आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै जसपाले पूर्ण समानुपातिक संसद् र प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको व्यवस्था, न्यायप्रणालीलाई संघीय स्वरूपमा पुनर्संरचना गर्ने प्रतिबद्धता जनाएको छ ।
पहिचान र सामर्थ्यको आधारमा राज्य पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीमा परिवर्तन आवश्यक रहेको जसपाले जिकिर गरेको छ । पार्टीले प्रतिबद्धता पत्रमा समानुपातिक निर्वाचन प्रणालीको आधारमा सबै तहको निर्वाचन गर्नुपर्ने उल्लेख समेत गरेको छ
जसपाले पहिचानसहितको संघीयता र समावेशी राज्य निर्माणको प्रतिबद्धता व्यक्त गरेको छ । यस्तै शक्ति जनलोकपाल गठन गरी भ्रष्टाचारको अन्त्य गर्ने र नागरिकतामा विद्यमान लैङ्गीक विभेदको अन्त्य गरी सबै नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने प्रतिबद्धता पनि जसपाको छ ।
यस्तै, जसपाको घोषणापत्रमा कृषि क्षेत्रको विकासका लागि भूमि सुधार, आधुनिक कृषि खेती लगायतका योजना समेटिएको छ । परम्परागत कृषि खेतीलाई विस्थापन गर्दै आधुनिक खेती प्रणाली अंगीकार गर्नतर्फ जोड दिने जसपाले घोषणापत्रमा लेखेको छ । यसैगरी, उद्योग तथा खानीतर्फ समेत योजना बनाएको जसपाले वाणिज्य र आपूर्तितर्फ समेत ठोस योजना उल्लेख गरेको छ ।
साथै जसपाले मुलुकमा प्रशस्त रोजगारीका अवसरहरू सिर्जना हुने गरी आर्थिक नीति तय गर्ने बताएको छ। विकासका सबै क्षेत्रहरूको मुख्य उद्देश्य मानव विकास र त्यसको मुख्य आधार श्रम नै भएकाले श्रम-संस्कृतिलाई प्रोत्साहित गर्ने उल्लेख गरेको हो ।
देशको युवा श्रम शक्ति रोजगारीका लागि विदेश पलायन हुनुपर्ने स्थितिको अन्त्य गर्न देशभित्र उत्पादनका क्रियाकलापहरू वृद्धि गर्ने उल्लेख गरेको छ। देशभित्रै रोजगारी सिर्जना गर्नका लागि सहरी क्षेत्रमा रोजगार बैङ्कको स्थापना र शिक्षित बेरोजगारहरूलाई शैक्षिक प्रमाणपत्र धितो राखी स्वरोजगार व्यवसाय गर्न प्रोत्साहित गर्ने आश्वासन दिएको छ ।


