको लागि हरेक सचेत नागरिकले आफ्नो घरमा कुन व्यक्तिको मत बदर हुने सम्भावना छ भन्ने विषयमा विचार गरेर सम्भव हुँदासम्म मतपत्रमा सही तरिकाले छाप लगाउने अभ्यास नै गर्नु उचित हुन्छ ।

एउटा सामान्य विचार यो छ कि त्यस्ता ज्येष्ठ नागरिक जसको हात काम्दछ, मतपत्रमा छाप लगाउने बेलामा ठिक ठाउँमा छाप नपरेर तल, माथि, दाया, बाया परेर मत नै बदर हुने अवस्था हुन सक्छ । यो अनिवार्य छैन तर पनि यस प्रकार अन्य मतदाता पनि हुन सक्छन् जसबाट चुनाव चिन्ह चिनेर जुन सही ठाउँमा मत हाल्नुपर्ने हो त्यहाँ हाल्न नसकेर अलिकति गडबड होला कि भन्ने हुन सक्छ । यस्तो सम्भाव्य व्यक्तिलाई पनि मतदानको सदुपयोग गर्न सिकाउनु सबैको कर्तव्य हुन जान्छ । हरेक घरमा जान्नेले सिकाउनु उचित हुन्छ भने परिवारभन्दा बाहिर पनि यस्तो सम्भावना देखिएका व्यक्ति वा परिवारलाई सही मतदानको लागि सिकाउनु उचित हुन्छ । यसरी मतदान गर्ने तरिका सिकाउँदा के कुरामा विचार पु¥याउनु उचित हुन्छ भने कुनै एक चिन्हमा नै चाहिँ सिकाउनु हुँदैन । तर यदि कुनै दलको कार्यकर्ता वा उम्मेदवारका समर्थक, प्रचारक छन् भने उनीहरुले त आफूले जसको मतदानको लागि प्रचार गरिरहेका छन्, तिनलाई नै सिकाउँछन् । निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पनि पालन हुनु जरुरी छ । निर्वाचन आचार संहिताले देशमा स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउनको लागि भूमिका निर्वाह गर्न सक्छ । सबैले देखेका छौँ, निर्वाचन आयोगले सम्भव भएसम्म आचार संहिता पालन गराउने प्रयास गरिरहेको छ । यसलाई अझ बलियो गरी पालन गराउन सर्वसाधारण सचेत नागरिकको पनि भूमिका हुन सक्छ । निर्वाचन हरेक वर्ष हुँदैन । यो पाँच वर्षमा हुने भएकोले मतदातालाई आफ्नो एक मत कति अमूल्य छ भन्ने कुरो पनि सिकाउनु उचित हुन्छ । हरेक मतदाता निर्वाचनको मूल्यमा बराबर छन् । कोही शिक्षित वा निरक्षर भनेको छैन, धनी वा गरिब भनेको छैन । जुनसुकै भागमा रहेका मतदाताको मूल्य बराबर छ । यसैले हरेक मत मूल्यवान छ । हरेक मतदाता मूल्यवान छन् । मतदाताले कुनै लोभ, मोह तथा अन्य प्रलोभनमा नपरेर स्वविवेकले जसलाई आफ्नो उचित प्रतिनिधि ठान्दछन्, तिनलाई मत दिने वातावरण बनाइनु पर्छ । यस किसिमको वातावरण बनाउन सचेत नागरिकले पनि निकै सार्थक भूमिका खेल्न सक्छन् । सचेत नागरिकले कुनै व्यक्ति वा पार्टी वा चिन्हको प्रयोग नगरेर सामाजिक संजालमा पनि सचेततापूर्व मतदानका कुरा सार्वजनिक गर्न सक्छन् । आजभोलि सामाजिक संजाल निकै सशक्त भएर आएको छ । सामाजिक संजालले धेरै प्रभाव पारिरहेको देखिएको छ । सामाजिक संजालको उपयोग सचेत नागरिकले गर्ने हो भने यसको प्रभावकारिकता धेरै हुन्छ । यससम्बन्धि भिडियो वा चित्र बनाएर पनि राख्न सकिन्छ । साथै आफ्ना कुरालाई सर्वसाधारणले सजिलो बुझ्ने गरी प्रस्तुत गर्न पनि सकिन्छ । तर ध्यान दिनुपर्ने कुरो के पनि हो भने निर्वाचनको मर्म र निर्वाचन आयोगको आचार संहितालाई नाघ्नु हुँदैन । निर्वाचनमा सशक्त, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी तथा यस्ता किसिमका मतदाता नागरिकलाई सबैले सहानुभूति राख्नुपर्छ । सबैले पहिले मतदानको अवसर प्रदान गर्नु उचित हुन्छ ।

मतदान केन्द्रमा पनि यस किसिमको व्यवस्था भने भएको हुन्छ तर सबैलाई थाहा नहुन पनि सक्छ तर जो सचेत नागरिक छन्, तिनले भने यसलाई ध्यान दिएर अलिकति सहयोग गरिदिने हो भने मानवता हराउँदैन र यस प्रकारका मानिसले सहयोग तथा सहानुभूति पाएको पनि अनुभव हुन्छ । शान्तिपूर्ण मतदान गराउनमा हरेकले भूमिका खेल्न सक्छ । जसरी अहिले हरेक ठाउँमा पक्ष वा विपक्ष तथा निर्वाचनको अनेक कोण र प्रतिकोणबाट चर्चा चलिरहेको छ, त्यसरी नै निर्वाचनलाई सही अर्थमा हरेक मतदाताले शान्तिपूर्ण, भयरहित वातावरणमा मतदानको सही उपयोग गर्न पाउने कुरालाई एउटा अवसरको रुपमा लिनुपर्ने हो । निर्वाचन आयोगलाई यस किसिमले सहयोग गर्नु भनेको निर्वाचन आयोगलाई मात्र सहयोग गरेको होइन, समग्र निर्वाचनलाई र वास्तवमा लोकतन्त्रलाई सहयोग गरेको हो । लोकतन्त्र त हरेक नागरिकको अभिव्यक्तिसित जोडिएको व्यवस्था न हो, यस व्यवस्थालाई सार्थक बनाउने निर्वाचनलाई मर्यादित, स्वच्छ तथा स्वतन्त्र बनाउन सचेत नागरिकले सकारात्मक भूमिका खेल्नु अनिवार्य हुन्छ । लोकतन्त्रलाई सफल बनाउन हरेक सचेत नागरिकले आफ्नो सार्थक भूमिकालाई प्रदर्शन गरिनु आवश्यक छ ।

Comment


Related News

Latest News

Trending News