२०७९ कार्तिक २१, सोमबार ०६:४५

आचारसंहिताको उल्लघंन बढ्दै गएकोमा आइतबार राजविराजमा आयोजित एक कार्यक्रमका सहभागीहरुले चिन्ता व्यक्त गरेका छन् ।

निर्वाचन कार्यालय सप्तरीले आयोजना गरेको जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रममा आचारसंहिता उल्लघंन बढेको प्रति चिन्ता व्यक्त गरिएको हो । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले दलहरुले नै बनाएको आचारसंहिताको पालना गर्नु दल लगायत उम्मेदवारहरुको पनि जिम्मेवारी रहेको बताए । यसअघि तीन पटक आचारसंहिता पालना बारे छलफल गरिए पनि उल्लंघनका घट्नाप्रति सचेत नहुनु चिन्ताको विषय भएको उनले बताए । उनले निर्वाचन स्वच्छ, मर्यादित, भयरहित तथा शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि आचारसंहिताको पालना पनि प्रमुख आवश्यकता रहेको प्रस्ट गरे । निर्वाचनमा सुरक्षाका लागि सप्तरीसित सिमाना जोडिएको भारतका जिल्ला सुपौल र मधुवनीस्थित डिस्ट्रिक्ट मजिस्ट्रेट र एसपी समक्ष पटक–पटक कुरा भइरहेको जानकारी दिँदै उनले निर्वाचन आचारसंहिता पालना गरी निर्वाचन सफलताका साथ सम्पन्न गर्नका लागि सहयोगको आग्रह पनि गरे ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले निर्वाचनको आचारसंहिता उल्लंघन गर्नेलाई ध्यानाकर्षण गराउने, स्पष्टीकरण सोध्ने र केही सीप नलागे उम्मेदवारी नै रद्दको प्रावधानसमेत रहेको जानकारी दिए । उनले संचारकर्मीले समेत निर्वाचन आचारसंहिता पालना गर्नु आवश्यक रहेको भन्दै यसबाट सफलताका साथ निर्वाचन सम्पन्न गर्नमा मद्दत पुग्ने बताए । कार्यक्रममा स्थानीय संचारकर्मीहरुले निर्वाचन प्रचारमा बालबालिकाको प्रयोग भइरहेको, सामाजिक संजालमा एक पक्षले अर्को पक्षलाई अमर्यादित रुपमा टिकाटिप्पणी गर्ने गरेको सार्वजनिक स्थलमा निर्वाचन प्रचार सामग्री प्रयोग गर्ने काम भएको,तोकिएको भन्दा ठूलो आकारमा तुल,ब्यानरको प्रयोग गरिएको लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।

 

Comment


Related News

Latest News

Trending News