२०७९ कार्तिक २३, बुधबार ०६:४१

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरीमा प्रहरीले धाँधली गरिरहेको आरोप लगाएका छन् ।

मंगलबार उनले आफ् नो अधिकारिक सचिवालयको फेसबुकमार्फत सो आरोप लगाएका छन् । सप्तरीको प्रहरी–प्रशासन प्रचारप्रसारमा पक्षपात गरिरहेको उनको आरोप छ । प्रहरीहरु जसपाको कार्यकर्ता भएर काम गरिरहेको उनले तथ्य प्रस्तुत गरेका छन् । ‘प्रहरीले धाँधली गरिरहेको छ । जसपाका कार्यकर्ता भएर काम गरिरहेको छ,’उनले भने,‘ जिल्ला प्रशासन कार्यालय जसपाको पार्टी कार्यालय बनेको छ ।’ यो अवस्थामा निर्वाचन निष्पक्ष हुन नसक्ने उनले जिकिर गरेका छन् । निर्वाचन भए पनि मतपेटिका फेरिन सक्ने उनको शंका छ । सप्तरीको एक डिएसपीको सरुवा भए पनि जसपाकै नेताहरुले रोकेर राखेको उनले लाइभमा उल्लेख गरेका छन् । सो डिएसपीको सवारी प्रयोग गरी राति–राति मतदातालाई बाँडने पैसा ओसारपसार हुने गरेको उनको दाबी छ । ती डिएसपी एक जना जसपा नेताकै भाइ रहेको उनले सो दाबी गरेका छन् ।

यद्यपि उनले यी सबै कुरा उल्लेख गरे पनि डिएसपी र जसपा नेताको नाम भने उल्लेख गरेका छैनन् । अन्य सबै पार्टीले खुलेर प्रचारप्रसार गरे पनि कुनै प्रकारको बाधा अवरोध नगरिएको र जनमत पार्टी निर्वाचन आचारसंहिता पालना गरे पनि रोक लगाएको उनले बताए । ‘सबै पार्टीको झण्डा र ब्यानर बजारमा राखिएकै छ । अरु पार्टीले निर्वाचन आचारसंहिता उल्लंघन गरी राखिएको प्रचार सामग्री राखिएकै छ,’उनले भने,‘तर जनमत पार्टी कानूनमै रहेर प्रचारप्रसार गरे पनि पक्राउ गर्छ । रोक लगाएको छ । स्पष्टीकरण सोधेको छ र पक्राउ गरी डर क्रास धम्की दिइरहेका छन् ।’ यो अवस्थामा निर्वाचन निष्पक्ष हुन नसक्ने भन्दै उनले निर्वाचन आयोग र प्रहरी विभागलाई फेसबुकबाटै ध्यानाकर्षणसमेत गराएका छन् ।

Comment


Related News

Latest News

Trending News