वीरगञ्जका उद्योगी व्यपारीहरुले पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजय चौरसियालाई समर्थन गर्ने जनाएका छन् ।
मारवाडी युवा मन्च वीरगञ्जले आयोजना गरेको परिचयात्मक कार्यक्रममा सहभागी यहाँका उद्योगी व्यपारीले चौरसियालाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा सहभागी उद्योगी व्यपारीले चौरसियाको परिचय चिन्हाउनु जरुरी नरहेको उनले गरेका काम नै काफी रहेको बताए । पदमा रहँदा वा नरहँदा पनि यहाँका उद्योग व्यवसाय क्षेत्रको समस्या समाधानका लागि चौरसियाले पहलकदमी गर्दै आएको बताउँदै उद्योगी व्यपारीले नेतालाई फेरि अवसर दिनु पर्नेमा जोड दिए । उनीहरुले विगतमा उद्योगी व्यवसायीलाई कुनै पनि समस्या पर्दा चौरसिया तत्कालै पुग्ने गरेको पनि बताए ।
कार्यक्रममा सत्तागठबन्धनका साझा उम्मेदवार समेत रहेका चौरसियाले वीरगञ्जका उद्योगी व्यपारीका हरेक समस्यामा आफू विगतमा पनि साथमा रहेको र आगामी दिनमा पनि साथमा रहने वाचा गरे । उनले उद्योग व्यापारलाई माथि उकास्नुका साथै वीरगञ्जलाई हराभरा र सफासुग्घर शहर बनाउनका लागि आफूले काम गर्ने प्रतिबद्धता पनि जनाए । अहिलेका राष्ट्र बैंकका गर्भनर एमालेका कारिन्दा भएको भन्दै चौरसियाले गर्भनरकै गलत नीति र नियतका कारण मुलुकमा आर्थिक मन्दी भएको र त्यसको सबै भन्दा ठूलो मारमा उद्योगी व्यपारी परेको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश र उद्योग वाणिज्य संघका पदाधिकारी , सदस्य , प्रदेश सरकारका पूर्वमन्त्री एंव वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओमप्रकाश शर्माका साथै उद्योगी,व्यापारीका साथै काँग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


