मधेश प्रदेश सरकारद्वारा गठित मधेश प्रज्ञा प्रतिष्ठानले नयाँरुपमा कार्यक्रमहरु अघि बढाउन सरोकारवालसंग सुझाव संकलन गरेको छ ।
बुधवार सप्तरी सदरमुकाम राजविराज स्थित मैथिली भवनमा प्रतिष्ठानले मधेशमा भाषा, कला, साहित्य र संस्कृति लगायतको क्षेत्रमा काम गरिरहेका संघ, संस्थाका प्रतिनिधिसंग समन्वय वैठक मार्फत सुझाव संकलन गरेको छ । बैठकलाई सम्बोधन गर्दै प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडिले प्रतिष्ठानको गठन र पदाधिकारी नियुक्ती भएपछी नयाँ रुपमा अघि बढ्न सुझाव संकलन गर्न थालिएको बताए । उनले मधेश प्रदेशका सबै जात जातीका कला, संस्कृति, भाषा र साहित्यको विकासका लागी प्रतिष्ठानले काम गर्ने र यसका लागी आवश्यक नीति तथा कार्यक्रम तयार गर्न सुझाव संकलन गर्न थालिएको बताए । यस प्रदेशमा सर्वाधिक बोलिने भाषा मैथिली रहेको बताउँदै उनले भावी नीति तथा कार्यक्रममा स्वभाविक रुपमा मैथिली भाषा, कला र साहित्य क्षेत्र उच्च प्राथमिकतामा पर्ने जनाए ।
कुनै पनि ठाउँलाई त्यस ठाउँको कला, संस्कृति, भाषा, साहित्य, दर्शन र इतिहासले चिनाउने जिकीर गर्दै उनले यस क्षेत्रको समग्र विकासका लागि आपूmहरु श्रोत, साधन र क्षमताले भ्याए सम्म काम गर्ने प्रतिबद्धता पनि जनाए । मैथिली साहित्य परिषद् सप्तरीका अध्यक्ष सतिस दत्तको अध्यक्षता तथा परिषद्का उपाध्यक्ष समेत रहेका मधेश प्रदेश आम संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवद्वारा स्वागत गरी संचालित कार्यक्रममा प्रतिष्ठानका सदस्य दिनेश कुमार यादव, पूर्व सभासद शिवचन्द्र मिश्र, परिषद्का पूर्व जिल्ला अध्यक्ष देवेन्द्र मिश्र, दहेज मुक्त मिथिलाका अध्यक्ष करुणा झा, त्रिविविका पूर्व मैथिली विभागाध्यक्ष पशुपतीनाथ झा लगायतले प्रतिष्ठानद्वारा भावी दिनमा तयार हुने आवश्यक नीति तथा कार्यक्रममा समावेश गरिने विषयहरुबारे आ–आफ्नो सुझाव दिएका थिए ।


