२०७९ कार्तिक १९, शनिबार ०९:०७

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लंघन गर्दै पर्सामा दर्जनौ कर्मचारीहरु चुनावी प्रचार प्रसारमा लागेका छन् ।

प्रचार प्रसार उत्कर्षमा रहेका बेला सम्बन्धित दलका नेता कार्यकर्ता लगायत उम्मेदवारका आफन्तहरु समेत घरदैलो लगायत विभिन्न कार्यक्रमलाई तीव्र बनाएका छन् । निर्वाचन आयोगले सरकारी तलब भत्ता खाने सम्पूर्ण कर्मचारी तथा जनप्रनिधि समेतलाई प्रचार प्रसारमा लाग्नबाट प्रतिवन्ध लगाए पनि केही जनप्रतिनिधि तथा सरकारी कर्मचारीहरुबाट आचार संहिताको उल्लंघन गर्ने कार्य व्यापक रुपमा भइरहेको छ । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेमाथि निगरानी बढाइएको दाबी गरिएको बेला पर्सामा दर्जनौ कर्मचारी तथा जनप्रतिनिधिहरु उम्मेदवारहरुको पक्षमा भोट माग्दै हिडेको पाइएको छ । यसका साथै केही कर्मचारीहरुले टोलीनै बनाएर उम्मेदवारहरुको पक्षमा भोट मागी रहेको समाचारहरु समेत विभिन्न संचार माध्यमहरुमा प्रकाशित भए पनि उक्त आचारसंहिता उल्लंघन बारे निर्वाचान कार्यालय पर्सालाई जानकारी नभएको जनाइएको छ । पूर्व मन्त्री एवम् पर्सा क्षेत्र नम्बर १का जनता समाजावादी पार्टीका उम्मेदवार प्रदीप यादवकी जेठी श्रीमती पिन्कि यादवले समेत आचारसंहिता उल्लंघन गरेको पाइएको छ । उनी वीरगञ्ज महानगरपालिका अन्तर्गत श्रीनेरा प्राथमिक विद्यायलमा शिक्षिका छिन् । उनले आफ्ना श्रीमानका लागि केही शिक्षिकाहरुको टोलीसहित मत मागी रहेको देखिएको छ । पिन्कि यादव प्रदीप यादवको चुनावी प्रचार प्रसारमा लागेको थाहा भए पनि वहा शिक्षिका हो भने आफूहरुलाई थाहा नभएको निर्वाचन कार्यालय पर्साकी प्रमुख रंजिता झाले बताइन् ।

प्रमाण सहित उजुरी वा कुनै प्रमाणित जानकारी आए प्रचार प्रसारमा लाग्ने कर्मचारी र उम्मेदवार दुबैलाई सुरुमा एक हप्ते स्पष्टीकरण सोध्ने र उचित जवाफ नआए कारबाही अगाडि बढाउने कार्यालय प्रमुख झाको भनाइ थियो । पिन्कि यादव लगायत अरु शिक्षिकाहरुले समेत चुनाव प्रचार प्रसारमा लागेको बारे वीरगञ्ज महानगरपालिकाका शिक्षा महाशाखाका एक अधिकृतसंग सोध्दा केही शिक्षकहरु प्रचार प्रसारमा लागेर गल्ती गरिरहेको गुनासो आएको र छानबिन भइरहेको बताए । श्रीनेरा प्राथमिक विद्यालय मनियारीका प्रधानाध्यापक गम्भीरा यादवले उक्त विद्यालयमा पिन्कि यादव राहत दरबन्दी तर्फको शिक्षिका रहेको जानकारी दिए । उनी विदा लिएर वा विना विदा विद्यालयको अध्यन अध्यापन छाडेर आफ्नो श्रीमान्को प्रचार प्रसारमा लागेको बारे सोध्दा आफू केही दिन देखि विद्यालय नगएकोले जानकारी नभएको बताए ।

 

Comment


Related News

Latest News

Trending News