कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी शुक्रवार जनकपुरधाम सहित नेपाल भारतमा श्रद्धापूर्वक मनाइएको छ ।
शुक्रबार जनकपुरधामको जानकी मन्दिरमा भक्तजनको घुइँचो थियो । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु यस दिन जागा हुने धार्मिक विश्वास छ । जागा हुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि जानकी मन्दिर सहित भगवान विष्णु मन्दिरमा भक्तजनहरुको घुइँचो थियो । जनकपुरधाम सहित मिथिला क्षेत्रमा रहेका भगवान रामको मन्दिरमा समेत भक्तजनहरुले हरिबोधिनी एकादशी मनाएका छन् । भगवान विष्णुकै अवतार राम रहेको मान्यता अनुसार राम मन्दिरहरुमा भक्तजनहरुलेपूजाआजा एवं दर्शनगरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यसैले टाढा–टाढाबाट पनि भक्तजन सवारीसाधन रिजर्भ गरेर जानकी मन्दिर आएका थिए । नारायणको दर्शन गर्न नसक्नेले स्थानीय राम मन्दिरहरुमा पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ ।
तुलसीको विशेष पूजासहित विवाह
आषाढ शुक्ल एकादशीका दिन घरको मोठमा रोपी पूजा सुरु गरिएको तुलसीको विवाह दामोदरसँग गरिदिने प्रचलन छ । शुक्रवार बिहानै वैदिक सनातन धर्मावलम्बीले स्नान गरी व्रत बसेका थिए । यस दिन चामलबाट बनेका परिकार नखाई फलाहार मात्र गर्ने गरिन्छ । आषाढ शुक्ल एकादशीदेखि पूजाआजा सुरु गरिएको तुलसीको मठमा विधिपूर्वक पूजासहित हवन गरेपछि चतुर्मास व्रत समाप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् पंडित रामाकान्त झा बताउँछन् ।


