अपडेट 
२०७९ कार्तिक २२, मंगलवार १३:४०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।

मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचन केन्द्रित कार्यक्रमहरुमा भीडभाड गर्दा कोभिड–१९ को संक्रमण दर बढ्नसक्ने बताए। उनले देशमा कोभिड संक्रमण दर धेरै नभएपनि संक्रमणको अवस्था भने यथावत रहेको उल्लेख गरे।

उनले भीडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरु पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानि अपनाउनु जरुरी रहेको बताए। डा. अधिकारीले कोभिड १९ बिरुद्धको खोप नलगाएका व्यक्तिहरुलाई भीडभाड हुने ठाउँमा नजान पनि आग्रह गरे। उनले भने, ‘ठूलो मात्रामा मानिसहरु एक ठाउँ भीडभाड हुनु भनेको सामान्य अवस्थामा पनि जनस्वास्थ्यका हिसावले जोखिमपूर्ण नै मान्छौँ। त्यसमा एउटा मानिसमा भएको कुनैपनि किसिमको संक्रमण अरु मानिसमा थप जानसक्छ। त्यसले गुणात्मक रुपमा वृद्धि भएर धेरै मानिसलाई प्रभाव पार्नसक्छ भन्ने हिसावले हामीले धेरै मानिसको भीडभाड हुने कुराहरुलाई जनस्वास्थ्यको हिसावले निकै ठूलो चासोको रुपमा लिइन्छ र निगरानी गरिन्छ। अझ कोभिड १९ को महामारी हामीले भोगेको अवस्था र हामीसँग संक्रमण अहिले पनि रहिराखेको अवस्था छ, विश्वका विभिन्न ठाउँहरुमा नयाँ भेरियन्टहरु देखिराख्ने अवस्था सबै अवस्थालाई हेर्दाखेरी हाम्रो भीडभाड हुने गतिविधिहरुलाई हामीले एकदमै सावधानीका साथ अगाडी लिएर जानुपर्छ। जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नसक्ने, ख्याल गर्न सकिने ठाउँहरुमा विशेष रुपमा ख्याल गर्नुपर्ने हुन्छ। कोभिडको कुरा मात्रै भएन, अरु किसिमका संक्रमण पनि कसैलाई छन् भने, रुघाखोकी पनि कसैलाई छन् भने थप धेरै मानिसहरुलाई हुनसक्छ। धेरै मानिसहरु बिरामी हुनसक्ने अवस्थाहरु हुनसक्छ। ती सबै कुराहरुलाई मध्यनजर गरेर हामीले मास्कको प्रयोग गर्नुपर्छ, त्यस्ता भीडभाडहरुमा जानुपर्ने अवस्था आउँदा। सकेसम्म नजाने । कोभिड १९ बिरुद्धको खोप नलगाएका व्यक्तिहरु सकेसम्म त्यसरी ननिस्किने। खोप अनिवार्य रुपमा लगाउने। पूर्ण मात्रा लगाइसकेको तीन महिना कटिसकेको छ भने त्यस्ता व्यक्तिहरुले समयमै एक अतिरिक्त मात्रा बुस्टर मात्राको रुपमा लगाउनुपर्ने हुन्छ । हातको सरसफाईमा विशेष ध्यान दिने। शरीर र लत्ता कपडाहरुको सरसफाईमा विशेष रुपमा ध्यान दिने गर्‍यौँ भने सबै किसिमका संक्रामक रोगहरु छन् जुन भीडभाडबाट जोखिमपूर्ण हुनसक्छन् त्यसलाई नियन्त्रण गर्नसक्छौँ ।’

उनले विश्वव्यापी रुपमा कोभिड १९ को संक्रमण घटेको बताए। देशमा पनि विगतको भन्दा सहज अवस्था रहेको उनको भनाइ छ। तरपनि संक्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनका कारण सावधानि अपनाउनुपर्ने उनले स्पष्ट पारे।

डा. अधिकारीका अनुसार अहिलेसम्म ६ करोड भन्दा बढी मात्रा खोप नेपालले प्राप्त गरेको छ। जसमध्ये साढे ५ करोड मात्रा खोप लगाइसकिएको तथ्यांक छ।

उनले खोप लगाउने लक्षित जनसंख्या २ करोड ३३ लाख भन्दा बढी रहेकोमा त्यसमध्ये शतप्रतिशतले एक मात्रा खोप लगाएको र ९६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको बताए। उनले ८० लाख बुस्टर मात्राको प्रयोग भएको पनि बताए।

Comment


Related News

Latest News

Trending News