२०७९ कार्तिक २४, बिहीबार ०६:३८

नेपाली कांग्रेसको मधेश प्रदेश निर्वाचन परिचालन समितिले उम्मेदवारहरुलाई निर्वाचन सामग्री वितरण सुरु गरेका छन् ।

प्रदेश उपसभापति चन्द्रशेखर कुमार यादवको संयोजकत्वमा गठित उक्त समितिले प्रतिनिधिसभाका ३२ र प्रदेशसभाका ६४ वटै निर्वाचन क्षेत्रमा पुगेर निर्वाचन सामग्री वित्तरण गरिने कार्यक्रम रहेको छ । बुधबार समितिले कांग्रेसका सह–महामन्त्री तथा धनुषा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार महेन्द्र यादव,धनुषा–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकृष्ण यादव तथा धनुषा क्षेत्र नं ३ (क) बाट प्रदेशसभा उम्मेदवार रामसरोज यादवसँग भेटघाट गरी प्रचार सामग्री हस्तान्तरण गरेका छन् । समितिका पदाधिकारीहरुले उम्मेदवारहरुसँग भेटघाट गरी पार्टीको झण्डा तथा दोसल्ला ओढाएर सम्मान तथा कांग्रेसको मधेश कार्यसमितिले ल्याएको घोषणापत्र हस्तान्तरण गर्दै जितको शुभकामना दिने गरेका छन् । परिचालन समितिको यी अभियानले मधेशमा कांग्रेसका उम्मेदवारहरुको मनोबल थप बढ्ने र उम्मेदवार र पार्टीको संरचनाको अन्तरसम्बन्ध स्थापित गर्न सहयोग हुने विश्वास रहेको समिति संयोजक यादवले बताए । यो अभियानले पार्टीको उम्मेदवारका साथै पार्टीका समानुपातिक मत बढाउन समेत टेवा पुग्ने उनको भनाइ छ ।

उक्त प्रतिनिधिमण्डलमा संयोजक यादव, कांग्रेस मधेश प्रदेश प्रचार प्रसार विभागका प्रमुख निकेशकुमार गुप्ता तथा समितिका सदस्यहरु ममता महतो, आनन्द शर्मा लगायत छन् । मधेश प्रदेशमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभातर्फ ३२ मध्ये १९ र प्रदेशसभाको ६४ मध्ये २६ सिटमा उम्मेदवार रहेका छन् ।

Comment


Related News

Latest News

Trending News