मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै जाँदा उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा व्यस्त छन् ।
निर्वाचन आचारसंहिता अनुसार आयोगले राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनलाई सवारी साधन प्रयोगमा मापदण्ड निर्धारण गरेको छ । आचारसंहिता अनुसार उम्मेदवार तथा राजनीतिक दलले निर्वाचन प्रचार–प्रसारका लागि प्रयोग हुने गाडीको संख्यासमेत निर्धारण गरेको छ । यसरी प्रचार प्रसारका लागि प्रयोग हुने गाडीबारे निर्वाचन अधिकृतको अनुमति लिनुपर्ने व्यवस्था आचार संहिताले गरेको छ । निर्वाचन अधिकृतको अनुमति लिइ उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा बढीमा दुई वटा दुई पाङ्ग्रे वा तीन पाङ्ग्रे वा चार पाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन मात्र प्रयोग गर्न पाउने निर्वाचन आचारसंहितामा उल्लेख छ । त्यस्तै, निर्वाचन आयोगले उम्मेदवारहरुलाई प्रचारप्रसारमा भारतीय गाडी प्रयोग गर्न प्रतिबन्ध लगाएको छ तर मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा रौतहटमा भारतीय नम्बर प्लेटका सवारी साधनको व्यापक प्रयोग भइरहेको पाइएको छ । निर्वाचनको प्रचारमा आचारसंहिता विपरीत भारतीय गाडीको प्रयोग बढेको छ । यहाँका सबैजसो प्रतिनिधि तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुले आफ्नो निर्वाचनको प्रचारमा नेपाली भन्दा १० देखि १५ वटासम्म भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेको देखिएको छ । नेपाली नम्बर प्लेटका गाडीको तुलनामा भारतीय नम्बर प्लेटका गाडी भाडामा सस्तोमा पाइने भएका कारण चुनावी प्रचारमा उम्मेदवारहरुले भारतीय नम्बर प्लेटका सवारी साधन बढी प्रयोग बताइन्छ । जिल्लामा रहेको चार वटै निर्वाचन क्षेत्रका संघीय र प्रदेश सांसदका उम्मेदवारहरु प्रचारप्रसारमा झण्डा र पोष्टर हरुसंगै भारतीय नम्बर प्लेटका गाडीमा सवार देखिन्छन् ।
निर्वाचन आयोगले भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोगमा रोक लगाएको छ तर जिल्लाका सबैजसो उम्मेदवारहरु निर्वाध रुपमा भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरिरहेका छन् । त्यसैगरी, स्वतन्त्र उम्मेदवारले पनि आफ्नो चुनाव चिह्न अंकित झण्डा लगाएर भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरिरहेका छन् । नेपाली नम्बर प्लेटको गाडी पाउनै समस्या भएपछि भारतीय नम्बर प्लेट प्रयोग गर्न बाध्य भएको प्रदेशसभा सदस्यका एक उम्मेदवारले बताए । भारतीय नम्बर प्लेटका गाडी भन्सार कटाएर भाडामा प्रयोग गर्दा सस्तो पर्ने हुनाले पनि बढी प्रयोगमा ल्याइएको उम्मेदवारको भनाइ छ । यता, नेपालको चुनावमा भारतीय गाडीको प्रयोग बढेपछि सीमापारीका गाडी धनीहरु मलामाल भएका छन् । राजनीतिक दलहरुले आ– आफ्नो शक्ति प्रदर्शनका लागि समेत यस्ता गतिविधि सञ्चालन गर्ने गरेका छन् । प्रचारमा प्रयोग भएको भारतीय गाडीको चापले यतिखेर जिल्लाको ठाउँ ठाउँमा ट्राफिक जामको समस्या समेत दैनिक हुन थालेको छ । गाडीमा डिजे, साउन्डबक्स राखेर चर्को साउन्डमा गीत बजाउँंदै उम्मेदवारले प्रचारप्रसार गरे पनि आयोगको तर्फबाट कुनै अनुगमन भएको छैन् ।


