अदालतको आदेश कार्यान्वयन तथा न्याय सम्पादन कार्य छिटो छरितो गर्न माग राखी दुई दिनदेखि आमरण अनसनमा बसेका एक दम्पतीले शुक्रबार अनसन तोडेका छन् ।
सप्तरी जिल्ला अदालतबाट अंश मुद्दामा भएको फैसला कार्यान्वयन हुन नपाउँदै विपक्षी दाजु उमेश प्रसाद साहले उच्च अदालत जनकपुर राजविराज इजलाशमा रिट निवेदन दिई न्याय प्रक्रिया लम्ब्याउन खोजेको र आफूहरुलाई अनावश्यक दुःख दिएको भन्दै दुई दिनदेखी अदालतकै अगाडि आमरण अनसनमा बसेका राजविराज ४ निवासी दिनेश प्रसाद साह र उनका श्रीमती गौरीले अनसन तोडेका छन् । उच्च अदालत जनकपुर राजविराज इजलाशका शाखा अधिकृत लक्ष्मीकान्त झाले उनीहरुलाई जुस खुवाएर अनसन तोडाएका छन् ।
न्यायाधीश र सम्बद्ध फाँटका कर्मचारीहरुको बैठकपछि आगामी बिहीबार उक्त मुद्दाको टुङ्गो लगाउने आश्वासन पाएपछि अनसन तोडिएको साह दम्पतीले जानकारी दिए । सो अवसरमा शाखा अधिकृत झाले आवश्यक प्रक्रिया पूरा गरी साह दम्पतीको मुद्दा प्राथमिकताका साथ हेरिने र छिट्टै न्याय निरुपण गर्ने सहमति भएकाले आमरण अनसन जस्तो कठोर आन्दोलनको आवश्यकता नरहेको प्रक्रिया दिए । अंश मुद्दामा लामो समयदेखि न्याय नपाएको भन्दै साह दम्पती उच्च अदालत जनकपुर राजविराज इजलास अगाडि अनसनमा बसेका थिए


