आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा करिब डेढ लाख अस्थायी मतदाता छन्। स्थायी मतदाताको सूचीमा रहेकामध्ये १ लाख ४९ हजार १६४ जना अस्थायी मतदातामा सूचीकृत भएका छन्।
निर्वाचन आयोगले कैदीबन्दी र थुनुवालाई पहिलो पटक मतदानमा समेट्ने गृहकार्य अन्तिम चरणमा पुर्याएको हो। कैदीबन्दीसहित सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीसहित, वृद्धाश्रममा आश्रय लिएकाहरू अस्थायी मतदाताको सूचीमा रहनेछन्।
अस्थायी मतदाताले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउनेछन्। स्थायी मतदाताको सूचीमा रहेकामध्ये १ लाख ४९ हजार १६४ जना अस्थायी मतदाता रहेका र सूची रुजु गर्ने काम जारी रहेको आयोगले जनाएको छ।
अस्थायी सूचीमा रहेकामध्ये १ लाख ४४ हजार ६२५ जनाको विवरण प्रमाणीकरण भएको र बाँकी विवरण मङ्गलबारसम्ममा परीक्षण हुने आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिए। उनका अनुसार स्थायी मतदाता नामावलीको सूचीमा नाम भएकाहरू मात्र अस्थायी मतदाता बन्नेछन्।
आयोगले कैदीबन्दी र वृद्धाश्रममा रहेकालाई उनीहरू रहेकै ठाउँमा र सुरक्षाकर्मी तथा कर्मचारीलाई निर्वाचनमा खटिएका मतदान केन्द्रमा मतदानको व्यवस्था गरेको छ। निजामती र सुरक्षाकर्मीले विगतदेखि सङ्घीय निर्वाचन प्रणालीको समानुपातिकतर्फ मतदान गर्दै आएका छन् ।
सर्वोच्च अदालतले गत २ साउनमा कर्मचारी, कैदीबन्दीलाई पनि अस्थायी मतदाता नामावली बनाएर मतदानको व्यवस्था गर्न आदेश दिएसँगै कैदीबन्दी र थुनुवाले पहिलो पटक मतदान गर्न पाउने भएका हुन् । आयोगले गत ६ देखि ८ असोजसम्म अस्थायी मतदाताको नामावली सङ्कलन गरेको थियो ।
४ मंसिरको सङ्घीय र प्रादेशिक निर्वाचनमा पौने २ करोडभन्दा बढी मतदाता सहभागी हुँदै छन् । निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले भोट हाल्न पाउनेछन्।
आयोगले आगामी ३ मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा हुने १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको अन्तिम नामावली स्वीकृत गरेको छ।
९१ लाख ४० हजार ८०६ महिला, ८८ लाख ४७ हजार ५७९ पुरुष र १८५ जना अन्य छन् । आयोगले देशभर १० हजार ८९१ व्टा मतदान स्थलअन्तर्गत २२ हजार २२६ वटा मतदान केन्द्र पनि स्वीकृत गरेको छ।


