मैथिली साहित्य परिषद्द्वारा तीन दिवसीय विद्यापति स्मृति पर्व कार्यक्रम अन्तर्गत शुक्रबार साहित्यिक गोष्ठी तथा शनिबार ‘मैथिली भाषाको विकासप्रति प्रतिनिधिसधा र प्रदशेसभाका उम्मेदवारहरुको अवधारण’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
परिषद्का अध्यक्ष सतिशकुमार दत्तको सभापतित्वमा आयोजित कार्यक्रममा मधेशी आयोगका अध्यक्ष बिजय दत्त, सदस्य आभासेतु सिंह, मधेश प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, परिषद्का पूर्वअध्यक्ष द्वय विष्णु मण्डल, विवेकानन्द मिश्र, पूर्वसांसद शिवचन्द्र मिश्र, मैथिल महिला परिषद्की संस्थापक अध्यक्ष मिना ठाकुर, अन्तर्राष्ट्रिय मैथिल परिषद्की अध्यक्ष करुणा झालगायतले विद्यापतिको प्रतिभा र विद्धता बारे आ–आफ्नो विचार व्यक्त गरेका थिए । सो अवसरमा यस वर्षको शिवदत्त मिश्र स्मृति पुरस्कारबाट गायक गुरुदेव कामत र विजेन्द्र विनोद स्मृति कला पुरस्कारबाट देवेन्द्र साह सोनीलाई सम्मानित गरिएको थियो । यस्तै, लक्ष्मी–विवेका पत्रकारिता पुरस्कारबाट अजय साह शिवाली र शोभा देव मैथिली स्मृति पुरस्कारबाट सप्तरीको पहिलो महिला शिक्षिका बच्ची मिश्रलाई पनि सम्मानित गरिएको थियो । यस अघि स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको प्राङ्गणबाट विद्यापतिको महत्व झल्किने आकर्षक झाँकीसहित निस्केको जुलुस नगर परिक्रमा पश्चात् मैथिली भवनमा पुगि श्रद्धाञ्जली सभा तथा सम्मान समारोहमा परिणत भएको थियो ।


