अपडेट 
२०७९ कार्तिक २३, बुधबार ०६:२६

अपेक्षाअनुसारको जाडो हुन सकेको छैन । दशैँको समयमा जाडो ठिकैको होला भन्ने अनुमान थियो तर छठको बेलासम्म पनि खासै जाडो हुन सकेको पाइएन । हाम्रो समाजमा एउटा लोकोक्ति प्रचलनमा छ :

कात्तिकमे जाढके जलम भेल
अगहनमे लडिकाई
पुसमे जाढ जमान भेल
माघमे ठाने लडाइ ।

यसै गरी जाडोको विषयमा अर्को कथन पनि प्रचलनमा रहेको छ । जाडोको जन्म भदौ महिनामा भएको हो । भदौ महिनाको लक्पाँचेको दिन जाडोको जन्म भएको हो रे । यस दिन पृथ्वीमा पाँच भार जाडो आउँछ । दशैँमा दश भार र छुटेफुटेको सबै जाडो छठमा आउँछ रे । यसै कारण छठको समयमा जाडो हुन्छ भन्ने मान्यता रहेको छ । तर यस वर्ष किसानको दृष्टिकोणले र बालीको दृष्टिकोणले मौसम अलिक पछात छ अर्थात् मौसम अलिक पछौटे समय भएको छ । कात्तिकको पूर्णिमासम्म सामान्यता धान काटिसकेको हुनुपर्ने हो तर अझै पनि धान बाँकी नै छ । यसपटक मंसिरा धान मंसिरमै काट्छन् किसानले । हो, धान भित्र्याएपछि जाडोको मौसम सुरु हुन्छ भन्ने मान्यता पनि रहेको छ । अर्को वर्ष मलमास हुने सम्भावना भएकोले मौसम अलिक पछौटे भएको हुनुपर्छ । यसले गर्दा सरिहन धानको कटनीको मौसम जहिले हुनुपर्ने हो तहिले हुन पुगेको छ र यसबाट यो स्पष्ट हुन्छ कि चाडपर्व अलिक छिटो भएको र धानबालीको दृष्टिकोणले मौसम ठिक नै रहेको छ । यद्यपि सर्वसाधारणको भनाइ यो रहेको छ कि घाममा अझै टेम्पर छ, बिहान अलिकति जाडोको अनुभूति मात्र हुन्छ तर जाडो हुँदैन । अझै सिरक चाहिएको छैन । पातलो ओढ्ने र एउटा चिटरले अहिलेको जाडो कटिरहेको छ । तात्न नसकेको जाडो सर्वसाधारणको अनुकूल बनेको छ । जाडो नताते पनि चुनावी गर्मी विस्तारै उत्कर्षतिर गइरहेको छ अर्थात् अहिले चुनावको तातोपनले सबैलाई तताएको देखिएको छ । गाउँका सर्वसाधारण मतदातालाई भेट्न गाउँदेखि सहरसम्मका ठूला ठूला मानिस आइरहेका छन् । यो लोकतन्त्रको सौन्दर्य हो । टेलिभिजनमा देखिने गरिएका, सधैँ समाचारमा आउने गरेका तथा गाउँले र छिमेकीबाट धेरै नाम सुनिएका नेताहरु पनि अहिले मतदातालाई भेट्न उनको घर, खेत र खरिहानसम्म पुगिरहेका छन् । मतदाताको अहिले मान बढेको छ । चुनावकै समय यस्तो समय हो जब मतदाताको मान सबैभन्दा बढी हुन्छ । राजनीति गर्ने अर्थात् मतदाताबाट अनुमोदित हुन चाहनेले पनि यसै समयको लागि सदैव आफूलाई केन्द्रित पारेका हुन्छन् । यद्यपि अहिले को र कहाँ पुगिरहेका छन् भन्ने समाचार खासै बन्न सकिरहेको छैन । सामान्य अवस्था हुँदो हो वा अहिले जसरी विशिष्ट मानिएका राजनीतिज्ञहरु जसरी सर्वसाधारणको घर तथा खेतसम्म पुगिरहेका छन्, आफैँमा समाचार बन्नु पर्ने हुन्थ्यो तर जब मतदाता नै ठूलो मानिने पर्व हो यो चुनाव । अहिलेको अवस्थामा यदि मतदातालाई भेट्न वा मत माग्न ठूला नेताहरु पुग्नुलाई सर्वसाधारणले पनि सामान्य मान्न थालेको पाइएको छ । अहिले त कतिपय अवस्थामा कोही कोही नेता मत माग्न घरमा आउँदा मतदाताले खाना खान थालेको अवस्था हुन्छ भने एक छिन पर्खिन पनि थालेका छन् नेताहरु । हो, अहिले नेताको परिचय अलिकति फेरिएको छ । अहिले नेताभन्दा बढी उम्मेदवारको प्रसंग चल्ने गरेको छ । अहिले मतदाता र उम्मेदवारको सम्बन्ध प्रगाढ बनेको पाइएको छ । मतदाताहरु पनि बाठो भइसकेका छन् । मतदाताको चेतनाको स्तर विस्तारै बढिरहेको पाइएको छ । अहिले गाउँमा पनि के देखिएको छ भने उम्मेदवारलाई सर्वसाधारणले ठाडो प्रश्न सोध्न थालेका छन् ।

विगतका कामप्रति उम्मदेवारकै अगाडि असन्तुष्टि दर्शाउन थालेका छन् । आफ्नो कार्यबारे सही कुरा बताउन थालेका छन् । र, यसैसित जोडिएको यो पनि सकारात्मक पक्ष हो कि नेताहरुलाई अन्ततः तपाईँलाई नै भोट दिन्छु भन्न थालेका छन् । कोही पनि उम्मेदवारलाई एकान्तमा गएर भेट्दा मतदाताले हृदय खोलेर कुरो गरेको जस्ता पत्यार बनाउन सफल हुन्छन् । जसरी विगतमा आश्वासन दिँदा पनि उम्मेदवारले पत्याउने गरेरै मत मागेका थिए, त्यसै गरी मतदाताले पनि अहिले आफूसित मत माग्न आउने नेताहरुलाई पूरा विश्वासमा लिने गरी मत दिन्छु भनिरहेका छन् । यसरी धेरै उम्मेदवारले आफूलाई धेरै मतदाताले मत दिने आश्वासन दिएको पाइरहेका छन् र सोही आश्वासनका आधारमा धेरै उम्मेदवारले आफूलाई विजयको सपना देखेको मात्र नभई देखेको सपना साकार भइरहेको मानिरहेका छन् । अब मंसिर ४ को दिनको औपचारिक प्रतीक्षा रहेको छ । त्यस दिन मतदान हुँदा आफूलाई सर्वसाधारण मतदाताले आफ् नो अभिमत आफ्नो पक्षमा जाहेर गर्नेछन् भन्ने पूर्ण विश्वास पाइरहेका छन् । यद्यपि कतिपय उम्मेदवारले भने राम्ररी बुझिरहेका छन् कि कसको चर्चा बढी भइरहेको छ । चर्चा जसको बढी हुन्छ, प्रतिस्पर्धामा उही रहन्छन् । यो सामान्य सत्य हो तर धेरैले भित्रभित्रै मेरो पक्षमा जनमत आउने दाउ पनि खोजिरहेका छन् । अब चुनाव आउन धेरै बाँकी छैन । चुनावको दिन अब निकटै आइसकेको छ । उम्मेदवारहरुले मुखले अहिले जसरी आश्वासन दिइरहेका छन् । ती आश्वासनले यस्तो अनुभव भइरहेको छ कि अब निर्वाचित हुने जनप्रतिनिधिले यस देशलाई कल्पना लोकको स्वर्गभन्दा पनि राम्रो बनाइछाड्ने छन् । मौखिक आश्वासन त आप्mनै ठाउँमा छ, स्वयं उम्मेदवारहरुले दिने गरेको लिखित आश्वासनलाई पनि राम्ररी अध्ययन गर्ने हो भने यो देशलाई देखेर अब केही वर्षमा स्वर्गले पनि ईष्र्या गर्नुपर्ला । हो, उम्मेदवारहरुको लिखित प्रतिबद्धता भन्नु चाहिँ घोषणापत्र हो, प्रतिबद्धता पत्र हो, संकल्प पत्र हो । जे नाम दिए पनि चुनावको समयमा दिइने वाचा हो । यदि विगतको घोषणापत्रको अध्ययन गर्ने हो वा तिनै उम्मेदवारका मौखिक वाचाहरुालई सम्झना गर्ने हो भने अहिले उदेक लाग्छ तर के भनिन्छ भने हिजो त बिर्सियो । वर्तमानमा भविष्य खोज्ने हो । वर्तमानले बोलेको सुन्ने हो र भविष्यको आधार कोर्ने हो । विगतलाई मात्र कोट्याइरहने हो भने सधैँ वर्तमानमा अलमलिइरहनु पर्ने हुन्छ । भविष्यको रेखा खिच्न वर्तमानमा अगाडि बढ्नु पर्छ । पहिले ल्याइएका कुराहरु परिस्थितिवश पूरा हुन सकेनन् । देशमा कोरोनाको निरन्तर प्रहार भइरह्यो । देशको अर्थतन्त्रमा नकारात्मक असर प¥यो । उद्योग, कलकारखाना, व्यापार, शिक्षा, पर्यटन आदि सबै क्षेत्रमा कोरोनाको प्रभाव परेकोले विगतमा घोषणा गरिएअनुसार काम गर्न पाइएन तर यसपटक भने सबै कुरा सामान्य रहेको छ ।

अलिकति महँगी भने बढेको छ तर यसै अनुसारको नीति तथा कार्यक्रमको निर्माण गरिएकोले अबको समयमा अहिलेको घोषणापत्र पूर्ण कार्यान्वयनको लागि विश्वास दिलाउन चाहन्छु । सर्वसाधारण मतदाता चाहिँ हाम्रा उम्मेदवार हरुका अगाडि त्यत्ति तर्कशील भइसकेका छैनन् । यसकारण अगाडि बोलिएका कुराहरु सुन्ने र जाने बेलामा हातमा थमाइदिने घोषणापत्रलाई आफ्नो फुर्सदको समयमा एकपटक पढ्ने मौका पाएका छन् । सबै घोषणापत्रमा आधारभूत सारतत्वमा खासै फरक पाउँदैनन् मतदाता किनभने सबै घोषणापत्रमा राम्रै कुरा लेखिएका छन् । राम्रा कुराले सबैको मनलाई छुन्छ तर पनि कुरामा भन्दा कामप्रति विश्वास बढी हुनुपर्ने हो । यद्यपि कामहरु त विगत हुन्छन् र वर्तमानमा सबै उम्मेदवार नै हुन्छन् । अहिले डिजेले ठूल्ठूलो स्वरमा गाउँलाई घन्काएको छ । डिजेमा जिन्दावाद र चुनाव चिन्हको प्रचारले मतदाताको कानलाई असजिलो पार्न थालेपछि कतिपय ठाउँमा अनेक नाउँमा आर्केस्टाको नाच नचाइएको छ । विभिन्न बहानामा टिकटक कलाकारलाई बोलाइएको छ । वास्तवमा नाच तथा टिकटक र अन्य कलाकारलाई मतदातासमक्ष प्रस्तुत गर्नुको अन्तर्य नै यही हो कि मतदाताको ध्यान आफूतिर तानियोस् । मतदाताले आफूलाई चिनून् र धेरै मतदाताको ध्यान आफूतिर तान्न सकियो भने केही मात्रामा भए पनि मत बढ्ने छ । आजभोलि भीडलाई देखेर पनि भोट पाइन्छ भन्ने मनोविज्ञानले विकास गरेको छ । यथार्थ जे भए पनि सर्वसाधारणको ध्यान तान्नको लागि उम्मेदवारहरुले कलाकारको उपयोग गरिरहेका छन् । कलाकारहरुले पनि यसै मौकामा केही राम्रो रकम पाइरहेका छन् । कमाई हुनु भनेको राम्रो हो तर कलाको प्रदर्शनको यो उचित अवसर हो होइन भन्ने विषयमा सम्बन्धित क्षेत्रका मानिसहरुले भने विमर्श गर्ने अवसर आइसकेको छ । तर कतिपय नवोदित कलाकारले भने यस्तो समयमा आफूलाई धेरैको अगाडि र लगातार धेरै दिनसम्म प्रस्तुत गर्न पाउँछन् जसले गर्दा अभ्यास राम्रो हुन्छ र केहीले चिन्ने मौका पनि पाउँछन् । कलाकारिताको दृष्टिकोणले पनि यो आम चुनाव महत्वपूण रहेको धेरैको ठम्याइ रहेको छ । अहिले जाडोको खोजी भइरहेको छ र जाडो अझै तातेको छैन । तात्न नसकेको जाडोमा भने चुनावी वाचा निकै तातिरहेको छ । गर्मीको महिनामा अहिलेकै जस्तो जाडो खोज्न कुनै कृत्रिम घर अर्थात् यस्तो एसि लगाइएको घरमा पुग्नुपर्छ जहाँको तापक्रम चाहेको जत्ति क मगर्न सकियोस् तर अहिले गर्मीलाई भने कताकति अप्राकृतिक मान्न थालिएको छ । अप्राकृतिक गर्मीमा चुनावी वाचाको तातोपनले सर्वसाधारणलाई केही हुने आशा जगाउन सकिरहेको छैन । साधारण मतदाताले पनि यो बुझिरहेका छन् कि अहिले भनिएका कुरा सायदै कसैले लागू गर्दछन् । विगत पनि यस्तै रहेको छ । वाचाको बाढीमा मतदाता भने किनारमा छन् र हेरिरहेका छन् अर्कै आँखाले । त्यो आँखा जसले मनमा विश्वासको अंकुरण गरोस् उम्मेदवारमध्ये एकलाई र विस्तारै त्यो दिन पनि आउँदैछ जब सबै मतदाताले आफ्नो लोकतान्त्रिक अधिकारको प्रतीक कुनै एक चिन्हमा दर्ता गरुन् र बक्सामा हालून् ।

Comment


Related News

Latest News

Trending News