प्रमुख निर्वाचन अधिकृत पुर्णेश्वर प्रसाद उपाध्यायले निर्वाचन आचारसंहिता भित्र रहेर समाचार प्रसारण गर्न आग्रह गरेका छन्।
कलैयामा निर्वाचनमा सञ्चारमाध्यमको भूमिका विषयक मिडिया अभिमुखीकरण कार्यक्रममा उनले कसैको मानहानी हुने गरी र एक पक्षीय रुपमा समाचार संप्रेषण नगर्न आग्रह समेत गरे । आचारसंहिता उल्लंघन गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन आफूहरु बाध्य हुने उपाध्यायले बताए । भर्किलो प्रचार प्रसार गर्न, फजुल खर्च गर्न र उम्मेदवारको निर्वाचन चिह्न अंकित लगाउने भेष्ट, टोपी, सर्ट, ज्याकेट लगायतका सामग्रीहरु उपयोग नगर्न नगराउन सम्वद्ध सबै पक्षलाई अनुरोध गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले भयरहित वातावरणमा मतदान गर्न स्थलसम्म आउनलाई शान्ति सुरक्षाको भरपुर व्यवस्था रहेको हुँदा निर्धक्क भएर आफूलाई मन परेका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।
मिडिया आफैमा एउटा सशक्त माध्यम भएको हुँदा विभिन्न पार्टीबाट भएका उम्मेदवार हरुले आचारसंहिताको पालना नगरेको र निर्वाचनलाई प्रभावित पार्ने जस्ता कामहरु गर्ने गरेको समाचारहरु संप्रेषण गरी सचेत गराउनतर्फ पत्रकारहरुको भूमिका अपरिहार्य रहेको बताउँदै भारतीय गाडीहरुको प्रयोग निर्वाचनमा कुनै पनि बहानामा हुन नदिन सुरक्षा निकाय प्रतिबद्ध रहेको प्रष्ट पारे ।


