राजविराजमा अत्याधुनिक प्रविधि र सुविधासहितको पन्ध्र शैय् याको नयाँ सगरमाथा आँखा अस्पताल प्रा.लि.संचालनमा आएको छ ।
उक्त अस्पतालको राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख ईसरव प्रवीणले उद्घाटन गरेकी छन् । सो अवसरमा उनले अत्याधुनिक प्रविधिसहित पूर्ण स्वचालित उपकरण र विशेषज्ञहरुको टोलीबाट एकै थलोमा आँखा सम्बन्धी सबै खाले रोगको उपचार सेवा उपलब्ध हुनु यस भेगका जनताका लागि अति खुशीको कुरा भएको बताइन । ‘अस्पतालमा आँखा सम्बन्धी सबै खाले रोगको विशेषज्ञ चिकित्सक टोली तथा प्रविधियुक्त मेसिनबाट सस्तो र स्तरीय उपचार सेवा प्रदान गरिने अस्पतालका प्रबन्धक अफाक अनवरले बताए । आफूले विगत एक दशकदेखि विराटनगर र काठमाण्डु स्थित विभिन्न आँखा अस्पतालमा यही पेशा अँगालेको अनुभवले यस्तो आँट गरेको उनले बताए ।


भिजन परीक्षण, मोतियाबिन्दु, जलबिन्दु, कोर्नियल अल्सर, मेडिकल रेटिना, अकुल प्लाष्टि, आँखाको नानी प्रत्यारोपणदेखि आँखाको जटिल प्रकृतिका सबैखाले शल्यक्रिया र रोगको उपचार यस अस्पतालमा गरिने उनले बताए । उनले अस्पतालमा विराटनगर आँखा अस्पतालका पूर्व निर्देशक तथा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.संजय कुमार सिंह, तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डुका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.रोहित सैजु र डा. गोविन्द पौडेल सहितको चिकित्सक टोलीले नियमित उपचार सेवा प्रदान गर्ने जानकारी दिए । अस्पतालले नेत्र विशेषज्ञको अभावलाई पूर्ति गर्न नेपाल तथा भारतको नेत्र चिकित्सकको लागि फेलोसिप प्रोग्राम तथा पारामेडिकलका लागि प्राथमिक लेभलको ‘आँखा स्वास्थ्य कार्यकर्ता’ जस्ता छोटो अवधिको तालिमहरु संचालन गरेर जनशक्ति उत्पादनमा जोड दिने गुरुयोजनासमेत तयार पारेको जनाइएको छ ।

